प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g17 सङ्‌ख्या ६ पृ. ४-५
  • जवाफको खोजी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जवाफको खोजी
  • ब्यूँझनुहोस्‌!—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • आणविक युद्ध—खतरा कसबाट?
    ब्यूँझनुहोस्‌!—२००४
  • आणविक युद्ध—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
ब्यूँझनुहोस्‌!—२०१७
g17 सङ्‌ख्या ६ पृ. ४-५

आवरण लेख | के संसारको अवस्था कहिल्यै सुध्रिएला?

जवाफको खोजी

तपाईं नराम्रो समाचारको ओइरोले गर्दा भयभीत हुनुभएको होला। त्यस्तो महसुस गर्ने तपाईं मात्र हुनुहुन्‍न। सन्‌ २०१४ मा भूतपूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले थुप्रै मानिस ‘संसारको अवस्था तीव्र गतिमा बिग्रँदै गइरहेको छ अनि कसैले यसलाई रोक्न सक्दैन’ भन्‍ने निष्कर्षमा पुगेका छन्‌ भनी बताए। तिनले यसो हुनुको कारण सञ्चारजगत्‌ले दिने तीनथुप्रो नराम्रो समाचारले गर्दा हो भने।

तर तिनले यस्तो टिप्पणी दिएको केही समयपछि संसारका समस्याहरू समाधान गर्ने योजनाहरूबारे निर्धक्क भई बताए। सरकारले चालेका केही कदमहरूलाई तिनले “शुभसमाचार” भने अनि आफू “निकै आशावादी” र “असाध्यै सकारात्मक” भएको कुरा पनि बताए। अर्को शब्दमा भन्‍नुपर्दा सबै जना काँधमा काँध मिलाएर अघि बढे भने संसारलाई विनाश हुनबाट जोगाउन सकिन्छ भनेर तिनले भन्‍न खोजिरहेका थिए।

तिनीजस्तै अरू थुप्रै मानिस पनि भविष्यप्रति आशावादी छन्‌। उदाहरणको लागि, केही मानिसहरू विज्ञानमा भरोसा राख्छन्‌। अहिले द्रुत गतिमा विज्ञान प्रविधिको क्षेत्रमा भइरहेको उपलब्धिहरूले गर्दा संसारका सबै समस्या समाधान हुनेछ भनेर तिनीहरू अनुमान लगाउँछन्‌। सन्‌ २०३० सम्ममा “प्रविधि अहिलेको भन्दा हजार गुणा प्रभावकारी हुनेछ, २०४५ मा त लाखौं गुणा” भनेर डिजिटल प्रविधि र प्रवर्तन क्षेत्रका एक विज्ञले निर्धक्क भई अनुमान गरे। उनी अझै थप्छन्‌: “हामी छलाङ्‌ मार्दै छौं। हुन त समस्याहरू पनि नथपिएका होइनन्‌ तर हामी त्यस्ता चुनौतीहरूको समाधान गर्न सक्षम भइसक्यौं।”

विश्‍व परिस्थिति कतिसम्म नाजुक अवस्थामा पुगेको छ? के पूरै पृथ्वी महाविनाशको सँघारमा छ? केही वैज्ञानिक र राजनीतिज्ञहरूले आशावादी टीकाटिप्पणी गरे तापनि थुप्रै मानिस आफ्नो भविष्य अझै अन्योलमा भएको महसुस गर्छन्‌। किन?

आणविक विस्फोटन

विनाशकारी हतियारहरू। संयुक्‍त राष्ट्र संघलगायत विभिन्‍न संघ-सङ्‌गठनहरूले निकै पहल गर्दा पनि आणविक हातहतियारहरू निश्‍शस्त्रीकरण गर्न सफल भएका छैनन्‌। केही नेताहरू हातहतियार व्यवस्थापन गर्ने नीतिको खुलेआम आलोचना गर्छन्‌। आणविक हातहतियारले सुसज्जित देशहरू आफूसित भएका बमहरू अझै खतरनाक बनाउँदै छन्‌ र नयाँ-नयाँ आधुनिक हातहतियार बनाउन तल्लीन छन्‌। विनाशकारी हातहतियार नभएका देशहरू पनि अहिले आणविक हतियार प्रयोग गरेर ठूलो परिमाणमा धन-जनको क्षति गर्न सक्छन्‌।

राष्ट्रहरू आणविक हातहतियार प्रयोग गरेर युद्ध गर्न अझ सुसज्जित अवस्थामा छन्‌। त्यसले गर्दा “शान्ति” छाएको जस्तो देखिए पनि पृथ्वी असुरक्षित र खतरनाक ठाउँ बनेको छ। आणविक विज्ञानसम्बन्धी एउटा पत्रिका द बुलेटिन अफ द एटोमिक साइन्टिस्टस्‌-ले यस्तो चेतावनी दिन्छ, “घातक स्वचालित हतियार प्रणाली साँच्चै चिन्ताको विषय बनेको छ। यो यस्तो प्रणाली हो, जसले मानिसको निर्देशन अथवा सुपरिवेक्षणविनै कसैलाई मार्ने वा आक्रमण गर्ने निर्धारण गर्न सक्छ।”

