प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ २/८ पृ. ७-८
  • आशा गर्ने ठाउँ नै छैन त?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आशा गर्ने ठाउँ नै छैन त?
  • ब्यूँझनुहोस्‌!—२००१
  • मिल्दोजुल्दो सामग्री
  • विवाह टुट्‌नै लागेको छ भने
    पारिवारिक आनन्दको रहस्य
  • ११. सफल वैवाहिक जीवन
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • ‘विवाह आदरणीय होस्‌’
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • तपाईंको वैवाहिक जीवन बचाउन सकिन्छ!
    ब्यूँझनुहोस्‌!—२००१
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ २/८ पृ. ७-८

आशा गर्ने ठाउँ नै छैन त?

“तनाउग्रस्त वैवाहिक जीवनको एउटा समस्या हो, अब अवस्था सुध्रने सम्भावना नै छैन भन्‍ने सोचाइ। त्यस्तो सोचाइले बाधा पुऱ्‍याउँछ किनभने त्यसले सकारात्मक कदम चाल्ने उत्प्रेरणालाई नै दबाइ दिन्छ।”—डा. एरोन टि. बेक।

कल्पना गर्नुहोस्‌, तपाईंलाई कतै दुखिरहेको छ र तपाईं जँचाउन डाक्टरकहाँ जानुहुन्छ। तपाईं आफ्नो स्वास्थ्यबारे चिन्तित हुनुहुन्छ र हुनुपर्ने कारण पनि छ। हुन पनि, तपाईंको स्वास्थ्य र तपाईंको जीवनै खतरामा हुनसक्छ। तर मानिलिनुहोस्‌, जाँचिसकेपछि डाक्टरले तपाईंको समस्या सामान्य त होइन तरैपनि उपचार गर्न सकिन्छ भन्‍ने खुसीको खबर सुनाउँछन्‌। भोजन र व्यायामसम्बन्धी हितकर तालिका अपनाएको खण्डमा पूरै निको हुन सक्नुहुन्छ भनी डाक्टर भन्छन्‌। यो कुरा सुनेपछि तपाईं पक्कै पनि ढुक्क महसुस गर्नुहुन्छ र डाक्टरकै सल्लाहअनुसार गर्नु पनि हुन्छ!

यो अवस्थालाई हामीले अहिले छलफल गरिरहेको विषयवस्तुसित तुलना गर्नुहोस्‌। के तपाईंको वैवाहिक जीवनलाई चोट पुगेको छ? हुन त हो, हरेकको वैवाहिक जीवनमा आ-आफ्नै प्रकारका समस्या र मतभिन्‍नताहरू हुन्छन्‌। त्यसकारण, तपाईंको वैवाहिक जीवनमा केही अप्ठ्यारा परिस्थितिहरू देखिए भन्दैमा तपाईंको वैवाहिक जीवनै प्रेमरहित छ भन्‍ने निष्कर्षमा पुग्न मिल्दैन। तर हप्तौं, महिनौं वा वर्षौंसम्म यस्तो तनाउ रहिरहेको छ भने नि? त्यसो हो भने, तपाईं चिन्तित हुनुको जायज कारण छ किनभने यो कुनै चानचुने मामिला होइन। निस्सन्देह, तपाईंको वैवाहिक जीवनको गुणस्तरले तपाईंको जीवनको सबै पक्ष अनि तपाईंका छोराछोरीहरूलाई समेत असर गर्नसक्छ। भनिन्छ, निराश हुनु, राम्रोसँग काम गर्न नसक्नु र केटाकेटी स्कूलमा असफल हुनुको प्रमुख कारण वैवाहिक तनाउ हो। त्यति मात्र होइन। आफ्नो पति वा पत्नीसितको सम्बन्धले परमेश्‍वरसितको सम्बन्धलाई नै असर गर्नसक्छ भनेर मसीहीहरूले बुझेका छन्‌।—१ पत्रुस ३:७.

तपाईं र तपाईंको पति वा पत्नीबीच समस्याहरू छन्‌ भन्दैमा तपाईंको अवस्था खत्तम छ भन्‍न मिल्दैन। वैवाहिक जीवनमा चुनौतीहरू आइपर्नेछन्‌ भन्‍ने व्यावहारिक सोचाइ राखेको खण्डमा दम्पतीहरू आफ्ना समस्यादेखि विचलित नभई त्यसको समाधान गर्नतिर लाग्न सक्छन्‌। आइजक नाउँ गरेका पति यसो भन्छन्‌: “विवाहित दम्पतीहरू सधैं एकनासले सुखी भइरहँदैनन्‌ भनेर मलाई थाहै थिएन। म त अलिक दुःखी हुनासाथै हाम्रो सम्बन्धमा केही गडबडी छ जस्तो लाग्थ्यो!”

