अध्याय २४
शब्द छनौट
कुराकानीमा शब्दको भूमिका महत्त्वपूर्ण हुन्छ। तर कुनै खास उद्देश्य हासिल गर्न हामीले शब्द छान्दा होस पुऱ्याउनुपर्छ। एउटा अवस्थामा उपयुक्त साबित हुन सक्ने शब्द अर्को अवस्थामा अनुपयुक्त हुन सक्छ। ठीकसँग प्रयोग गरिएन भने मीठो शब्द पनि “नमीठो वचन” बन्न सक्छ। सोचविचारै नगरी प्याच्च बोल्दा अरूको ख्याल नगरेको ठहरिन्छ। कुनै-कुनै शब्दको दुई किसिमको अर्थ हुन्छ जसमध्ये एउटा अर्थ अशिष्ट वा अपमानजनक हुन्छ। (हितो. १२:१८; १५:१) अर्कोतर्फ “दयालु वचनले” अर्थात् प्रोत्साहन दिने शब्दले तपाईंसित कुरा गर्ने व्यक्तिलाई आनन्दित बनाउँछ। (हितो. १२:२५) बुद्धिमान् मानिसले पनि ठीक शब्द छान्न प्रयास गर्नुपर्छ। सुलेमानले पनि “ठीक-ठीक” अनि “सत्य” “शब्दहरू” खोज्नुपर्ने आवश्यकतालाई बुझेका थिए भनी बाइबल बताउँछ।—उप. १२:१०; NRV.
केही भाषामा पाका व्यक्तिहरू वा उच्च ओहदाका व्यक्तिहरूसित कुराकानी गर्दा भिन्नै शब्दहरू प्रयोग गरिन्छ भने दौंतरीहरू वा आफूभन्दा सानासँग कुरा गर्दा अर्कै किसिमका शब्द प्रयोग गरिन्छ। यस्तो चलन नपछ्याउनुलाई बेसोमति ठानिन्छ। साथै अरूलाई आदर गर्दा प्रयोग गरिने शब्दहरू आफैलाई प्रयोग गऱ्यो भने अरूले तपाईं भनोस् नभनोस् आफै मपाइँ भनेझैं हुन्छ। आदर देखाउने सन्दर्भमा बाइबलले तोकेको स्तर स्थानीय नियम-कानुन वा चलन भन्दा उच्च छ। बाइबलले ख्रीष्टियनहरूलाई “हरप्रकारका मानिसहरूको आदर” गर्ने सल्लाह दिएको छ। (१ पत्रु. २:१७) मनैदेखि आदर गर्नेहरूले सबै उमेरका मानिसहरूसित आदर देखाउने तरिकामा कुरा गर्छन्।
साँचो ख्रीष्टियनहरू रूखो र छाडा बोली बोल्दैनन्। तर धेरैजसो मानिस भने रूखो र छाडा बोली बोल्छन्। त्यसरी बोल्दा उनीहरूलाई आफूले भन्न खोजेको कुरालाई निकै महत्त्व दिएको जस्तो लाग्छ। अथवा उनीहरूलाई धेरै शब्द थाह छैन भन्ने देखिन्छ। यहोवालाई चिन्नुअघि कसैको त्यस्तै बानी थियो भने तिनलाई त्यो बानी त्याग्न हम्मेहम्मे पर्न सक्छ। तर त्यस्तो बानी त्याग्नै नसकिने भने होइन। परमेश्वरको पवित्र शक्तिले बोल्ने शैलीमा सुधार ल्याउन मदत गर्न सक्छ। तैपनि त्यो व्यक्ति अरूलाई फाइदा पुऱ्याउने तथा उत्थान गराउने खालका नयाँ-नयाँ राम्रा शब्द आफ्नो शब्द-भण्डारमा थप्दै जान र ती शब्द दैनिक जीवनमा प्रयोग गर्दै जान इच्छुक हुनुपर्छ।—रोमी १२:२; एफि. ४:२९; कल. ३:८.