एक जना मानिस अस्पतालमा

बिग्रँदो स्वास्थ्य अवस्था। स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्ने सन्दर्भमा विज्ञानले गरेका उपलब्धिहरू सीमित छन्‌। उच्च रक्‍तचाप, मोटोपन, वायु प्रदूषण र लागू पदार्थको दुर्व्यसन जस्ता रोगका कारक तत्त्वहरू दिनानुदिन बढ्‌दै छन्‌। थुप्रै मानिस क्यान्सर, मुटु र रक्‍तनलीसम्बन्धी रोग अनि मधुमेह जस्ता दीर्घकालीन रोगहरूले गर्दा मृत्युको सिकार भएका छन्‌। मानसिक रोग र अन्य विभिन्‍न रोगको कारण बिरामीहरूको सङ्‌ख्या पनि बढिरहेको छ। हालैका वर्षहरूमा इबोला भाइरस र जिका भाइरसको महामारीले संसार नै हल्लाएको थियो। निष्कर्ष: बिग्रँदो स्वास्थ्य अवस्था मानिसको नियन्त्रण बाहिर छ, संसार रोगबिमारबाट मुक्‍त हुने कुनै छाँटकाँट देखिंदैन!

वायु र पानी प्रदूषण

वातावरण प्रदूषण। च्याउसरी उम्रिरहेको कल कारखानाले गर्दा वातावरण प्रदूषित हुने क्रम रोकिएको छैन। हरेक वर्ष विषाक्‍त हावाको कारण लाखौं मानिसले ज्यान गुमाउनु परेको छ।

व्यक्‍ति, समुदाय र सरकारी संघ-सङ्‌गठनहरूले अझै पनि ढल, मेडिकल र कृषिजन्य फोहोर, प्लाष्टिक र अन्य फोहोरमैला समुद्रमा फ्याँक्छन्‌। समुद्रीविज्ञानसित सम्बन्धित एउटा विश्‍वकोश यसो भन्छ, “यी हानिकारक फोहोरमैलाले समुद्री जीव र वनस्पतीलाई विषाक्‍त बनाएको छ अनि ती उपभोग गर्ने मानिसहरूलाई पनि असर गरेको छ।”

शुद्ध पिउने पानीको हाहाकार नै छ। विज्ञानका विषयहरूमा लेख्ने एक बेलायती लेखक रोबिन म्याककिले यस्तो चेतावनी दिएका छन्‌: “पानीको अभाव यति बढिरहेको छ, यसले संसारको सबैलाई असर गर्नेछ।” राजनीतिज्ञहरू पनि पानीको अभाव मानिस आफैले गर्दा भएको हो अनि यो गम्भीर समस्या हो भनेर स्विकार्छन्‌।

आँधीबेहरी

प्राकृतिक प्रकोप। हावाहुरी, आँधीबेहरी र भूकम्पले विनाशकारी बाढी, पहिरो र अरू विपत्ति निम्ताएका छन्‌। प्राकृतिक प्रकोपले गर्दा थुप्रै मानिसले ज्यान गुमाउनुपरेको छ अनि अरू थुप्रै मानिस यसको चपेटामा परेका छन्‌। अमेरिकाको नेशनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसनले (नासा) गरेको अध्ययनले “अझ खतरनाक आँधीबेहरी आउने, हानिकारक तातो हावा बहने, अनावृष्टि-अल्पवृष्टि हुने” सम्भावना छ भनेर निष्कर्ष निकालेको थियो। के प्रकृतिले पूरै मानव सभ्यतालाई नै नाश गर्ला?

हो, मानव सभ्यतालाई विनाशमा पुऱ्‍याउन सक्ने अन्य थुप्रै खतरा पनि छन्‌। तर अहिले भइरहेका खराब कुराहरूबारे मात्र सोच्यौं भने हामी भविष्यबारे चित्तबुझ्दो जवाफ भेट्टाउन सक्दैनौं। वैज्ञानिक र राजनीतिज्ञहरूले पनि हामीलाई चित्तबुझ्दो जवाफ दिन सक्दैनन्‌। तैपनि अघिल्लो लेखमा बताइएझैं संसारको अवस्था र भविष्यबारे थुप्रैले चित्तबुझ्दो र भरपर्दो जवाफ पाएका छन्‌। त्यस्तो जवाफ हामी कहाँ पाउन सक्छौं?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने