अश्लील कुरा—विपरीत दृष्टिकोणहरू
“यसले लाग्नु नपर्ने भोक जगाउँछ, यसले कुनै हालतमा तृप्त हुनु नहुने लालसा जगाउँछ।”—टोनी पार्सन्स, स्तम्भकार।
जोनले आफू ‘इन्टरनेट सेक्स’-को लग्गू हुन्छु भनेर कहिल्यै सोचेका थिएनन्।a संयोगवश अश्लील कुरा र सेक्स च्याट रूम हेर्न पुग्ने अरू थुप्रै मानिसहरूजस्तै तिनी एक दिन इन्टरनेट चलाउँदा चलाउँदै त्यस्तो च्याट रूम हेर्न पुगे। चाँडै, तिनी साइबरसेक्समा चुर्लुम्मै डुबे। “म मेरी श्रीमती काममा जाने समय पर्खेर बस्थें,” तिनी सम्झन्छन्, “अनि खाटबाट उठेर कम्प्युटरको अगाडि घण्टौं बिताउँथें।” त्यसरी लामो समय बिताउँदा तिनी खानपिन गर्नसमेत उठ्दैनथे। तिनी भन्छन्: “मलाई भोक [लागेको] पत्तै थिएन।” तिनले आफ्ना गोप्य क्रियाकलापबारे श्रीमतीलाई ढाँट्न थाले। यसले गर्दा तिनले काममा ध्यान दिन सकेनन् अनि तिनी अरूप्रति झन् झनै शंकालु हुन थाले। तिनको वैवाहिक सम्बन्धलाई असर गर्न थाल्यो अनि तिनले आफ्नो साइबरसेक्स जोडीलाई व्यक्तिगत तवरमा भेट्ने प्रबन्ध मिलाउँदा तिनकी श्रीमतीले चाल पाइन्। अहिले जोनलाई तिनको दुर्व्यसनीको लागि उपचार गरिंदैछ।
अश्लील कुराको विरोध गर्ने कार्यकर्ताहरूले यस्ता घटनाहरूलाई अश्लील कुराका पतित असरहरूको प्रमाणको रूपमा प्रस्तुत गर्छन्। तिनीहरू भन्छन्, यसले सम्बन्ध बिगार्छ, महिलाहरूको अपमान गर्छ, बालबालिकाहरूको दुर्व्यवहार गर्छ अनि यौनप्रति विकृत तथा हानिकारक दृष्टिकोण राख्न लगाउँछ। अर्कोतिर, समर्थकहरू अश्लील कुरा भनेको स्वतन्त्र अभिव्यक्ति ठान्दै यसको समर्थन गर्छन् अनि अश्लील कुराप्रति विरोध जनाउनेहरूलाई सामाजिक व्यवहारबारे संकीर्ण व्यक्तिहरू भन्छन्। “मानिसहरूले आफ्नो यौन चासो वा इच्छाबारे लाज मान्नुपर्दैन,” भनी एक जना समर्थक लेख्छन्। “यौनबारे खुला कुराकानी सुरु गर्न तथा त्यसलाई उत्तेजित बनाउन अश्लील कुरा प्रयोग गर्न सकिन्छ।” कसै-कसैले अश्लील कुरामा वृद्धि भनेको खुला, स्वस्थ समाजको चिनारी हो समेत भन्छन्। “सहमत वयस्कहरूबीच यौनलाई खुलेआम प्रस्तुत गरिंदा त्यसलाई स्वीकार्न सक्ने परिपक्व समाजले सम्भवतः यौन विविधता र महिला समानताजस्ता विषयहरूमा अप्ठ्यारो मान्दैन,” भनी लेखक ब्रायन म्याकनेर बताउँछन्।
के समाजको मिश्रित दृष्टिकोणले अश्लील कुरालाई स्वीकार्य बनाउँछ? यो किन यत्तिको व्यापक भएको? के अश्लील कुराको पछि लाग्नु साँच्चै हानिकारक हो? यसपछिका लेखहरूले यी प्रश्नहरूको जवाफ दिनेछ। (g03 7/22)
[फुटनोट]
a नाउँ परिवर्तन गरिएका छन्।