सजिलै बुझिने भाषा: कुराकानी राम्रो बनाउन सबैले सजिलै बुझ्न सक्ने शब्द प्रयोग गर्नु नितान्त जरुरी छ। (१ कोरि. १४:९) तपाईंले प्रयोग गर्ने शब्द श्रोताले सजिलै बुझ्दैनन् भने तिनीहरूलाई तपाईंले विदेशी भाषामा बोलिरहेको जस्तै लाग्छ।
कुनै खास पेसाका मानिसहरूले प्रयोग गर्ने शब्दहरूको पनि खास अर्थ हुन्छ। कामको सिलसिलामा तिनीहरू दिनदिनै ती शब्द प्रयोग गर्छन्। तर तपाईंले पनि त्यस्ता शब्द गलत ठाउँमा प्रयोग गर्नुभयो भने अरूले तपाईंको कुरा बुझ्दैनन्। साथै सजिलै बुझिने शब्द प्रयोग गर्दा पनि नानाथरीका शब्द थपेर बोल्नुभयो भने श्रोताले तपाईंको कुरा एउटा कानले सुनेर अर्को कानले उडाइदिन्छन्।
अरूको ख्याल राख्ने वक्ता धेरै लेखपढ नगरेका मानिसले समेत बुझ्न सक्ने शब्द छान्छन्। यहोवाको अनुकरण गर्दै तिनी “कमजोर” व्यक्तिबारे विचार पुऱ्याउँछन्। (भज. ७२:१२, १३) मानिसहरूलाई त्यति थाह नभएको शब्द प्रयोग गर्नै पर्ने अवस्था आइपर्दा वक्ताले अर्थ प्रस्ट हुने सजिलो वाक्य प्रयोग गर्छन्।
राम्ररी सोचेर छानिएका सरल शब्द प्रयोग गर्दा जोडदार ढङ्गमा कुराकानी गर्न सकिन्छ। छोटो र सजिलो वाक्य झट्टै बुझिन्छ। लामो वाक्यको बीचबीचमा छोटो-छोटो वाक्य प्रयोग गरेमा तपाईंको प्रस्तुति सरर्र बग्छ। तपाईंले भन्न खोजेको कुनै कुरा श्रोताले सम्झिरहून् भन्ने चाहनुहुन्छ भने सजिलो शब्द छान्नुहोस्, वाक्य छोटो बनाउनुहोस्।
विविधता र सही अर्थ दिने शब्द: मीठा शब्दहरूको कुनै कमी छैन। प्रत्येक अवस्थामा एउटै शब्द प्रयोग गर्नुको सट्टा विभिन्न शब्द प्रयोग गर्नुहोस्। तब मात्र तपाईंको कुराकानी रमाइलो र अर्थपूर्ण हुन्छ। तपाईं आफ्नो शब्द-भण्डार कसरी बढाउँदै लैजान सक्नुहुन्छ?
कुनै सामग्री पढ्दा तपाईंले नबुझेका शब्दमा चिनो लगाउनुहोस् र शब्दकोशमा त्यसको अर्थ खोज्नुहोस्। ती शब्दमध्ये केही शब्द छानेर उपयुक्त हुँदा ती प्रयोग गर्ने विशेष प्रयास गर्नुहोस्। ती शब्दको सही उच्चारण गर्नुहोस्। ती शब्द सजिलै बुझ्न सकिनेगरि र आफूतर्फ ध्यान नखिच्नेगरि प्रयोग गर्नुहोस्। तपाईंको शब्द-भण्डारमा शब्द थप्दै जाँदा थरीथरीका शब्द प्रयोग गरेर बोल्न सक्नुहुन्छ। तर होसियार हुनुपर्ने एउटा कुरा छ—कुनै व्यक्ति शब्दको गलत उच्चारण गर्छन् वा त्यसको गलत प्रयोग गर्छन् भने तिनले भन्न खोजेको कुरा तिनलाई नै थाह छैन भनी अरूलाई लाग्न सक्छ।
अरूलाई जानकारी दिन हामी नयाँ-नयाँ शब्द सिक्छौं, श्रोतालाई प्रभाव पार्न होइन। जटिल भाषा र लामो वाक्यले वक्तातर्फ ध्यान खिच्छ। हामीले अरूसित बहुमूल्य जानकारी बाँड्ने र त्यो रमाइलो गरी सुनाउने इच्छा गर्नुपर्छ। बाइबलको यो उपदेश नबिर्सनुहोस्: “बुद्धिमान् मानिसको वचनले ज्ञान फैलाउँछ।” (हितो. १५:२) सजिलै बुझिने मीठा अनि ठीक शब्द प्रयोग गर्दा हाम्रो बोली स्फूर्ति दिने र उत्साह जगाउने खालको हुन्छ, उराठलाग्दो र पट्टाइलाग्दो हुँदैन।
