यहोवाका साक्षीहरूलाई रूसको न्यायिक परिषद्ले निर्दोष साबित गर्छ
यहोवाका साक्षीहरू अखबार तथा पत्र-पत्रिकाहरूमा तिनीहरूबारे उचित रिपोर्टहरू प्रकाशित हुँदा ती रिपोर्टहरूको स्वागत गर्छन्। यसबाहेक, यहोवाका साक्षीहरू आफ्नो धार्मिक विश्वास र गतिविधिहरूबारे सत्य जानकारी प्रस्तुत गर्न चाहन्छन्। तथापि, तिनीहरूको विषयमा गलत वा अपमानजनक लेखहरू प्रकाशित हुँदा साक्षीहरू आफ्नो धर्म र अधिकार रक्षा गर्न कहिलेकाहीं सरकारलाई अपिल गर्छन्। हालैको एउटा उदाहरण विचार गर्नुहोस्।
सेन्ट पिटर्सबर्गबाट प्रकाशित हुने लोकप्रिय रूसी अखबार कोम्सोमोल्स्काये प्राभ्दा-मा अगस्त १, १९९७ मा यहोवाका साक्षीहरूबारे गलत अर्थ लगाइएको लेख प्रकाशित भयो। लेखक ओलेग जेसोरिनले “पिटर्सबर्ग गुट, यहाँ शहर-मन्दिर हुनेछ” भन्ने लेखमा यहोवाका साक्षीहरूको विश्वासले हानि पुऱ्याउँछ अनि तिनीहरूको गतिविधिले रूसी संविधानको उल्लंघन गर्छ भनी दावी गरे। उक्त लेखमा साक्षीहरूको रक्तक्षेपण र पारिवारिक सम्बन्ध जस्ता बाइबल आधारित विश्वासले विकृति ल्याएको छ भनी आलोचना गरिएको थियो। यसबाहेक, उक्त लेखले यहोवाका साक्षीहरू “गुट” हुन् भनेर बताउनुका साथै कसै कसैको विचारमा तिनीहरू “सबैभन्दा खतरनाक गुट” हुने दाबी गरियो।
रूसको क्षेत्रीय धार्मिक संगठन प्रशासकीय केन्द्रले सञ्चार माध्यमको मामला मिलाउने संघीय रूसी न्यायिक परिषद्लाई अपिल गरे। अपिलमा उक्त लेखको जानकारी पुनरावलोकन गर्ने आग्रह गरियो। किनकि यहोवाका साक्षीहरूको विचारमा ती जानकारी गलत थियो। फेब्रुअरी १२, १९९८ मा यहोवाका साक्षीहरू न्यायिक परिषद्मा उपस्थित भए अनि परिषद्का सदस्यहरू साथै पत्रकार र अधिवक्ताहरूले सोधेका अनेकौं प्रश्नहरूको जवाफ दिए। वास्तवमा यहोवाका साक्षीहरू के विश्वास गर्छन् अनि के सिकाउँछन्, त्यो प्रमाणित गर्न न्यायिक परिषद्ले यहोवाका साक्षीहरूद्वारा प्रकाशित साहित्यहरू राम्ररी जाँचबुझ गरे। न्यायिक परिषद्ले विशेषगरि पारिवारिक आनन्दको रहस्य पुस्तक जाँच्यो।
संघीय रूसको डुमाको प्रतिनिधि भि. भि. बोर्सिफको विचारमा “गुट” भन्ने धारणा पूर्णतया गलत थियो। बोर्सिफले यसो भने: “[यसरी कुरा] बंग्याउनु अनि निन्दा गर्नु अति खतरनाक हो। न्यायिक परिषद् यहोवाका साक्षीहरूको अपिल विचार गर्न तयार हुनु नै अति महत्त्वपूर्ण कुरा हो। औपचारिक तवरमा दर्ता भइसकेका धार्मिक संगठनहरूमाथि थोपारिने यस्ता आवेग र अपमान बन्द गर्नैपर्छ।”
