अध्याय ३५
जोड दिनको लागि दोहोऱ्याउनुहोस्
प्रभावकारी रूपमा सिकाउने हो भने दोहोऱ्याउनु महत्त्वपूर्ण छ। महत्त्वपूर्ण बुँदालाई धेरै पटक बताउँदा श्रोताले सम्झिरहने सम्भावना धेरै हुन्छ। एउटै कुरालाई अलि भिन्नै तरिकामा प्रस्तुत गर्नुभयो भने श्रोताले अझ राम्रोसँग बुझ्न सक्नेछन्।
तपाईंले भनेको कुरा श्रोताले सम्झन सकेनन् भने तपाईंको कुराले तिनीहरूको जीवनमा वा आस्थामा कुनै प्रभाव पार्न सक्दैन। तपाईंले जुन कुरालाई जोड दिनुभयो त्यही कुरालाई मात्र तिनीहरूले सम्झिरहन सक्छन्।
कुरा दोहोऱ्याएर भन्ने सन्दर्भमा हाम्रा महान् शिक्षक यहोवाले उदाहरण बसाल्नुभएको छ। उहाँले इस्राएल राष्ट्रलाई दस आज्ञा दिनुभयो। उहाँले सीनै पर्वतमा स्वर्गदूतमार्फत इस्राएलीहरूलाई ती आज्ञा सुन्ने मौका दिनुभयो। पछि फेरि उहाँले ती आज्ञा मोशालाई लिखित रूपमा दिनुभयो। (प्रस्थ. २०:१-१७; ३१:१८; व्यव. ५:२२) इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा पस्नुअघि मोशाले यहोवाको निर्देशन पाएर ती आज्ञा दोहोऱ्याए। पवित्र शक्तिको मदत पाएर मोशाले ती आज्ञा लिखित रूपमा राखे जुन व्यवस्था ५:६-२१ मा पाउन सकिन्छ। इस्राएलीहरूलाई दिएको आज्ञामा यहोवालाई सारा मन, ज्यान र शक्तिले प्रेम गर्नु र सेवा गर्नु पनि समावेश थियो। यस कुरालाई बारम्बार उल्लेख गरियो। (व्यव. ६:५; १०:१२; ११:१३; ३०:६) किन? किनभने येशूको भनाइअनुसार यो नै “सबैभन्दा ठूलो र पहिलो आज्ञा” थियो। (मत्ती २२:३४-३८) यहोवाका सम्पूर्ण आज्ञा पालन गर्नु कत्तिको गम्भीर छ भनेर उहाँले यहूदाका मानिसहरूलाई अगमवक्ता यर्मियामार्फत २० भन्दा धेरै चोटि याद गराउनुभयो। (यर्मि. ७:२३; ११:४; १२:१७; १९:१५) अनि इजकिएलमार्फत ६० भन्दा धेरै चोटि जाति-जातिका मानिसहरूले “जान्नेछन् कि मनै परमप्रभु [अर्थात् “यहोवा,” NW] हुँ” भन्नुभयो।—इज. ६:१०; ३८:२३.
येशूको सेवासम्बन्धी विवरणमा पनि दोहोऱ्याउने तरिकालाई प्रभावकारी रूपमा प्रयोग गरिएको पाउँछौ। उदाहरणका लागि, सुसमाचारका चार पुस्तकमध्ये कुनै एउटामा लेखिएको महत्त्वपूर्ण घटनालाई सुसमाचारको अर्को पुस्तकमा वा चारैवटा पुस्तकमा फरक-फरक दृष्टिकोणले लेखिएको छ। येशूले सिकाउने बेला पनि एउटै मुख्य बुँदालाई थुप्रै अवसरमा फरक-फरक तरिकाले सिकाउनुभयो। (मर्कू. ९:३४-३७; १०:३५-४५; यूह. १३:२-१७) येशूले आफ्नो मृत्यु हुनुभन्दा केही दिनअघि जैतुन डाँडामा एउटा महत्त्वपूर्ण विषयलाई जोड दिन दोहोऱ्याएर सल्लाह दिनुभयो। त्यो महत्त्वपूर्ण सल्लाह यस्तो थियो: “जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउँदै हुनुहुन्छ, तिमीहरूलाई थाह छैन।”—मत्ती २४:४२; २५:१३.