नयाँ-नयाँ शब्द सिक्दै जाँदा सही शब्द प्रयोग गर्ने सन्दर्भमा विशेष ध्यान दिनुहोस्। दुई फरक शब्दले त्यस्तै अर्थ देलान् तर फरक-फरक अवस्थामा प्रयोग गरिंदा भने ती शब्दको अर्थ अलिकता फरक हुन्छ। यो कुरा ठम्याउन सक्नुभयो भने तपाईं आफ्नो बोली स्पष्ट पार्न सक्नुहुन्छ र श्रोतालाई ठेस पुग्ने बोली बोल्नुहुन्न। राम्रा-राम्रा शब्द प्रयोग गर्ने मानिसले बोल्दा ध्यान दिएर सुन्नुहोस्। केही शब्दकोशमा प्रत्येक शब्दपछि त्यसका साथसाथै पर्यायवाची शब्द (उस्तै अर्थ बुझाउने भिन्नै शब्द) र विपरीतार्थक शब्द (उल्टो अर्थ दिने शब्द) उल्लेख गरिएका हुन्छन्। त्यसकारण तपाईंले एउटै विचार व्यक्त गर्न प्रयोग गर्न सकिने विभिन्न शब्द मात्र होइन अलिअलि फरक अर्थ लाग्ने शब्द भेट्टाउन सक्नुहुन्छ। कुनै खास परिस्थितिमा तपाईं ठीक शब्द प्रयोग गर्न खोज्दै हुनुहुन्छ भने यस्तो जानकारीले धेरै मदत दिन्छ। तपाईंको शब्द-भण्डारमा नयाँ शब्द थप्नुअघि त्यो शब्दको अर्थ के हो, कसरी उच्चारण गर्न सकिन्छ र कहिले प्रयोग गर्न सकिन्छ, पक्का गर्नुहोस्।
कुनै कुरा सरसर्ती बताउनुभन्दा तोकेरै बताउँदा कुरा स्पष्ट हुन्छ। वक्ता यसो भन्न सक्छन्: “त्यतिबेला धेरै मानिस बिरामी परे।” अथवा त्यही कुरालाई तिनी यसरी पनि भन्न सक्छन्: “पहिलो विश्वयुद्ध अन्त भएको केही महिनापछि करिब २ करोड १० लाख मानिसहरू स्पेनिस ज्वरोले गर्दा मरे।” यसरी तोकेरै बताउँदा “त्यतिबेला धेरै मानिस बिरामी परे” भनेर वक्ताले के भन्न खोजिरहेका थिए, त्यो एकदमै स्पष्ट भयो। तपाईं पनि यसरी नै जानकारी बताउन चाहनुहुन्छ भने पहिला तपाईंले विषयसित सम्बन्धित सत्यतथ्य थाह पाउनुपर्छ र शब्द छनौटमा विशेष ध्यान दिनुपर्छ।
ठीक शब्द छान्दा तपाईंले भन्न चाहेको कुरालाई लम्बेतान बनाइराख्नुपर्दैन। धेरै शब्द प्रयोग गर्दा भन्न खोजेको कुरा ओझेलमा पर्छ। सरल तरिकाले बताउनुभयो भने अरूले सजिलै महत्त्वपूर्ण जानकारी बुझ्न र मनमा राख्न सक्छन्। यसरी बताउँदा सही जानकारी दिन सकिन्छ। येशू ख्रीष्टले सरल तरिकाले सिकाएकोले नै उहाँको शिक्षा उत्कृष्ट भएको हो। उहाँबाट सिक्नुहोस्। (मत्ती ५:३-१२; मर्कूस १०:१७-२१ मा दिइएको उदाहरण हेर्नुहोस्।) राम्ररी शब्द छानेर छोटोमीठो तरिकामा कुराकानी गर्ने बानी बसाल्नुहोस्।
जोस र भावना झल्काउने अनि जीवन्त बनाउने शब्द: आफ्नो शब्द-भण्डारमा नयाँ शब्दहरू मात्र होइन खास भाव व्यक्त गर्ने शब्द पनि थप्दै जानुहोस्। उदाहरणका लागि जोस व्यक्त गर्ने क्रिया; जीवन्त बनाउने विशेषण; न्यानोपन देखाउने, दया झल्काउने वा उत्सुकता व्यक्त गर्ने शब्दलाई विचार गर्नुहोस्।
