पाठकहरूका प्रश्नहरू
प्रेरित पावलले रोमी ९:३-मा यसो भनेर लेखे: “मेरा भाइहरू, अर्थात् शरीरअनुसारका कुटुम्बहरूका खातिर ख्रीष्टबाट म आफै श्रापित थोक भएको भए पनि हुनेथियो!” के यहाँ तिनले सङ्गी यहूदीहरूलाई बचाउन आफ्नो प्राण बलिदान दिनेछु भनी भन्न खोजेका हुन्?
येशूले प्रेमको एउटा अत्युत्तम उदाहरण बसाल्नु भयो। पापी मानवजातिको निम्ति उहाँ आफ्नो प्राण वा जीवन समेत अर्पण गर्न तयार हुनुहुन्थ्यो। यथासम्भव बढी यहूदीहरूले छुटकाराको बलिदानबाट फाइदा उठाओस् भनेर उहाँले आफ्नो जन सेवकाईको दौडान आफूलाई आफ्नो देशवासी—अर्थात् यहूदीहरूको सेवामा लगाए। (मर्कूस ६:३०-३४) मुक्तिको समाचारतर्फ तिनीहरूले देखाएको भावशून्यता र विरोधले यहूदी मानिसहरूप्रति येशूको मायालु चिन्तालाई कहिल्यै कम गर्न सकेन। (मत्ती २३:३७) र “उहाँको पाइलामा टेकेर हिंडनालाई” उहाँले हाम्रो निम्ति “एक उदाहरण” छाड्नुभयो।—१ पत्रुस २:२१.
येशूले देखाउनु भएको प्रेमको उदाहरणलाई के असिद्ध मानिसहरूले पछ्याउन सक्छन्? सक्छन्, र हामी यसको उदाहरण प्रेरित पावलमा देख्नसक्छौं। सङ्गी यहूदीहरूप्रति तिनी यति चिन्तित थिए कि तिनीहरूप्रतिको प्रेमको कारण तिनीहरूको खातिर “ख्रीष्टबाट म आफै श्रापित थोक भएको भए पनि हुनेथियो” भनेर तिनले भने।
आफ्नो कुरालाई जोड दिन पावलले यहाँ कुरालाई बढाइ-चढाई भने अथवा अत्युक्तिको प्रयोग गरे। मत्ती ५:१८-मा पनि येशूले यस्तै गर्नुभएको थियो, त्यहाँ उहाँले यसो भन्नुभयो: “म तिमीहरूलाई साँचो भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी बितिजाँदैन, तबसम्म सबै कुरा पूरा नहोउञ्जेल कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा विन्दु बितिजानेछैन।” स्वर्ग र पृथ्वी बितिजानेछैन भनेर येशूलाई थाहा थियो। त्यस्तैगरी, न पावल श्रापित हुनेथियो न सबै यहूदीहरूले मसीही धर्मलाई स्वीकार्ने नै थिए। तर पावलले के भन्न खोज्दै थिए भने, येशू ख्रीष्टद्वारा परमेश्वरले दिनु हुने उद्धारको प्रबन्धबाट यहूदीहरू लाभान्वित होस् भनेर मदत गर्न तिनी जे गर्न पनि तयार थिए। यसैकारण त सङ्गी मसीहीहरूलाई प्रेरितले यसो भनेर प्रोत्साहन दिनसके: “म ख्रीष्टमा भएझैं तिमीहरू पनि मेरो देखा-सिकी गर्ने होओ।”—१ कोरिन्थी ११:१.
अविश्वासीहरूका निम्ति येशू र पावलसँग भए जस्तै चिन्ता आज मसीहीहरूसँग हुनुपर्छ। हामीले साक्षी दिने क्षेत्रमा भेटेका मानिसहरूले देखाएको चासोको कमी वा तत्कालीन विरोधले, छिमेकीहरू प्रतिको हाम्रो प्रेम र मुक्तिको मार्ग सिक्न तिनीहरूलाई मदत गर्ने हाम्रो जोशलाई कहिल्यै दब्न दिनु हुँदैन।—मत्ती २२:३९. (w93 9/1)