तमाम प्रमाणहरू सुनेपछि न्यायिक परिषद्ले कोम्सोमोल्स्काये प्राभ्दा-मा प्रकाशित लेख गैरकानुनी अनि असैद्धान्तिक छ भन्ने निष्कर्ष निकाल्यो। उक्त लेखका जानकारीहरू गलत तथा आधारहीन थिए। न्यायिक परिषद्ले यसो भन्यो, “लेखकले कुनै पनि सत्य कुरा लेखेका छैनन् . . . यस अखबारका लेखकले झूटो कुरालाई विश्वासयोग्य रिपोर्ट जस्तैगरी प्रचारप्रसार गरेर पत्रकारहरूको अधिकार दुरुपयोग गरेका छन्। उक्त अखबारको लेखले जे बताएको थियो, न्यायिक परिषद्ले त्यसको ठीक विपरीत यहोवाका साक्षीहरू नियमपालक रहेछन् अनि तिनीहरू आफ्ना सदस्यहरूलाई भिन्नै धर्म मान्ने परिवारका सदस्य र मित्रहरूसँग शान्तिसित बस्न सिकाउँदा रहेछन् भनेर थाह पाए।
अन्तिम बयान सुनेको एक घण्टापछि न्यायिक परिषद्ले निम्न निर्णय सुनायो:
“१. ‘पिटर्सबर्ग गुट, यहाँ शहर-मन्दिर हुनेछ’ भन्ने लेख संघीय रूसको ‘आम सञ्चारमाध्यम’ सम्बन्धी नियम दफा ४, ४९ अनि ५१ विपरीत छ।
“२. मुद्रणसँग सम्बन्धित मामला हेरविचार गर्ने संघीय रूसको राज्य समितिलाई कोम्सोमोल्स्काये प्राभ्दा अखबारको सम्पादकीय बोर्डलाई चेताउनी दिन लगाउने।
“३. पत्रकार ओलेग जेसोरिनलाई नसिहत दिने।
“४. यहोवाका साक्षीहरूको धार्मिक संगठनबारे असत्य जानकारी प्रकाशित गरेर व्यर्थै बदनाम गरेकोमा कोम्सोमोल्स्काये प्राभ्दा-को सम्पादकीय बोर्डलाई क्षमा माग्न लगाउने।”
न्यायिक परिषद्को उक्त निर्णय धर्मविद् तथा दर्शनशास्त्री सिर्गे इभायेन्कीको निष्कर्षसित मिल्छ। आफू यहोवाको साक्षी नभए तापनि यहोवाका साक्षीहरू अनि तिनीहरूसँग संगत गर्नेहरूको विश्वास राम्ररी अध्ययन गरेपछि सिर्गे इभायेन्कीले फेब्रुअरी २०-२६, १९९७ को मस्को न्युज-मा एउटा लेख लेखे।a सिर्गे इभायेन्कीले निष्कर्षमा यसो भने: “यहोवाका साक्षीहरू बाइबलअनुरूप जीवन यापन गर्न दृढ छन् भनेर चिनिन्छन्। . . . यहोवाका साक्षीहरूका लागि बाइबल भनेको संविधान, व्यवस्था र सत्यको सर्वोच्च अभिव्यक्ति हो . . . बाइबल सत्यप्रति भक्ति देखाउने अनि आफ्नो विश्वासको पक्षमा निःस्वार्थ खडा हुन तत्पर हुने यहोवाका साक्षीहरूलाई तिनीहरूका सँगी नागरिकहरूको निम्ति उदाहरण मान्न सकिन्छ।”
न्यायिक परिषद्को निर्णय र सिर्गे इभायेन्कीको टिप्पणीले यहोवाका साक्षीहरूको मसीही धर्म समाजको निम्ति खतरा होइन तर सोझो हृदय भएका सबै मानिसहरूका लागि हितकारी छ भनेर थप पुष्टि दिएको छ। यहोवाका साक्षीहरू ‘आफूमा भएको आशाको कारण तिनीहरूसँग सोध्नेहरू हरेकलाई जवाफ दिन, त्यही पनि नम्रता र डरसँग, सधैं तयार हुन्छन्।’—१ पत्रुस ३:१५.
[फुटनोट]
a सिर्गे इभायेन्कीद्वारा लिखित “के हामी यहोवाका साक्षीहरूसँग डराउनुपर्छ?” लेखका धेरैजसो भाग अनुमति लिएर अगस्त २२, १९९७ को ब्यूँझनुहोस्! (अंग्रेजी) पृष्ठ २२-७ मा प्रकाशित भएको छ।