अध्याय ७९
एउटा राष्ट्रको पतन तर त्यसमा भएका सबै जनाको चाहिं होइन
फरिसीको घरबाहिर जम्मा भएकाहरूसित येशूले छलफल गर्नुभएको केही छिनपछि कसै-कसैले “बलिदान चढाइरहेका केही गालीलीहरूको [रोमी राज्यपाल पन्तियस] पिलातसले हत्या गरे भनेर उहाँलाई खबर दिए।” यरूशलेममा पानी ल्याउन एउटा नहर खन्नका निम्ति पन्तियसले मन्दिरको खजानाको धन प्रयोग गऱ्यो भनेर हजारौं यहूदीहरूले विरोध गर्दा मारिनेहरू सायद ती गालीलीहरू नै हुन्। यो कुरा येशूलाई सुनाउनेहरूले सायद त्यो विपत्ति गालीलीहरूले आफ्नै दुष्ट कामकुराले गर्दा भोग्नुपरेको हो भन्न खोजेको हुन सक्छ।
तथापि तिनीहरूको विचारलाई सच्याउँदै येशू भन्नुहुन्छ: “के तिमीहरू यस्तो घटनाको सिकार हुने गालीलीहरूलाई अरू सबै गालीलीहरूभन्दा बढ्ता पापी ठान्छौ? म तिमीहरूलाई भन्छु, त्यसो होइन।” अनि यहूदीहरूलाई चेतावनी दिन त्यस घटनाको प्रयोग गर्नुहुन्छ: “तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू सबै पनि तिनीहरूजस्तै नष्ट हुनेछौ।”
येशू अर्को स्थानीय विपत्तिको पनि सम्झना गराउनुहुन्छ। सम्भवतः त्यो पनि पानीको नहरसित नै सम्बन्धित थियो। उहाँ सोध्नुहुन्छ: “त्यसैगरि, सिलोआमको धरहरा ढल्दा त्यसले थिचेर मर्ने अठार जनालाई के तिमीहरू यरूशलेमका अरू सबै बासिन्दाहरूभन्दा बढ्ता ऋणी ठान्छौ?” होइन, तिनीहरूको अपराधको कारण तिनीहरू मर्नुपरेको होइन, येशू भन्नुहुन्छ। बरु यसप्रकारको विपत्तिका लागि अक्सर “समय र अवसर” जिम्मेवार हुन्छ। तथापि तिनीहरूलाई चेतावनी दिन येशू फेरि यस अवसरको प्रयोग गर्नुहुन्छ: “तर तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू सबै पनि तिनीहरूजस्तै नष्ट हुनेछौ।”
अनि येशू व्याख्या गर्दै एउटा सुहाउँदो दृष्टान्त भन्नुहुन्छ: “कुनै एक जना मानिसले दाखबारीमा अन्जीरको रूख लगाएको थियो अनि त्यसमा फल लागेको छ कि भनेर खोज्दा उसले केही भेटेन। तब उसले बगानको मालीलाई भन्यो: ‘मैले यस अन्जीरको रूखमा फल खोज्न थालेको तीन वर्ष भइसक्यो तर अहिलेसम्म एउटै फेला पारिनँ। त्यसैले यसलाई काटिदेऊ! यसलाई किन बेकारमा जमिन ओगट्न दिने?’ मालीले उसलाई जवाफ दियो: ‘मालिक, यसलाई यो वर्ष यत्तिकै रहन दिनुहोस्, म यसको वरिपरि खनेर मल हाल्छु। यसले फल फलायो भने बेसै भयो, होइन भने, काट्न लगाउनुहोला।’ ”
यहूदी राष्ट्रमा विश्वासको विकास गर्ने प्रयास येशूले तीन वर्षभन्दा बढी समयदेखि गर्दै हुनुहुन्छ। तर उहाँको मेहनतको फलको रूपमा केवल केही सय चेलाहरू मात्र छन्। अब उहाँको सेवाको कामको चौथो वर्षमा यहूदिया र पेरियामा बडो उत्साहकासाथ प्रचार गरेर अनि शिक्षा दिएर लाक्षणिक रूपमा अन्जीररूपी यहूदी रूखको चारैतिर खन्दै र मलजल हाल्दै उहाँ आफ्ना प्रयासलाई तीव्र पार्दै हुनुहुन्छ। तैपनि व्यर्थ! त्यस राष्ट्रले पश्चात्ताप गर्न अस्वीकार गर्छ। त्यो विनाशको बाटोमा छ। त्यस राष्ट्रका केही व्यक्तिहरूले मात्र पश्चात्ताप गर्छन्।
केही समयपछि येशू विश्राम-दिनमा यहूदीहरूका एउटा सभाघरमा शिक्षा दिंदै हुनुहुन्छ। अठार वर्षदेखि दुष्ट स्वर्गदूतको कब्जामा परेर कुप्री भएकी एउटी स्त्रीलाई उहाँले त्यहाँ देख्नुहुन्छ। टिठाएर येशू त्यसलाई बोलाएर भन्नुहुन्छ: “ए नारी, तिम्रो दुर्बलताबाट तिमी मुक्त भयौ।” तब उहाँले त्यसमाथि आफ्नो हात राख्नुहुन्छ र त्यसले तुरुन्तै ठाडो भएर परमेश्वरको महिमा गर्छे।
तथापि सभाघरका मालिक रिसाउँछन्। “काम गर्नका लागि छ दिन छुट्ट्याइएको छ। त्यसैले ती दिनमा आएर निको होओ, विश्राम-दिनमा होइन” भन्दै उनी विरोध गर्छन्। यसप्रकार ती अधिकृतले येशूको निको पार्ने शक्तिलाई मान्यता त दिन्छन् तर विश्राम-दिनमा निको हुन आउने मानिसहरूको चाहिं निन्दा गर्छन्!
येशू जवाफ दिनुहुन्छ: “कपटीहरू हो, के तिमीहरू विश्राम-दिनमा आफ्नो गोरु वा गधालाई किलाबाट फुकाएर पानी खुवाउन लैजादैनौ? त्यसोभए हेर, सैतानले बितेको अठार वर्षदेखि बाँधेर राखेको यो स्त्री, जो अब्राहामकी छोरी हुन्, उसलाई विश्राम-दिनमा फुकाउनु के उचित होइन?”
यो सुनेपछि येशूलाई विरोध गर्नेहरू लज्जित हुन थाल्छन्। तथापि येशूले गर्नुहुने सबै महान् कार्य देखेर भीड रमाउँछ। प्रत्युत्तरमा परमेश्वरको राज्यसम्बन्धी ती दुइटा भविष्यसूचक दृष्टान्त येशू दोहोऱ्याउनुहुन्छ, जुन एक वर्षअघि उहाँले गालील समुद्रमा डुङ्गाबाट भन्नुभएको थियो। लूका १३:१-२१; उपदेशक ९:११; मत्ती १३:३१-३३.
▪ कुन विपत्तिहरू यहाँ उल्लेख गरिएका छन् र त्यसबाट येशूले के पाठ सिकाउनुहुन्छ?
▪ फल नफलाउने अन्जीरको रूख र त्यसलाई फलदायी बनाउने प्रयाससम्बन्धी दृष्टान्तलाई कसरी लागू गर्न सकिन्छ?
▪ निको पार्न सक्ने येशूको शक्तिलाई सभाघरका मालिकले कसरी स्वीकार गर्छन् तापनि येशूले तिनको कपटलाई कसरी उदाङ्ग पार्नुहुन्छ?