बाइबलमा यस्ता अर्थपूर्ण भाषा प्रशस्त प्रयोग गरिएको छ। अगमवक्ता आमोसमार्फत यहोवाले यस्तो आग्रह गर्नुभयो: “भलाइको खोजी गर, बुराइको होइन . . . बुराइलाई घृणा औ भलाइ प्रेम गर।” (आमो. ५:१४, १५) राजा शाऊललाई अगमवक्ता शमूएलले यस्तो घोषणा सुनाए: “आज परमप्रभुले इस्राएलको राज्य तपाईंको हातदेखि च्यातेर अर्कोलाई दिनुहुनेछ।” (१ शमू. १५:२८) इजकिएलसित कुरा गर्दा यहोवाले हतपती बिर्सन नसकिने यस्ता शब्द प्रयोग गर्नुभयो: “इस्राएलको सारा घरानानै अट्टेरी र ढीट छन्।” (इज. ३:७) इस्राएल राष्ट्रले गरेको गल्तीको गम्भीरतालाई जोड दिंदै यहोवाले यस्तो प्रश्न गर्नुभयो: “के मानिसले परमेश्वरलाई लुट्नेछ? तापनि तिमीहरू मलाई लुट्दछौ।” (मला. ३:८) बेबिलोनमा भोगेको विश्वासको परीक्षाबारे दानियलले जीवन्त ढङ्गमा वर्णन गरे। तिनले बताएअनुसार शद्रक, मेशक र अबेद्नगोले मूर्तिको उपासना गर्न नमानेको कारण “नबूकदनेसर रीसले चूर भए” र ती तीन जनालाई बाँधेर “दन्किएको आगोको भट्टीमा” हालिदिन हुकुम गरे। राजाले “त्यस आगोको भट्टीलाई साधारणभन्दा सात गुणा चर्काउने हुकुम” गरेको विवरण दिएर दानियल हामीलाई भट्टी कत्तिको रन्किएको थियो भनी बुझ्न मदत दिन्छन्। त्यसैले राजाका चाकरहरू भट्टी नजिक के पुगेका थिए जलेर मरे। (दानि. ३:१९-२२; NRV) आफ्नो मृत्यु हुनुभन्दा केही दिनअघि यरूशलेमका मानिसहरूलाई येशूले भावुक हुँदै यसो भन्नुभयो: “कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुलेझैं मैले तेरा छोराछोरीहरूलाई कत्ति पटक बटुल्न चाहें! तर तिमीहरूले मानेनौ। हेर, परमेश्वरले तिमीहरूको घरलाई त्याग्नुहुनेछ।”—मत्ती २३:३७, ३८.
राम्ररी शब्द छानेर कुनै कुरा बताउँदा श्रोतालाई त्यसबारे कल्पना गर्न सजिलो हुन्छ। प्रयोग गरिएका शब्दले पाँचै इन्द्रियमा असर गरेका छन् भने तपाईंले भनेका कुरा श्रोताले “देख्न” र “छुन” सक्छन्। तपाईंले उल्लेख गरेका खानेकुरा “चाख्न” र “सुँघ्न” सक्छन्। अनि तपाईंले वर्णन गरेका आवाज र तपाईंले उद्धरण गरेका मानिसहरूले भनेका कुरा “सुन्न” सक्छन्। तपाईंले आफ्नो कुरालाई जीवन्त बनाएकोले श्रोता त्यसमा डुब्छन्।
विचार जीवन्त बनाउने शब्दहरूले मानिसहरूलाई हँसाउन वा रुवाउन सक्छ। निराश व्यक्तिलाई आशा दिन सक्छ र सृष्टिकर्ताप्रति प्रेम जगाइदिन सक्छ। भजन ३७:१०, ११, ३४; यूहन्ना ३:१६ र प्रकाश २१:४, ५ जस्ता बाइबल पदमा उल्लेख गरिएका शब्दले दिने आशाले संसारभरका मानिसहरूलाई धेरै असर गरेको छ।
बाइबल पढ्दा र “विश्वासी र बुद्धिमान् दास”-का प्रकाशन पढ्दा थरीथरीका शब्द र वाक्य प्रयोग गरिएको पाउनुहुन्छ। (मत्ती २४:४५) पढुन्जेल रमाइलो मान्ने त्यसपछि बिर्सने नगर्नुहोस्। तपाईंलाई रोचक लागेका शब्द वा वाक्य छान्नुहोस् र आफ्नो कुराकानीमा प्रयोग गर्नुहोस्।
व्याकरणका नियमअनुसारको बोली: बोल्दा आफूले व्याकरणका नियमलाई पछ्याएको छैन भनेर केही मानिस मानिलिन्छन्। त्यसो भए तिनीहरू के गर्न सक्छन् त?
