हामीलाई सुनी दिनु हुने एक जना चाहिन्छ
हामी मानिस भएका हुनाकारण, जीवनमा आनन्द र सन्तोष पाउने कोशिश गर्छौं। तर व्यक्तिगत समस्याहरू आइ पर्दा आफ्ना दुःखहरू पोखाउन सकिने एक जना साथी पाउँनु कति मददकारी र शान्तिदायक हुन सक्तछ।
डाक्टर जर्ज एस स्टिवेन्सन भन्छन्: “मौखिक छलफल द्वारा तपाईंको मानसिक तनाव कम हुन सक्तछ, तपाईंको चिन्ताको कारणलाई अझ स्पष्ट ढङ्गमा बुझ्न सक्नु हुन्छ र त्यसबारे तपाईंले के गर्नु पर्ने हो, त्यो पनि अकसर देख्न सक्नु हुन्छ।” डा. रोज हिल्फरडिङ्गले भने: “हामी सबैले नै आ-आफ्ना दुःखहरू पोखाउने गर्नु पर्दछ। हाम्रा चिन्ताहरू बाँडने गर्नु पर्दछ। हाम्रो कुरा सुनी दिन चाहने र बुझी दिने संसारमा कोही छन् भनी हामीलाई थाह हुनु पर्दछ।”
हुन त हो, कुनै पनि मानिसले यो आवश्यकतालाई सम्पूर्ण ढङ्गमा पूरा गरी दिन सक्तैन। सीमित समय र अन्य अरू कुराहरूको बाधाले गर्दा हामीलाई सबै भन्दा बढी खाँचो परेको बेलामा हाम्रा मानव साथीहरू हामीसँग न होलान् अथवा कुनै कुनै कुरा हामी आफ्ना सबै भन्दा घनिष्ठ मित्रहरूसित पनि छलफल गर्न चाहन्दैनौं होला।
तथापि, साँचो मसीहीहरू तिनीहरूको कुरा सुनी दिने एक जना व्यक्ति बिना कहिले पनि बस्नु पर्दैन किनभने प्रार्थनाको बाटो जहिले पनि उपलव्ध छ। परमेश्वर, हाम्रा सृष्टिकर्त्तालाई, जसको नाउँ यहोवा हो, लगातार प्रार्थना गरिरहनु भनी बाइबलमा बारम्बार प्रोत्साहन दिइएको पाउँछौं। साँचो हृदयका साथ येशूको नाउँमा र परमेश्वरको इच्छा अनुसार प्रार्थना गर्न भनी हामीलाई निर्देशन दिइएको छ। व्यक्तिगत र निजी कुराहरूको विषयमा पनि प्रार्थना गर्नु उचित हुन्छ। फिलिप्पी ४:६ मा हामीलाई एसो भनिएको छ: “सबै कुरामा . . . तिमीहरूको माग परमेश्वरमा जाहेर होस्।” कस्तो अद्भुत वरदान! जुन सुकै समयमा पनि आफ्ना नम्र सेवकहरूको प्रार्थना सुन्न हाम्रो ब्रह्माण्डका सर्वसत्तधारी शासक सधैं नै तयार रहनु हुन्छ।—भजनसंग्रह ८३:१८; मत्ती ६:९-१५; यूहन्ना १४:१३, १४; १ यूहन्ना ५:१४.
तर के परमेश्वर वास्तवमा सुन्नु हुन्छ र? जुन कुरालाई हामी प्रार्थनाको परिणाम भन्दछौं, त्यो शायद मानिसकै कार्यको नतिजा होला भनी कसै कसैले सोंच्दछन्। उदाहरणका लागि, आफ्ना सोंच-विचारलाई क्रमानुसार मिलाएर शब्दहरूमा व्यक्त गर्दै एक जना मानिसले प्रार्थना गर्दछ। यस प्रकार आफ्नो समस्यालाई अलग्ग औंलाए पछि, उ एउटा सुहाउँदो समाधानको खोजी गर्न थाल्छ र त्यो प्राप्त गर्नमा मदद पुर्याउन सक्ने हर कुरा प्रति उ सचेत रहन्छ। समस्या समाधान भए पछि, आफूले रुचाएको त्यो परिणाम गराउने वास्तवमा उसको आफ्नै मन र कोशिश भएता पनि, उसले सायद श्रेय चाहिं परमेश्वरलाई दिन सक्तछ।
आज धेरै जनाको सोंचाइ अनुसार कुनै समस्याको समाधान गर्दा, आफ्नै मन र प्रयास लगाउनु नै प्रार्थना हो। के तपाईंलाई पनि त्यसै लाग्छ? प्रार्थनाको शक्ति के यस प्रकार सीमित छ? प्रार्थनाको जवाफ पाउने सम्बन्धमा, प्रार्थना बमोजिमको मानसिक र शारीरिक प्रयासले एउटा महत्त्वपर्ण भूमिका अवश्य निभाउँदछ। तर यसमा परमेश्वरले निभाउनु हुने भूमिका के हो? तपाईंले प्रार्थना गर्नु हुँदा, के परमेश्वरले सुन्नु हुन्छ? के उहाँले तपाईंका प्रार्थनाहरूलाई महत्त्व दिनु हुँदै, तिनीहरू द्वारा व्यक्त गरिएका कुराहरूलाई ध्यान दिनु भएर तिनीहरूको जवाफ दिनु हुन्छ?
यी प्रश्नहरूका जवाफहरू महत्त्वपूर्ण छन्। परमेश्वरले हाम्रा प्रार्थनाहरूलाई ध्यान दिनु हुन्न भने, प्रार्थनाको मूल्य भावनात्मक मात्र हुन जान्छ। तर अर्को तिर, परमेश्वरले हामी प्रत्येकका प्रार्थनाहरूलाई स्वीकार्नु हुन्छ र चासोका साथ सुन्नु हुन्छ भने यो प्रबन्धका लागि हामी कति कृतज्ञ हुनु पर्दछ! र प्रत्येक दिन यो प्रबन्धको प्रयोग गर्न हामी उत्प्रेरित हुनु पर्ने हो।
यसकारण, अझ पढदै जानु होस् किनभने यी प्रश्नहरूको छलफल यस पछिको लेखमा गरिएको छ। (w 4/15/92)