धर्म यस विषयमा चासोको अभाव किन?
“धर्म बिनाको मानिस, झ्यालहरू न भएको घर जस्तै हो।” यी शब्दहरूद्वारा, धार्मिक ज्ञानको आवश्यकताबारे, जापानका एक जना मानिसले तिनका छोरा मिट्सुवोलाई व्यक्त गरे। तथापि, मिट्सुवोले आफ्ना पिताका शब्दहरूलाई विशेष ध्यान दिएनन्। र अरू ठाउँहरूमा झैं, जापानमा पनि मिट्सुवोको जस्तै विचार अपनाउने मानिसहरूको सङ्ख्या बढ़दो छ। आफ्नो जीवनमा धर्मको ज्योतिलाई प्रवेश गर्न दिन अलिकता मात्र चासो राख्दै, तिनीहरू ‘झ्यालहरू न भएका घरहरू’ भएर बस्न सन्तोष मान्दछन्।
यसकारण, जापानमा राष्ट्रिय चरित्र अध्ययन गरिंदा, त्यहाँका ६९ प्रतिशत नागरिकहरूले आफू धार्मिक विचार-धाराका होइनन् भनी स्वीकारे। जवान मानिसहरू मध्ये ता प्रतिशत् अझ बढ़ी थियो। त्यसै प्रकार, कुनै समयमा धर्म-कर्मलाई महत्व दिने, बौद्ध धर्मावलम्बी देश, थाइलैन्डमा पनि, नगर पञ्चायतको इलाका भित्र बस्ने ७५ प्रतिशत मानिसहरू बौद्ध धर्मका मन्दिरहरूमा आजकल जाने गर्दैनन्। बेलायतमा, बितेका ३० वर्षहरू भित्र, प्रायः आठ भागमा एक भाग, एङ्गलिकन गिर्जाहरू प्रयोग न गरिएको कारण बन्द भएका छन्।
यद्यपि, जापानमा धार्मिक रीति-थितिहरू अहिले पनि प्रशस्त मात्रामा छन्। तर बहुमूल्य भाँड़ा-कुड़ा जस्तै, ती रीति-थितिहरूको प्रयोग बिहाबारी र मानिस मर्दा गरिने काज-क्रिया जस्ता विशेष अवसरहरूमा मात्र हुन्छन्। आध्यात्मिक ज्योतिको निम्ति भन्दा पनि स्थानीय संस्कृति र पारिवारिक परम्परालाई कायम राख्ने उद्देश्यले धर्मलाई महत्त्व दिइन्छ। धेरैको विचारमा धर्म, कमजोर र दुःखित मानिसहरूले मानसिक शान्तिको निम्ति लिने एउटा औषधी मात्र हो; धर्मबाट प्राप्त गर्न सकिने अन्य ठोस लाभहरू तिनीहरूले देख्न सक्तैनन्। कसै कसैले एसो पनि भन्छन्, “तपाईंसँग फुर्सत छ अथवा तपाईं त्यसको आवश्यकता महसुस गर्नु हुन्छ भने, घर्म मान्नु ठीकै हो। तर जीविकोपार्जन गर्न र अन्य खर्चहरू बेहोर्नका लागि चाहिं तपाईंले आफैमा भरोसा गर्नु पर्दछ।”
यो उदासीनताको कारण के हो? यसका निकै कारणहरू प्रस्तुत गर्न सकिन्छ। प्रथमतः सामाजिक वातावरण हो। धेरै जसा जवान व्यक्तिहरूले कुनै प्रकारको धार्मिक प्रशिक्षण पाएकै छैनन् भने पनि हुन्छ। जसले गर्दा, भौतिक कुराहरूको खोजीलाई महत्त्व दिने समाजमा हुर्केकाहरू पछि गएर भौतिकवादी बालिगहरू हुन गएमा, यो कुनै आश्यर्चको कुरा होइन।
केही देशहरूमा चाहिं, टेलिविजन द्वारा प्रचार गर्ने व्यक्तिहरू र अन्य प्रतिष्ठित धर्म-गुरुहरूको लोभी र अनैतिक व्यवहार, साथै राजनैतिक काम-काज र युद्ध गर्ने प्रयासमा धर्मले भाग लिएको देखेर, धेरै मानिसहरूले आफूलाई धर्मबाट अलग्ग पारेका छन्। यसको एउटा उदाहरण, जापानमा शिन्टो धर्मसँग सम्बन्धित घटेको घटनाबाट देख्न सकिन्छ। एनसायक्लोपेड्या अफ द ज्यापानीज रेलिजन्स भन्छ: “१९४५ को अगस्त महिनामा, युद्ध [दोस्रो विश्व-युद्ध] हारे पछि, शिन्टो धर्मका पूजा-स्थलहरूले एउटा कठिन संकटको सामना गर्न पर्यो।” युद्धको जोश दन्काउने र विजय प्रतिज्ञा गर्ने शिन्टो धर्मले मानिसहरूलाई निराश पारी दियो। फलःस्वरूप, परमेश्वर अथवा बुद्ध छैनन् भन्ने दर्शन चाँड़ै फैलियो।
तथापि, यहाँ र अहिलेलाई मात्र ध्यानमा राख्ने, स्वार्थी, अदीर्ध दृष्टिसँग के हामी वास्तवमा सन्तुष्ट हुनु उचित हो र? धेरै जसा मानिसहरूको जिज्ञासु मन हुन्छ। तिनीहरू कहाँबाट आए, कहाँ गइरहेछन्, तिनीहरू किन जीवित छन् र जीवन कसरी बिताउनु पर्ने हो जस्ता कुराहरू तिनीहरू जान्न चाहन्छन्। आशामा तिनीहरू बाँची रहेका हुन्छन्। तर जीवन सम्बन्धी प्रश्नहरूलाई पन्छाएर अथवा “यी बुझ्नै न सकिने कुराहरू हुन्” भन्ने विचार राख्दै तिनीहरूलाई दबाएर, सन्तोष अनुभव गर्न सकिन्दैन। नास्तिक बर्टरेन्ड रसलले पनि “विचित्र प्रकारको, दबाउन न सकिने एउटा वेदना—संसारमा भएका चीज-बीज भन्दा अझ अर्थपूर्ण कुनै कुराको खोजीबारे” चर्चा गरे। साँचो धर्मले त्यो खोजीको अन्त गरी दिन सक्तछ। तर कसरी? कुनै पनि धर्मलाई त्यतिको गम्भिरतापूर्वक ध्यान दिनु पर्दछ भन्ने के प्रमाण छ?
(w02/01/91)