पाठ २३
हाम्रा लेखहरू लेख्ने र अनुवाद गर्ने काम कसरी हुन्छ?
लेखन विभाग, अमेरिका
दक्षिण कोरिया
आर्मेनिया
बुरूण्डी
श्रीलंका
“हरेक राष्ट्र, कुल, भाषा र जाति”-का मानिसहरूलाई “सुसमाचार” सुनाउन हामी ९०० भन्दा धेरै भाषामा पत्र-पत्रिका तथा पुस्तक-पुस्तिकाहरू तयार गर्छौँ। (प्रकाश १४:६) हुनत यो सजिलो काम होइन तर हामीले कसरी गर्न सकिरहेका छौँ? यस काममा संसारका विभिन्न ठाउँमा रहेका लेखक र लगनशील अनुवादकहरूको समूहले मदत गर्छ। यी लेखक तथा अनुवादकहरू सबै यहोवाका साक्षी हुन्।
हाम्रा लेखहरू सुरुमा अङ्ग्रेजीमा लेखिन्छ। यहोवाका साक्षीहरूको मुख्य कार्यालयमा लेखन विभाग छ। यसलाई परिचालक निकायले सुपरिवेक्षण गर्छ। लेखन विभागले मुख्य कार्यालय र केही शाखा कार्यालयमा रहेका लेखकहरूको कामको संयोजन गर्छ। हाम्रा लेखहरू तयार पार्ने काममा विभिन्न ठाउँ र पृष्ठभूमिका लेखकहरू संलग्न हुने हुँदा हाम्रा पत्र-पत्रिका तथा पुस्तक-पुस्तिका विभिन्न देशका मानिसहरूले पढ्न रुचाउँछन्।
अङ्ग्रेजीमा तयार भएका लेखहरू अनुवादकहरूकहाँ पठाइन्छ। अङ्ग्रेजीमा लेखिएका लेखहरू संशोधन गरेर स्वीकृति पाएपछि यसलाई कम्प्युटरबाट संसारभरि रहेका अनुवाद टोलीहरूकहाँ पठाइन्छ। विभिन्न ठाउँमा रहेका अनुवाद टोलीले ती लेखहरूलाई आ-आफ्नो भाषामा अनुवाद गर्ने, अङ्ग्रेजीसित दाँज्ने र वर्णविन्यास तथा हिज्जे मिलाउने काम गर्छन्। तिनीहरू अङ्ग्रेजीले भन्न खोजेको कुरालाई आफ्नो भाषामा स्पष्टसँग बुझाउने “ठीक-ठीक शब्द” छनौट गर्न निकै प्रयास गर्छन्।—उपदेशक १२:१०.
कम्प्युटर प्रविधिले गर्दा लेखन र अनुवादको काम छिटो हुन्छ। लेखक र अनुवादकको काम कम्प्युटरले गर्न सक्दैन। तर कम्प्युटरमा उपलब्ध शब्दकोश तथा विभिन्न प्रोग्रामले गर्दा लेखक र अनुवादकको काम छिटो भने हुन्छ। यहोवाका साक्षीहरूले एउटा कम्प्युटर प्रोग्रामa बनाएका छन्, जसले गर्दा सयौँ भाषामा अनुवाद गर्न, त्यसलाई चित्रहरूसँगै मिलाएर राख्न र छाप्नको लागि तयार पार्न सम्भव भएको छ।
कुनै-कुनै भाषा एकदम थोरै मानिसले मात्र बोल्ने गर्छन्। तर त्यस्ता भाषाहरूमा पनि हाम्रा लेखहरू अनुवाद गरेर छाप्न हामी किन यत्तिको प्रयास गर्छौँ? किनकि यहोवा परमेश्वर “सबै किसिमका मानिसले उद्धार पाऊन् र सत्यको सही ज्ञान लिऊन् भन्ने चाहनुहुन्छ।”—१ तिमोथी २:३, ४.
हाम्रा प्रकाशनहरूको लेखहरू लेख्ने काममा के-के कुरा मुछिएको छ?
हाम्रा लेखहरू किन थुप्रै भाषामा अनुवाद गरिन्छन्?
a Multilanguage Electronic Publishing System (MEPS)