तपाईं स्कूलमा पढ्दै हुनुहुन्छ भने मौकाको सदुपयोग गर्दै व्याकरणबारे र शब्द छनौटबारे राम्ररी सिक्नुहोस्। व्याकरणको कुनै खास नियमबारे पक्का हुनुहुन्न भने शिक्षकलाई सोध्नुहोस्। तर त्यत्तिकैमा चित्त नबुझाउनुहोस्। किनकि तपाईंसित व्याकरण राम्ररी सिक्ने ठोस कारण छ। तपाईं सुसमाचारको प्रभावकारी सेवक बन्न चाहनुहुन्छ।
तर तपाईं स्कूल जाने उमेरको हुनुहुन्न र अहिले बोल्ने भाषा तपाईंको मातृभाषा होइन भने नि? अथवा स्कूलमा गएर आफ्नै भाषामा लेखपढ गर्ने मौका पाउनुभएको थिएन भने नि? निरुत्साहित नहुनुहोस्। बरु सुसमाचारका खातिर प्रगति गर्न तनमनले मेहनत गर्नुहोस्। अहिले हामीलाई व्याकरणबारे जे-जति थाह छ, त्यो त अरूले बोल्दा सुनेकोले नै थाह भएको हो। त्यसैकारण अनुभवी वक्ताहरूको भाषण ध्यान दिएर सुन्नुहोस्। बाइबल र बाइबलआधारित प्रकाशन पढ्दा वाक्य संरचना कस्तो छ, कस्ता-कस्ता शब्द सँगसँगै प्रयोग गरिएका छन् र ती वाक्य तथा शब्द कस्तो सन्दर्भमा प्रयोग गरिएका छन्, ध्यान दिनुहोस्। यस्ता राम्रा उदाहरणबाट सिकेर त्यसैअनुसार बोल्ने गर्नुहोस्।
लोकप्रिय कलाकार तथा गायक-गायिका व्याकरणसँग नमिल्ने तरिकाले बोलिरहेका हुन सक्छन्। तिनीहरू जसरी बोल्छन् मानिसहरू त्यसरी नै बोल्न खोज्छन्। लागू-पदार्थका कारोबारीहरू र आपराधिक गतिविधिमा लागेका वा अनैतिक जीवन बिताउने मानिसहरू अरूले नबुझ्ने भाषा प्रयोग गर्छन्। तिनीहरू सही अर्थभन्दा बेग्लै अर्थ लाग्ने किसिमले शब्द प्रयोग गर्छन्। ख्रीष्टियनहरूले यस्ता मानिसहरूमध्ये कसैको पनि अनुकरण गर्नुहुँदैन। तर तिनीहरूको अनुकरण गऱ्यौं भने अरूलाई हामी पनि संसारका त्यस्ता मानिसहरूमध्येकै हौं र तिनीहरूले जस्तै जीवन बिताउँछौं भन्ने लाग्न सक्छ।—यूह. १७:१६.
प्रत्येक दिन राम्रो बोली बोल्ने बानी बसाल्नुहोस्। दैनिक कुराकानी गर्दा तपाईं बोलीमा ध्यान दिनुहुन्न भने भाषण दिंदा तपाईंको बोली राम्रो हुन्छ भनेर आशा नगर्नुहोस्। तर तपाईं दिनहुँ राम्रो बोली बोल्नुहुन्छ भने भाषण दिंदा वा अरूलाई सत्यबारे साक्षी दिंदा सजिलै र स्वतः त्यस्तै बोली निस्कन्छ।