आकाशीय पिण्डहरूको रौनक
सबैभन्दा भव्य आकाशीय पिण्ड, ताराहरूको गोलाकार झुन्ड हो। तिनीहरू गोलो आकारका हुन्छन् र एउटा झुन्डमा दस हजारदेखि लाखौंसम्म ताराहरू हुन्छन्। हाम्रो आकाशगंगामा १०० वटा जति गोलाकार झुन्डहरू पत्ता लागेको छ।
हाम्रो आकाशगंगामा ताराहरूबीचको औसतन दूरी चारदेखि पाँच प्रकाशवर्ष छ।a गोलाकार झुन्डमा ताराहरू खचाखच हुन्छन् र त्यसले गर्दा तिनीहरूबीचको दूरी एक प्रकाशवर्षको दस खण्डको एक खण्ड मात्र हुन्छ।
यहाँ चित्रमा देखाइएको झुन्ड ओमेगा सेन्टोरी हो। नांगो आँखाले हेर्दा एउटा ताराजस्तो देखिन्छ। तथापि, ठूलो टेलिस्कोपले हेर्दा चमचम चम्किरहेका थुप्रै ताराहरू अर्थात् दस लाख जतिको झुन्ड देखिन्छ। ओमेगा सेन्टोरी दक्षिणी गोलार्द्धबाट एकदमै प्रस्ट देखिन्छ। दक्षिणी आकाशको क्षितिजमा वसन्त तथा ग्रीष्म ऋतुको साँझपख उत्तरी अक्षांशमा पनि देखा पर्छ।
ओमेगा सेन्टोरीको व्यास १५० प्रकाशवर्ष जति छ; यस चित्रको फेददेखि टुप्पोसम्म प्रकाश पुग्न सालाखाला १५० वर्ष लाग्छ! पृथ्वीबाट ओमेगा सेन्टोरीको दुरी १७,००० प्रकाशवर्ष जति हुने अनुमान गरिएको छ।
धेरै समयसम्म ओमेगा एउटा सिंगो तारा भन्ठानिन्थ्यो। सत्रौं शताब्दीमा जर्मनका सिकारु खगोलविद्, योहान बायरले यसलाई ग्रीक अक्षर ओमेगा (ω) नाउँ दिए। तथापि, यो ताराहरूको गोलाकार झुन्ड भनी १६७७ मा अंग्रेजी खगोलविद् एडमन्ड हेलीले सबैभन्दा पहिले पत्ता लगाएका थिए।
उत्तरी गोलार्द्धमा देखिने सबैभन्दा सर्वोत्कृष्ट झुन्ड हर्कुलिज तारामण्डलको M13 हो। यसमा दस लाख जति ताराहरू छन् अनि ओमेगा सेन्टोरीभन्दा ४,००० प्रकाशवर्ष टाढा छ। त्यसकारण यो अरूभन्दा सानो देखिन्छ।
अलि ठूलो टेलिस्कोपबाट ताराहरूको यो गोलाकार झुन्ड हेर्ने मौका पाउनुभयो भने मौका नगुमाउनुहोस्। तपाईंले राती आकाशमा देख्नुहुने एउटा अत्यन्तै मनमोहक सृष्टि हो।
[फुटनोट]
a एक प्रकाशवर्ष बराबर ९४,६०,५३,००,००,००० किलोमिटर हुन्छ।
[पृष्ठ २७-मा भएको चित्र]
ओमेगा सेन्टोरी
[स्रोत]
National Optical Astronomy Observatories
[पृष्ठ २७-मा भएको चित्र]
M13
[स्रोत]
आकाशगंगा र M13: साभार United States Naval Observatory