राज्य प्रचारकहरूको रिपोर्ट
बाइबल सच्चाइको कारण परिवार एकत्रित
आज संसारका धेरै स्थानहरूमा पारिवारिक एकता अतीतको कुरा भइसकेको छ। तथापि, बाइबलले पारिवारिक एकताको रहस्य प्रकट गर्छ। येशूका यी शब्दहरूमाथि एक छिन विचार गर्नुहोस्: “जसले मेरा यी वचनहरू सुन्छ र गर्छ, म एउटा बुद्धिमान मानिससित त्यसको तुलना गर्छु, जसले आफ्नो घर चटानमाथि बनायो।” (मत्ती ७:२४) यी शब्द पालन गरेर अनि बाइबललाई एकत्रित परिवारको आधारशिला बनाएर यहोवाका साक्षीहरू बीचका हजारौं परिवारहरूले पारिवारिक एकता पाएका छन्। र अरूले पनि त्यस्तो एकता प्राप्त गर्दैछन् भनेर निम्न अनुभवले पुष्टि दिन्छ:
फ्रान्सको सैन्य सेवामा काम गर्दा दानियललाई सेनाको पादरीले बाइबल किन्ने सल्लाह दिएको थियो। तिनले त्यसै गरे अनि नियमित रूपमा त्यसलाई पढ्न थाले। पछि तिनी टाहिटीमा सरुवा भए। दानियलका केही सङ्गी सेनाहरू आड्भेन्टीस र अरू चाहिं मोरमन पन्थीका थिए। त्यसैकारण तिनीहरूको वार्तालापले प्रायः धार्मिक मोड लिन्थ्यो। एक दिन सेनाका प्रमुख अधिकारीले दानियललाई आफ्नी पत्नीसित परिचित गराए। तिनी यहोवाका साक्षी थिइन्। त्यस दिन तिनले दिनभरि दानियलका थुप्रै प्रश्नहरूको उत्तर दिइन् अनि टाहिटीस्थित यहोवाका साक्षीहरूको स्थानीय मण्डलीसित सम्पर्क पनि गराइन्। केही समयपछि दानियलले नियमित बाइबल अध्ययन सुरु गर्न थाले।
उता फ्रान्समा दानियलका आमाबाबु इमानदार क्याथोलिकहरू थिए। दानियलको बाबु विद्यार्थीहरूका सल्लाहकार थिए र तिनलाई क्याथोलिक स्कूलमा धार्मिक शिक्षा दिने जिम्मा दिइएको थियो। आफ्नो आमाबाबुसँग आफूले पाएको आध्यात्मिक ज्ञान बाँड्न दानियलले चिट्ठीमा बाइबलका केही विचारहरू घुसाउन थाले।
सुरु सुरुमा दानियलकी आमा खुशी थिइन् तर पछि आफ्नो छोरोको चिट्ठीमा यहोवा नाउँ भेट्टाउँदा तिनी स्तब्ध भइन्। झन् यसको केही दिनपछि एउटा रेडियो कार्यक्रममा यहोवाका साक्षीहरूलाई “खतरनाक सम्प्रदाय” को रूपमा प्रस्तुत गरिएको तिनले सुनिन्। त्यसपछि दानियललाई तुरुन्तै साक्षीहरूसित सबै सम्पर्क तोड्न तिनले पत्र लेखिन्। तथापि, दानियलले बाइबल अध्ययनमा उन्नति गर्दै गए र केही समयभित्र सैन्य सेवालाई छोडेर फ्रान्स फर्कने प्रबन्ध पनि मिलाए।
घर पुग्ने बित्तिकै दानियलले हरेक साँझ र कहिलेकाहीं आधा रातसम्म आफ्नी आमासँग बाइबलको लामो छलफल गर्न थाले। अन्ततः तिनकी आमा राज्य भवन जान राजी भइन्। पहिलो चोटि सभा धाउँदा तिनी साह्रै प्रभावित भइन् र तुरुन्तै नियमित बाइबल अध्ययन गर्न थालिन्। तिनले छिटो-छिटो प्रगति गरिन् र केही समयभित्रै बप्तिस्मा पनि लिइन्।
दानियलको बाबु सहिष्णु व्यक्ति थिए तर आफ्नो पेशा अनि धार्मिक क्रियाकलापमा भने निकै समर्पित थिए। तापनि एक पटक तिनले आफ्नी पत्नी अनि छोरालाई गाडीमा राखेर जिल्ला सम्मेलन हुने स्थानसम्म पुऱ्याइदिए। त्यो जुलाई १४ को दिन थियो। त्यसकारण तिनले शहरमा गएर बास्टिल दिवसको परेड हेर्ने विचार गरेका थिए। तर त्यहाँ पर्खुञ्जेल कौतुहलतावश तिनलाई सम्मेलन भवनभित्र गएर हेर्न इच्छा लाग्यो। भवनभित्र यहोवाका साक्षीहरूबीचको सुव्यवस्था अनि शान्ति देखेर तिनी प्रभावित भए अनि सम्मेलनको विभिन्न विभागहरू घुम्दै जाँदा हरेकले तिनलाई “भाइ” भनेर सम्बोधन गरेछ। यो देखेर तिनले बास्टिल दिवसको परेड हेर्न जान भुसुक्कै बिर्सेछ र सम्मेलन नसकुञ्जेल दिनभरि त्यहीं बसे। तिनले बाइबल अध्ययनका लागि आग्रह पनि गरे र सच्चाइ सिक्ने काममा छिटो-छिटो उन्नति गर्न थाले। तथापि, जति सिक्दै गए उति तिनलाई आफ्नो पेशादेखि अप्ठ्यारो महसुस हुन थाल्यो। अतः ५८ वर्षको उमेरमा तिनले आफ्नो जागिर छोडिदिए। अहिले यस परिवारका तीनै जना सदस्यले समर्पण गरेर बप्तिस्मा लिइसकेका छन् र एकताबद्ध भएर यहोवाको सेवा गर्दैछन्।
दानियलको परिवारलाई एक बनाउने तत्त्व बाइबलको सत्य थियो। यसैगरि अरू परिवारहरूले पनि हृदयदेखि बाइबलको सच्चाइलाई सिकेमा अनि पालन गरेमा तिनीहरू पनि एक हुनसक्छन्। (w94 4/1)