राशि—ज्योतिषशास्त्रसित यसको सम्बन्ध
सूर्य वरपर पृथ्वीको कक्षको दुवैतिर नौ डिग्रीको कोणमा पृथ्वीबाट देखिने ताराहरूको पंक्तिलाई राशि भनिन्छ। यहूदाका राजा योशियाहबारे २ राजा २३:५ यसो भन्छ: “तिनले यहूदाका शहरहरूमा र यरूशलेमको छेउछाउका डाँड़ा डाँड़ामा भएका पूजाथानमा धूप बाल्ने नियुक्त भएका र बाललाई औ घाम, जुन, नक्षत्र र आकाशका तारा-मण्डलका निम्ति धूप बाल्नेहरूलाई दमन गरिदिए।” यहाँ उद्धरित “नक्षत्र” हिब्रू शब्द माजालोथ-बाट लिइएको हो। यो बाइबलमा एक चोटि मात्र उल्लेख गरिएको भए तापनि अय्यूब ३८:३२ मा प्रयोग गरिएको माजारोथ-सित सम्बन्धित हुन सक्छ। यसको सन्दर्भ बुझ्नाले अर्थ स्पष्ट पार्न मदत मिल्छ।
तथाकथित राशि क्षेत्र खोजेको श्रेय साधारणतया प्रारम्भिक बेबिलोनीहरूलाई दिइन्छ। तिनीहरूले निस्सन्देह अहिले ग्रहण मार्ग भनिने सूर्यको वार्षिक मार्गमा ध्यान दिएका थिए। पृथ्वीबाट हेर्दा ग्रहण मार्गको दुवैतिर ९ डिग्रीसम्म फैलिएको १८ डिग्री फराकिलो क्षेत्र खगोलविदहरूले देख्न सक्थे। तथापि, सा.यु.पू. दोस्रो शताब्दीतिर मात्रै एक युनानी खगोलविदले राशिलाई प्रत्येक ३० डिग्री हुने गरी १२ भागमा बराबर विभाजन गरे; यी भागहरू राशि चिन्ह भनिन थालिए र सम्बन्धित तारामण्डलको नामाकरण गरियो। “राशि” युनानी शब्दबाट लिइएको हो र त्यसको अर्थ “जनावरहरूको घेरा” हो। किनभने अधिकांश राशि चिन्हहरू प्रायजसो १२ तारामण्डल सुरुमा जनावर र मत्स्य प्राणीहरूबाट नामाकरण गरिएका थिए।
सुरुमा नामाकरण गरिएका तारामण्डलहरूसित यी चिन्हहरू आज मेल खाँदैनन्। यो विषुवत्रेखाको अग्रगति भनी चिनिने प्रक्रियाले गर्दा हो। परिणामस्वरूप चक्र पूरा हुन २६,००० वर्ष लाग्ने प्रक्रियाअन्तर्गत प्रत्येक ७० वर्षमा तारामण्डलहरू बिस्तारै एक डिग्रीको कोणमा पूर्वतिर ढल्कन्छन्। त्यसकारण गत २,००० वर्षमा मेष राशि लगभग ३० डिग्री ढल्केर मीन राशितिर सऱ्यो।
ज्योतिषशास्त्रसित सम्बन्ध
प्रारम्भिक मेसोपोटामियाली समयदेखि राशि चिन्हका तारामण्डलहरू झूटो उपासनाका वस्तुहरू बनाइएका छन्। प्रत्येक तारामण्डलसित खास गुणहरू जोडियो। अनि कुनै निश्चित समयमा राशि चिन्हसित आकाशीय पिण्डहरूको सम्बन्ध वा स्थानको आधारमा भविष्यवाणीहरू गर्न ज्योतिषीहरूले यी राशि चिन्हहरूको प्रयोग गर्थे। माथि उल्लिखित पद २ राजा २३:५ ले देखाएझैं केही राजाहरूले देश भित्राएका विदेशी-देवका पूजाहारीहरूले त्यस्तो ज्योतिषविद्या यहूदामा थालेका थिए। ताराहरूको त्यस्तो उपासना गर्नु मृत्युदण्ड योग्य हुन्छ भनी यहोवा परमेश्वरले धेरैअघि त्यो निषेध गर्नुभएको थियो।—व्यवस्था १७:२-७.
ज्योतिषशास्त्र बेबिलोनी उपासनाको महत्त्वपूर्ण पक्ष थियो। तर आफ्ना ज्योतिषीहरूको राशिमा आधारित भविष्यवाणीहरूले बाबेललाई नाशबाट जोगाउन सकेन। बरु, त्यस्तै हुनेछ भनी अगमवक्ता यशैयाले सही अग्रिमवाणी गरेका थिए।—यशैया ४७:१२-१५.
आधुनिक समयमा राशि चिन्हहरूले थुप्रै मानिसहरूको उपासनामा महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ। चाखलाग्दो कुरा, राशि चिन्हहरूले मसीहीजगतका केही धार्मिक चर्चहरूमा प्रवेश गरे। आज ती चिन्हहरू प्यारिसको नट्री डम चर्चका साथै फ्रान्सका एमियन्स तथा चार्टस चर्चहरूमा पाइन्छन्।