के हामी पानसरूपी सल्लाको रूख जोगाउन सक्छौं?
ब्राजिलका ब्यूँझनुहोस्! लेखकद्वारा
कुनै समय ब्राजिलको दक्षिणी भाग पूरै सल्लाको रूखले ढाकिएको थियो। यस रूखका हाँगाहरू पानसजस्तै देखिने भएकाले यसले “पानसरूपी सल्लाको रूख” भन्ने सुहाउँदो नाउँ पायो। यसलाई पाराना सल्ला र ब्राजिलियन सल्ला पनि भनिन्छ।
यस पानसरूपी सल्लामा झुन्डिएको फल भोगटेभन्दा ठूलो हुन्छ। कुनैकुनै त ५ किलो जति हुन्छ। एउटा फलमा १५० वटा सम्म बीउहरू हुन्छन् जसलाई पोर्चुगाली भाषामा पिन्योइस भनिन्छ। फल पाकेपछि भुइँमा भ्यात्त खस्छ र बीउहरू जताततै छरिन्छन्।
मानिस, चरा र जनावरहरूले ती बीउहरू खान्छन्। यसको स्वाद कटुसको जस्तै हुन्छ। कुनै समय पिन्योइस-लाई क्यालसियम र प्रोटिनको मुख्य स्रोतको रूपमा लिइन्थ्यो। दक्षिणी ब्राजिलमा बसोबास गर्ने आदिवासीहरूले यसलाई मुख्य खानाको रूपमा लिन्थे। यी बीउहरू अहिले पनि प्रयोग गरिन्छन्। उदाहरणका लागि, ब्राजिलको सान्ता क्याटारिना स्टेटमा यी बीउहरू त्यहाँका स्थानीय परिकारहरू जस्तै, पासोका डे पिन्याऊँ-मा (पिंधेको पिन्योइस) पाइन्छ।
जुन बेला युरोपेली आप्रवासीहरूले १८ औं शताब्दीमा यो रूखको काठ प्रयोग गर्न सकिने सम्भाव्यता देखे त्यसबेला देखि नै यो रूखको लोप हुने क्रम पनि सुरु भयो। धेरै समय बित्न नपाउँदै यी पानसरूपी सल्लाका रूखहरू ढालेर यसको काठबाट घर बनाइयो वा मकैबारी र दाखबारी लगाउन फँडानी गरियो। समय बित्दै जाँदा रूख रोप्नेभन्दा काट्ने काम धेरै भयो। अहिले यी सल्लाका रूखहरू केही मात्र बाँकी छन्। फलतः यस पानसरूपी सल्लाको रूखको मूल्यमा पनि अत्यधिक वृद्धि भएको छ। विगत पचास वर्षदेखि पानसरूपी सल्लाको रूखबाट काठ निकाल्ने व्यवसाय गरिरहेका एक जना मानिस यस्तो टिप्पणी गर्छन्, “सल्लाको उपयोगिता काठमा मात्र सीमित छैन। यो त सुन जतिकै मूल्यवान् भएको छ।”
अनुसन्धानकर्ताहरूको भनाइअनुसार नीलकण्ठ चरा नहुँदो हो त पानसरूपी सल्लाको रूख उहिल्यै लोप भइसक्ने थियो। यो डुलुवा चराले यस पानसरूपी रूखको बीउमा काई, झ्याउ र मरेका रूखका उनिउँहरू थुपारेर यसलाई पोषण दिने गर्छ। पछि यस्ता थुप्रै बीउहरूमा टुसा पलाउने गर्छन्। यस अर्थमा नीलकण्ठ चरा, यस पानसरूपी सल्लाको रूखको बीउ रोप्ने व्यस्त कृषक हो! तर दुःखको कुरा, सल्लाको जंगलको विनाशको क्रमसँगै नीलकण्ठ चराको संख्यामा पनि कमी आइरहेको छ।
केही काठ उद्योगहरूले ब्राजिलको दक्षिणी भागमा पर्ने जंगलका केही क्षेत्रहरू संरक्षण गर्ने र पानसरूपी सल्लाका रूखहरू पुनः रोप्ने कार्य सुरु गरेका छन्। सायद, यस पानसरूपी सल्लाको रूखको संख्या भविष्यमा बढ्नेछ। (g01 5/8)
[पृष्ठ १८-मा भएको चित्र]
एउटा फलमा १५० वटा सम्म “पिन्योइस” हुन्छ
[स्रोत]
Tree and cones: Marcos Castelani