प्रचारमा: प्रचार गर्दा आफूले भनेको कुरा अरूले सम्झून् भन्ने तपाईं चाहनुहुन्छ। यसको लागि तपाईंले एउटै कुरालाई प्रभावकारी रूपमा दोहोऱ्याउन सक्नुहुन्छ।
छलफल गर्दा गर्दै त्यही कुरालाई दोहोऱ्याउँदा अक्सर सुन्ने व्यक्तिको मनमा त्यो कुरा ठप्प बस्छ। त्यसैले बाइबल पद पढिसकेपछि त्यस पदको मुख्य बुँदालाई औंल्याएर अनि “यसमा कस्तो शब्द प्रयोग गरिएको छ, याद गर्नुभयो?” भन्ने प्रश्न सोधेर जोड दिन सक्नुहुन्छ।
कुरा टुङ्ग्याउँदा पनि प्रभावकारी रूपमा दोहोऱ्याउन सक्नुहुन्छ। उदाहरणका लागि, तपाईं यसो भन्न सक्नुहुन्छ: “यस छलफलबाट तपाईंले पक्कै पनि यो मुख्य बुँदा याद गर्नुभयो होला: . . .।” त्यसपछि सरल शब्दमा त्यो मुख्य बुँदा दोहोऱ्याउनुहोस्। सायद यस्तै केही भन्न सक्नुहुन्छ: “परमेश्वरको उद्देश्य यस पृथ्वीलाई प्रमोदवनमा परिणत गर्ने हो। यो उद्देश्य पक्कै पूरा हुनेछ।” अथवा “हामी यस युगको आखिरी समयमा बाँचिरहेका छौं भनेर बाइबलमा प्रस्टैसित बताइएको छ। यस युगको अन्तमा बच्न चाहन्छौं भने परमेश्वरले हामीबाट माग गर्ने कुरा सिक्नुपर्छ” भनेर पनि बताउन सक्नुहुन्छ। अनि “पारिवारिक जीवनमा आइपर्ने समस्याहरूको समाधान कसरी गर्ने भनेर बाइबलमा व्यावहारिक सल्लाह दिइएको पनि हामीले देख्यौं” भनेर पनि बताउन सक्नुहुन्छ। कहिलेकाहीं भने सम्झनुपर्ने बुँदालाई फेरि बाइबलबाट उद्धरण गरे मात्र पनि पुग्न सक्छ। पक्कै पनि प्रभावकारी रूपमा यसो गर्न पहिल्यै विचार पुऱ्याउनुपर्छ।
पुनःभेटमा र बाइबल अध्ययनमा पनि पुनरावलोकनको लागि दिइएका प्रश्नहरू सोधेर पनि दोहोऱ्याउन सक्नुहुन्छ।
बाइबलको सल्लाह बुझ्न वा लागू गर्न गाह्रो भइरहेको विद्यार्थीलाई तपाईंले एउटै कुरा फरक-फरक अवसरमा फरक-फरक तरिकाले बताउनुपर्ने हुन सक्छ। त्यसकारण विभिन्न तरिका अपनाएर बुझाउने प्रयास गर्नुहोस्। लामो छलफल गर्नु त पर्दैन तर त्यसबारे सोचिरहन विद्यार्थीलाई प्रोत्साहन दिनुपर्छ। नबिर्सनुहोस्, चेलाहरूको पहिलो हुने इच्छालाई हटाउन येशूले यसरी नै दोहोऱ्याउनुभयो।—मत्ती १८:१-६; २०:२०-२८; लूका २२:२४-२७.
भाषण दिने बेलामा: मञ्चबाट भाषण दिंदा तपाईंको उद्देश्य जानकारी दिनु मात्र होइन। तपाईंको कुरा श्रोताले बुझून्, याद गरून् र लागू गरून् भन्ने पनि तपाईं चाहनुहुन्छ। यसको लागि प्रभावकारी रूपमा दोहोऱ्याइरहनुपर्छ।
तर मुख्य-मुख्य बुँदालाई बातैपिच्छे दोहोऱ्याउनुभयो भने श्रोताको ध्यान खिच्न सक्नुहुन्न। खास तरिकामा जोड दिनुपर्ने बुँदाहरू होसियार भएर छान्नुहोस्। जुन मुख्य-मुख्य बुँदालाई आधार बनाएर तपाईंले भाषण बनाउनुभयो, विशेषगरि त्यही बुँदा र कहिलेकाहीं श्रोतालाई महत्त्वपूर्ण लाग्ने अन्य बुँदाहरू नै खास तरिकामा जोड दिनुपर्ने बुँदाहरू हुन्।
जोड दिनको लागि दोहोऱ्याउने हो भने भाषणको परिचय दिंदा नै मुख्य-मुख्य बुँदा सरसर्ती बताउन सक्नुहुन्छ। भाषणमा विस्तार गर्ने बुँदाबारे छोटकरीमा बताएर, प्रश्न सोधेर वा सुल्झाउनुपर्ने समस्याबारे छोटो उदाहरण दिएर त्यसो गर्न सक्नुहुन्छ। भाषणमा कतिवटा मुख्य बुँदा उल्लेख गर्नुहुनेछ, एक-एक गरी बताउन सक्नुहुन्छ। मुख्य भागमा पुगेपछि ती मुख्य बुँदा व्याख्या गर्नुहोस्। मुख्य भाग प्रस्तुत गर्दा एउटा बुँदाबाट अर्को बुँदामा जानुअघि छलफल गरिसकेको मुख्य बुँदा दोहोऱ्याउनुहोस्। अथवा त्यो मुख्य बुँदालाई बुझाउने कुनै उदाहरण पनि प्रयोग गर्न सक्नुहुन्छ। समापनमा मुख्य-मुख्य बुँदालाई फेरि उल्लेख गरेर, भिन्नता बताएर, प्रश्नको जवाफ दिएर वा समस्याको समाधान छोटकरीमा बताएर अझै जोड दिन सक्नुहुन्छ।
यसका साथै अनुभवी वक्ताले आफ्नो हरेक श्रोतालाई ध्यान दिएर हेर्छन्। श्रोतालाई कुनै कुरा बुझ्न गाह्रो भइरहेको छ भने तिनले सजिलै थाह पाउनेछन्। बताइरहेको बुँदा महत्त्वपूर्ण छ भने तिनले त्यो बुँदा फेरि बताउनेछन्। तर पहिला जे शब्द प्रयोग गऱ्यो त्यही शब्द प्रयोग गर्दैमा श्रोताले बुझ्छन् भन्ने छैन। यसबाहेक अरू तरिका पनि छन्। भाषण दिंदा छाँटकाँट गर्ने सक्ने हुनुपर्छ। भाषण दिंदा दिंदै तुरुन्तै थप बुँदा बताउनुपर्ने हुन सक्छ। यसरी श्रोताको आवश्यकता बुझेर त्यसैअनुसार भाषण दिन सिक्नुभयो भने तपाईं प्रभावकारी शिक्षक साबित हुनुहुनेछ।