कमजोर हुँदै गइरहेको वैवाहिक बन्धन
एकजना जवान आमा आफ्नो दुई महिने बालकलाई सुमसुमाइरहेकी थिइन्। तर अचानक आवेशमा आएर तिनले त्यस बालकलाई भुँइमा खसालिन्। यसको केही घण्टापछि त्यस बालकको मृत्यु भयो। “मैले जानाजानी त्यसलाई भुइँमा खसालेकी हुँ, किनभने मेरो पतिलाई आफ्नो परिवारको अलिकता पनि पर्वाह छैन,” बालकको आमाले भनिन्। आफ्नो पतिसँग बसेर कुरालाई खुलस्त पार्नुको सट्टा त्यस निर्दोष बालकमाथि तिनले आफ्नो रीस पोखाइन्।
कमै आमाहरू त्यस हदसम्म पुग्छन् तर धेरैले भने उनी जस्तै अनुभव गर्छन्। आफ्नो वैवाहिक जीवनलाई सफल बनाउन विवाहित दम्पतीहरूलाई झन् झन् कठिन हुँदै गइरहेको छ। जर्नल अफ मैरिज एण्ड द फैमली भन्ने पत्रिकाले यसो भन्छ: “संयुक्त राष्ट्र अमेरिकामा जस्तो आज वैवाहिक जीवनको सफलता अति कम भएको अवस्थामा अनर्थक वैवाहिक वाचा बाँध्नु . . . यति हानिकारक छ कि कुनै पनि समझदार मानिसले त्यसो गर्नेछैन।”
यस्तो भद्रगोल संसारमा अनैतिकता, अमेल, ऋण, सासू-बुहारी बीचको कचिङ्गल र स्वार्थ जस्ता कुराहरूले गृह-कलहलाई बढाउँछ, जुन कुरा चर्कदैं गएर अन्ततः पारपाचुकेमा टुङ्गिन्छ। जापानमा स्थिति यति गम्भीर भइसकेको छ कि पारपाचुकेको विरूद्धमा बलियो अडान लिने भनी नाम चलेको क्याथोलिक गिर्जाले समेत पारपाचुके गर्ने र पुनःविवाह गर्ने आफ्ना सदस्यहरूमाथि भेद-भाव नहोस् भन्नाका लागि एउटा विशेष समितिको गठन गर्नु परेको छ। गिर्जा धाउने निकै मानिसहरू पारपाचुकेसँग सम्बन्धित समस्याहरूले प्रभावित भएका छन्।
तथापि, पारपाचुकेको संख्याले त्यस समस्याको एक छेउमात्र देखाउँछ। संयुक्त राज्य अमेरिकामा गरिएको अनुसन्धान अनुसार पारपाचुके बढ्दै जानुको कारण, सामाजिक चलनले गर्दा पारपाचुके गर्न सजिलो भएकोले होइन तर ह्रास हुँदै गइरहेको वैवाहिक जीवन स्तर हो। कम प्रयास र कम वचनवद्धताले गर्दा वैवाहिक जीवनप्रतिको आकर्षण कम हुँदैछ। धेरैजना व्यक्तिहरू बाहिर अरूहरूको सामने विवाहित दम्पती झै देखा पर्छन् तर एकसाथ रात बिताउँदैनन् र आपसमा ज्यादै कम कुराकानी गर्छन्। आफ्नो लाश अलग्गै गाड्न जमिन किन्ने एक जना एशियाली स्त्रीलेझैं केही स्त्रीहरू अनुभव गर्छन्, तिनले यसो भनिन्, ‘म मेरो पतिको चिहानमा गाडिन चाहन्न।’ आफ्नो पतिसँग पारपाचुके गर्न असमर्थ भएकी ती स्त्री आफ्नो मृत्यु पश्चात् भएपनि पारपाचुके गर्न चाहन्छिन्। दुःख लाग्दो कुरो, यस्ता व्यक्तिहरूको पारपाचुके नभएको भए तापनि वैवाहिक जीवन तिनीहरूका लागि आनन्दको स्रोत भएको छैन।
इसाओलाई पनि त्यस्तै भएको थियो। तिनले लहडमा आएर विवाह गरेका थिए त्यसकारण आफ्नो ऐयासी जीवनलाई परिवर्तन गर्ने तिनले कुनै आवश्यकता महसुस गरेनन्। ट्रक ड्राइभरीको कामबाट राम्रो आम्दानी हुने भए तापनि तिनले आफ्नो पैसा जति जम्मै खानु र पीउनुमै उडाइदिन्थे र परिवारको वास्तै गर्दैनथे। नतिजा स्वरूप पत्नीसँग झगडा नभएको कुनै दिनै हुँदैन थियो। इसाओ आफ्ना पुराना दिनहरूलाई याद गर्दै यसो भन्छन्, “आफूले भने जस्तो कुनै कुरा भएन कि म आफ्नो घरमा गएर परिवारमाथि रीस पोखाउँथे।” शान्त नहुने ज्वालामुखीझैं, हरेक दिन पारपाचुके गर्ने कुरा उठिरहन्थ्यो।
धेरै पुरुष र स्त्रीहरू असन्तुष्ट विवाहद्वारा पीडित छन्। पारपाचुके गरे वा नगरे तापनि तिनीहरूले आनन्द पाइरहेका छैनन्। तिनीहरूको विवाहलाई सफल बनाउने कुनै तरिका छ कि? तिनीहरूको वैवाहिक बन्धनलाई बलियो बनाउन के गर्न सकिन्छ? (w93 8/15)