तपाईंको वैवाहिक जीवन प्रेमरहित अवस्थामा पुगिसकेको छ भने पनि त्यसलाई बचाउन सकिन्छ। हुन त हो, तनाउग्रस्त सम्बन्ध भएको विशेष गरी वर्षौं भइसकेको छ भने भावनात्मक चोटहरू असाध्यै गहिरो हुनसक्छ। तैपनि, आशा गर्न सकिने ठोस कारण छ। सबैभन्दा निर्णायक तत्त्व, उत्प्रेरणा हो। गम्भीर वैवाहिक समस्या भएका दम्पती दुवैले यसलाई सुल्झाउनु उत्तिकै महत्त्वपूर्ण ठानेमा अवस्था सुधार्न सकिन्छ।a

त्यसकारण, आफैलाई सोध्नुहोस्‌, ‘चित्तबुझ्दो सम्बन्ध कायम गर्ने मेरो इच्छा कत्तिको प्रबल छ?’ के तपाईं र तपाईंको जोडी वैवाहिक सम्बन्ध सुधार्न इच्छुक हुनुहुन्छ? माथि उल्लिखित डा. बेक यसो भन्छन्‌: “नकारात्मक पक्षलाई सच्याएर सकारात्मक गुणलाई सुदृढ पार्दै लैजान पतिपत्नी दुवैले एकअर्कालाई सहयोग गर्दा नाजुकजस्तो देखिने सम्बन्ध पनि सुध्रिएको देख्दा म छक्कै परेको छु।” तर तपाईंको जोडीले साथ दिन चाहँदैन भने नि? अथवा वैवाहिक समस्या छ भन्‍ने कुरा नै थाह छैन भने नि? के तपाईं एक्लैले वैवाहिकसम्बन्ध सुधार्न खोज्नु बेकार हो त? पटक्कै होइन! डा. बेक भन्छन्‌, “तपाईंले केही परिवर्तन गर्नुभएको देख्दा मात्र पनि तपाईंको पति वा पत्नीले परिवर्तन गर्नसक्छन्‌—प्रायः त्यस्तै हुन्छ पनि।”

मेरो अवस्थामा यस्तो हुनै सक्दैन भन्‍ने निष्कर्षमा पुगिनहाल्नुहोस्‌। त्यसरी हार स्वीकारिहाल्ने मनोवृत्ति नै तपाईंको वैवाहिक जीवनको लागि सबैभन्दा ठूलो खतरा हुनसक्छ! तपाईंहरूमध्ये जसले भए पनि पहिला कदम चाल्नैपर्छ। तपाईंले नै चाल्ने हो कि? तपाईंले परिवर्तन गर्न थाल्नुभएपछि तपाईंको जोडीले पनि आफ्नो वैवाहिक जीवनलाई सुखी बनाउन तपाईंलाई सहयोग गर्न फाइदाजनकै भएको देख्नसक्छ।

त्यसोभए, व्यक्‍तिगत तवरमा वा दम्पतीको हैसियतमा आफ्नो वैवाहिक जीवन कायमै राख्न के गर्न सक्नुहुन्छ? यस प्रश्‍नको जवाफ पाउनका लागि बाइबल अत्यन्तै मदतकारी छ। आउनुहोस्‌, हामी हेरौं। (g01 1/08)

[फुटनोट]

a हो, कुनै कुनै विशेष अवस्थामा पति र पत्नी छुट्टिनुपर्ने ठोस कारणहरू हुनसक्छन्‌। (१ कोरिन्थी ७:१०, ११) साथै, व्यभिचार भएको खण्डमा बाइबलले सम्बन्धविच्छेद गर्ने अनुमति दिन्छ। (मत्ती १९:९) धोखा दिने पति वा पत्नीसित सम्बन्धविच्छेद गर्नु या नगर्नु, व्यक्‍तिगत मामिला हो अनि अरूले निर्दोष पक्षलाई दबाउ दिएर निर्णय बदल्न लगाउनु हुँदैन।—वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित पारिवारिक आनन्दको रहस्य पुस्तकको पृष्ठ १५८-६१ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने