जीवन परमेश्वरको एउटा वरदान
दिनको चौबीसै घण्टा शरीरको कुना कुनासम्म हाम्रो मुटुले अमूल्य रगत पठाइरहेको हुन्छ। हामी निदाउँछौं तर हाम्रो फोक्सो भने खुम्चने र फुल्ने गरी नै रहेको हुन्छ। खाना खान्छौं र त्यो खाना स्वतः आफै पच्दछ। हर दिन यी सब कुराहरू हाम्रो साधारण प्रयत्न वा कुनै यत्न बिना नै भइरहेको हुन्छ। मानिसहरूले मामुली ठानेका यी विचित्र र अद्भुत कुराहरू तिनै वरदानका भाग हुन् जसलाई हामी जीवन भन्दछौं। वास्तवमा जीवनलाई हामी चमत्कारहरूले भरिएको वरदान भन्न सक्छौं।
मानवको गर्भधारण प्रक्रिया र जन्मलाई नै विचार गर्नुहोस्। सामान्यतः हाम्रो शरीरले त्यस सँग नमिल्ने कुनै पनि बाह्य तन्तुलाई अस्वीकार गर्दछ। तर गर्भाशयले भने गर्भाधान भएको अण्डालाई त्यसो गर्दैन। हुर्कदैं गरेको भ्रूणलाई बाह्य तन्तु ठानेर बहिष्कार गर्नुको सट्टा, पूर्ण शिशु नबनुञ्जेलसम्म त्यसको स्याहार र रक्षा गर्दछ। बाह्य तन्तुलाई परित्याग गर्ने नियमको निर्णायक अपवाद बन्ने गर्भाशयको यो क्षमता नभएको भए शायद मानव जन्म नै असम्भव हुने थियो।
यति भए तापनि गर्भमा भ्रूण चार महिनाको भएको बेलामा हुने विकासहरू नहुँदो हो त, त्यो नवजात शिशुको जीवन छोटो हुने थियो। त्यस बेला गर्भस्थ शिशु आफ्नो मांसपेशीहरू चलाउँदै आफ्नो औंला चुस्न सुरु गर्दछ जसले उसलाई पछि आमाको स्तन चुस्न मद्दत दिन्छ। र जीवनका लागि चाहिने महत्त्वपूर्ण कुराहरूमध्ये यो एउटा मात्र हो जसको प्रबन्ध जन्मनु भन्दा अघि नै भइसकेको हुन्छ।
बच्चा गर्भमै छँदा, उसको मुटुको भित्तामा सानो प्वाल हुन्छ। तथापि त्यो प्वाल बच्चा जन्मदा स्वतः बन्द हुन्छ। साथै बच्चा गर्भमा हुँदा फोक्सो बाहिर रहने एउटा ठूलो रक्त नली बच्चा जन्मदा आफै खुम्चिन्छ; यसले गर्दा रगत अब सजिलै फोक्सोमा जान्छ र बच्चाले पहिलो श्वास फेर्न साथै रगतले अक्सिजन पाउँदछ।
यो सब त सुरुवात मात्र हो। बाँकी जीवनभरि अनेक उत्कृष्ट ढङ्गमा रचिएका प्रणालीहरूले (जस्तो कि श्वासप्रश्वास प्रणाली, रक्त संचार प्रणाली, स्नायु प्रणाली र इन्डोक्राइन प्रणाली) आ-आफ्ना कामहरू अति नै दक्षतासाथ सुचारु रूपमा मिलेर गर्नेछन्। यी प्रणालीहरूलाई बुझ्न नसकेर मानिसहरू अलमल्ल परेका छन्। र लामो समयसम्म जीवन चलिरहनका निम्ति नै यो सब हुँदछ। नभन्दै प्राचीन लेखकले परमेश्वरलाई सङ्केत गर्दै यसो भने: “म तपाईंलाई धन्यवाद दिनेछु। किनकि म भयानक र आश्चर्य रीतिले बनिएको छु। तपाईंका कार्यहरू आश्चर्यका छन्। र ती कुरा मेरो आत्माले राम्ररी जान्दछ।”—भजनसंग्रह १३९:१४.
स्पष्ट छ कि यी सुन्दर शब्दहरूका लेखकले जीवन एउटा अन्धो विकासको संयोग वा कुनै दुर्घटनाको उपज हो भनी विश्वास गर्दैन थिए। जीवन त्यस्ता कुराहरूको परिणाम हुँदो हो त हामीले आफ्नो जीवनलाई कसरी प्रयोग गर्ने हो भन्ने कुरामा हाम्रो कुनै वास्तविक उत्तरदायित्व वा जिम्मेवारी नै हुने थिएन। तथापि, जीवनका प्रक्रियाहरू बाट हामी जीवन स्पष्टतया एउटा रचना हो भन्ने कुरा बुझ्दछौं र कुनै पनि रचनाका लागि रचनाकारको आवश्यकता पर्दछ। यस सिद्धान्तलाई बाइबलले यसरी प्रतिपादित गरेको छ: “किनभने हरेक घर कुनै न कुनै मानिसबाट बनिएको हुन्छ, तर सबै थोक बनाउने त परमेश्वर नै हुनुहुन्छ।” (हिब्रु ३:४) यसकारण “परमप्रभु नै परमेश्वर हुनुहुन्छ” र “उहाँले नै हामीलाई बनाउनु भएको हो” भनेर स्वीकार गर्न हाम्रा लागि अति नै आवश्यक छ। (भजनसंग्रह १००:३) हो, जीवन कुनै सुन्दर दुर्घटनाको परिणाम होइन; यो ता स्वयं परमेश्वरको उपहार हो।—भजनसंग्रह ३६:९.
यसो भए, जीवनदाता प्रति हाम्रो के कर्तव्य छ त? हामीले कसरी जीवन बिताएको उहाँ चाहनुहुन्छ? यी प्रश्नहरू र यस सँग सम्बन्धित अन्य प्रश्नहरू आगामी लेखमा विचार गरिनेछन्। (w92 8/1)