विश्वशान्तिको सपना एउटा त्रुटिपूर्ण दृष्टि
विश्वशान्तिको सम्भावना बारे आशा धूमधाम सित बढ़दो छ। द टोरेन्टो स्टार भन्ने पत्रिकाको आफ्नो लेखमा, कैरोल गोआरले लेखेकी छन्: “अफगानिस्तान देखि अङ्गोला सम्म शान्ति समझौताहरू छ्यापछ्यापती छन्। केही महिना अघि सम्म दुष्कर मानिएका क्षेत्रीय द्वन्दहरू अब मत्थर हुँदै गएका चिन्हहरू देखिदैंछन्। र संयुक्त राष्ट्र संघले पनि एउटा उत्साहप्रद नया जन्म लिंदैछ।” यसले गर्दा, “आशाको एउटा विश्वव्यापी महामारी” शुरू भएको छ भनी गोआर भन्दछिन्। युयसए टुडे भन्ने पत्रिकामा पनि त्यस्तै प्रकारको भाव व्यक्त गरिएको छ: “सारा संसारभरि शान्ति फैलिन थालेको छ।”
हालसालै सोभियत संघ र संयुक्त राज्य अमेरिकाका बीच चलिरहेको सौहार्द सम्बन्ध स्थापित गर्ने प्रयास बारे युएन क्रोनिकल भन्ने पत्रिकाले गरेको वर्णन खासगरी उल्लेखनीय छ। फौजहरूको वापसी, पूर्वीय युरोपमा भइ रहेका आश्चर्यमय घटनाहरू, फौज र हतियारहरूमा कटौती गर्ने वार्ता—यी सबै घटनाहरूले यो आशा जगाएको छ कि ठूला शक्तिहरूले अन्ततोगत्वा शस्त्रहरूको होड़मा रोक लगाउनेछन्। ८५ हजार करोड डलर प्रति वर्ष सैनिक सम्बन्धी खर्च गरिने अर्थ व्यवस्था भएको आजको संसारमा, यो एउटा धेरै नै स्वागत योग्य कुरा हो।
तथापि, विश्वशान्ति बारे मानवीय सपना साकार हुने कतिको सम्भावना छ? शस्त्रहरूको कटौती गर्नु एउटा कुरा हो तर शस्त्रहरूलाई नामेट पार्नु एउटा अति नै बेग्लै कुरा हो भनी जति सुकै आशावादी हुनेहरूले पनि स्वीकारेका छन्। आणविक निःशस्त्रीकरण गर्नकालागि आपसमा एउटा अपूर्व विश्वासको आवश्यकता पर्नेछ। तर, दुःखको कुरा, ठूला शक्तिहरू बीच आपसमा अविश्वासको एउटा लामो इतिहास छ। बाइबलमा भविष्यवाणी गरिए जस्तै, यो एउटा यस्तो युग हो जहाँ मानिसहरू “खुशी नहुने [“समझौता भंग गर्ने,” किंग जेम्स भर्सन्]” साबित भएका छन्।—२ तिमोथी ३:३.
त्यस अलावा, आणविक हतियारहरू हटाइँदैमा, शान्ति हुनेछ भनी सबैले पत्याउँदैनन्। राष्ट्रहरूलाई तिनीहरूका आणविक शस्त्रहरूको भण्डारलाई फ्याँक्न तयार पार्न सकिएता पनि, सामान्य हतियारहरूको प्रयोग द्वारा सफलतापूर्वक हत्या गर्न सकिन्छ। प्रथम र द्वितीय विश्व-युद्धहरूले त्यस कुराको घोर प्रमाण दिन्छन्। त्यस अलावा, आणविक हतियारलाई पुनः सृजना गर्नका निम्ति चाहिने तकनिकी ज्ञान त रहिनै रहने छ—तयारी साथ, राजनैतिक तनावको बाटो हेर्दै। रिचार्ड नेड लेबो जस्ता केही राजनैतिक वैज्ञानिक अझ यसरी तर्क गर्दछन्: “केही मात्रामा आणविक हतियार राखी राख्यौं भने, मानिसहरू सतर्क हुन सक्छन्।”
तर आणविक हतियारहरू रहुञ्जेल, आणविक संहारको सम्भावनाले शान्ति प्राप्तिको हर दाबी एउटा ठट्टाको कारण हुनेछ। त्यस्तै, लाखों लाख मानिसहरूको दैनिक जीवनबाट शान्ति हरण गर्ने गैर-सैनिक समस्याहरू पनि रहि नै रहनेछ। यु.एन. का महा-सचिव जेभियर पेरेस द कुलेरले “घर विहीन अथवा बिल्कुलै अपर्याप्त ओत दिने घरहरूमा बस्ने हाम्रा लाखों सङ्गी नागरिकहरूको” दुर्दशा बारे चर्चा गर्दै यसो भने: “यो समस्या अझै नराम्रोसँग बिग्रिदो छ।” द युएन क्रोनिकलको थप रिपोर्ट अनुसार, अविकसित आर्थिक व्यवस्थाले “दुई तिहाइ मानवजातिलाई पिरोली रहेछ र कुनै-कुनै ठाउँको कठिनाइ र दरिद्रता, युद्धको कारण हुने सङ्कष्ट जस्तै छ। र संसारका लगभग एक करोड बीस लाख जति शरणार्थीहरूबारे के भन्न सकिन्छ? के हतियारको कमी अथवा पूर्ण निःशस्त्रिकरण द्वारा तिनीहरूको जीवनमा शान्ति आउन सक्तछ?
स्पष्टतः, विश्वशान्तिबारे मानवीय सपना एउटा त्रुटिपूर्ण कल्पना हो—संकीर्ण, सीमित र अदीर्घदृष्टिमा आधारित्। तर शान्तिका लागि अन्य कुनै एउटा असल आशा छ र? जरूर पनि छ! यस पत्रिकाको अगस्त १९९१ को अङ्कमा, बाइबलले एउटा निश्चित आशा प्रदान गर्दछ भनी हामीले देख्यौं।a चाँड़ैनै येशू ख्रीष्टले, परमेश्वरको राज्यको राजाका हैसियतमा, मानवीय आशा भन्दा धेरै नै उच्च श्रेणीको शान्ति ल्याउनु हुनेछ। तर त्यस शान्तिले मानवजातिकालागि के अर्थ राख्ने छ? त्यसबारे अर्को लेखमा छलफल गरिने छ। (w90 4/15)
[फुटनोट]
a अगस्त १, १९९१ को अङ्कमा “मानवजातिलाई शान्ति तर्फ कसले डोऱ्याउने छ” भन्ने लेख हेर्नुहोस्।