पाठकहरूका प्रतिक्रिया
कुरूप बच्चा माइलीनको अनुभवले मेरो मन छोयो। (“माइलीनको लागि नयाँ अनुहार,” जून ८, २००४) एघार वर्षकी ती बालिका कसरी दर्दनाक पीडासित लडिरहेकी छिन् अनि कष्टहरूको बावजुद बाइबल आधारित आफ्नो आशाबारे उनले अरूलाई बताएको कुराले मलाई हौसला दियो।
एम. बि., इटाली
माइलीन र उनको परिवारको सकारात्मक दृष्टिकोण मेरो लागि धेरै प्रोत्साहनदायी थियो। आज सञ्चारजगत्ले बाहिरी रूपरङलाई अचाक्ली महत्त्व दिन्छ। यसो गर्नु निरुत्साहजनक पनि हुन सक्छ। म माइलीनलाई भन्न चाहन्छु, मैले उसको वास्तविक सुन्दरता स्पष्टसित देखिसकें। यहोवाले नयाँ संसारमा उसलाई नयाँ अनुहार दिंदा उसितै रमाउने मैले आशा राखेकी छु। उसको विश्वासले मलाई अझ बलियो बनाएको छ।
एम. एस., संयुक्त राज्य अमेरिका
छिट्टै मेरो एउटा स्तन हटाउने शल्यक्रिया हुँदैछ। रोगले आफ्नो रूपरङ कुरूप बनाउँदा हरेस नखान तपाईंलाई बल र साहस चाहिन्छ। माइलीनको साहस र आशावादी दृष्टिकोणले मलाई बल दियो। माइलीन, तिमीलाई मेरो लाख शुभकामना। मेरो लागि तिमी सुन्दर छ्यौ।
जि. आर., फ्रान्स
म जन्मजात खुँडे थिएँ। स्कूलमा अरू केटाकेटीहरू मलाई अनौठो मानेर हेर्थे। कसै-कैसले त मलाई थुकेर समेत जान्थे। म भन्न सक्छु, मेरी आमाले बाइबलबाट जे-जति सिकाउनुभयो, त्यसैबाट मैले साहस र आत्म-विश्वास जुटाउन सकेको हुँ। म अहिले ३१ वर्षको भएँ र अहिले पनि आफ्नो रूप हेरेर म निराश हुन्छु। त्यसैले माइलीनको अनुभवले मेरो मन छोयो। यहोवाको मदतले परिआउने जस्तोसुकै चुनौतीहरूको सामना गर्न हामी सक्षम हुनेछौं भनी मलाई थाह छ।
टि. एस., जापान
शारीरिक रूपरङले आनन्द र सन्तुष्टि दिंदैन भनेर माइलीनको अनुभवबाट म विश्वस्त भएँ। आनन्द र सन्तुष्टि त परमेश्वरको सेवा र उहाँप्रतिको प्रेमले मात्र पाइने कुरा हो। माइलीनको अनुभव मेरो लागि प्रेरणाको स्रोत हो।
ए. टि., फिलिपिन्स (g05 3/8)
दुर्व्यवहारपूर्ण विवाहपूर्वको भेटघाट “युवाजनहरू सोध्छन् . . . मलाई मेरो प्रेमीले किन यति रूखो व्यवहार गर्छ?” (जून ८, २००४) लेखको लागि म आभारी छु। मलाई दुर्व्यवहार गरिन्थ्यो। ठाकठुक पर्दा मेरो प्रेमीले सधैं दोष जत्ति सबै मेरो टाउकोमा थुपार्ने गर्थ्यो। म हुर्केको परिवेश हिंसा र दुर्व्यवहापूर्ण भएकोले मलाई उसको व्यवहार सामान्य लाग्थ्यो। यो सम्बन्ध टुङ्ग्याएकोमा अहिले म खुसी छु; उसले विवाहित जोडी बन्न आफूलाई अयोग्य साबित गऱ्यो।
नाउँ उल्लेख नगरिएको, बेलिज
यो लेखले मेरो आफ्नै कथा लेख्यो। लेखमा तपाईंहरूले बताउनुभएका विवाह अघि र पछिका कुराहरू मेरो आफ्नै भोगाई थियो। मैले खपेको मानसिक र भावनात्मक हिंसाले मेरो आत्म-सम्मानलाई नराम्ररी चोट पुऱ्यायो। मलाई आशा छ, यो लेखले विवाहपूर्व भेटघाट गरिरहेकाहरूलाई आफ्नो सम्बन्ध केलाउन उत्प्रेरित गर्नेछ। समस्या आउनै नदिन विवाह अघि नै एक-अर्कालाई राम्ररी चिन्नु कत्ति बुद्धिमानी हो।
एम. एम., जर्मनी (g05 3/8)
एकाकीपन अहिले म १४ वर्षको भएँ र त्यतिबेला म आफ्ना सहपाठीहरूसित घुलमिल हुन चाहन्थें। मलाई लाग्थ्यो, तिनीहरू मेरा साथीहरू हुन्। तर जब तिनीहरूले म एक जना मसीही भएकोले भिन्न छु भनेर थाह पाए, म परिवर्तन भएर तिनीहरू जस्तै नभएमा तिनीहरूले मलाई छाड्ने कुरा मैले थाह पाएँ। अहिले मैले बुझें जवान होस् या वृद्ध साँचो मित्र त मसीही मण्डलीमा मात्र पाउन सकिंदो रहेछ।
एन. सी., स्पेन (g05 3/22)