राज्य प्रचारकहरूका रिपोर्ट
परमेश्वरका जनहरू स्वेच्छापूर्वक अघि बढ्छन्
उनको नाउँ जोसेफ थियो। उनी साइप्रस टापुका निवासी थिए। आफ्नो घर-खेत बेचेर मसीही धर्मको विस्तारलाई आर्थिक सहयोग पुऱ्याउने प्रथम शताब्दीका मसीहीहरूमध्ये उनी एक जना थिए। उनको न्यानो हृदय र उदार भावको कारण उनको नाउँ बर्णाबास अथवा “शान्तिको छोरो” राखियो।—प्रेरित ४:३४-३७.
यसरी अरूहरूमा हार्दिक रुचि लिनु यहोवाका उपासकहरूको सधैं नै एउटा विशेषता रहेको छ। यस मामिलामा यहोवाका साक्षीहरू आज पनि भिन्न छैनन् भन्ने कुरा सलोमन टापुहरूबाट आएको निम्नलिखित अनुभवद्वारा प्रदर्शित हुन्छ:
अस्ट्रेलिया र न्यु जीलैन्डबाट सलोमन टापुहरूको राजधानी ग्वाडेलकनालमा स्थित होनियारा शहरमा करीब ६० साक्षीहरूको एक टोली गएको थियो। यी साक्षीहरू त्यहाँ ठूलठूला मसीही सम्मेलनहरूका लागि सम्मेलन गृह निर्माण गर्ने काममा मदत दिन आएका थिए। करीब १,२०० जना बस्न सक्ने सम्मेलन गृह त्यहाँ खडा गर्न तिनीहरूलाई केही दुई हप्ता मात्र लाग्यो।
प्रायः यसै बेला न्यु जर्जिया टापुको मुन्डा नामक साना शहरका अधिकारीहरूले यहोवाका साक्षीहरूलाई शहरको बीच मै एक टुक्रा जग्गा बकस दिए। त्यहाँका साक्षीहरू पनि एउटा राज्य सभा गृह अथवा उपासना केन्द्र बनाउन इच्छुक थिए। यसको तिनीहरूलाई ठूलो खाँचो थियो। तिनीहरू पातहरूले बनेको सानो घरको बैठक कोठामा भेला हुने गर्थे। राज्य सभा गृह बनाउने तिनीहरूसित केही साधन थिएन।a मण्डलीमा धेरैजसो बूढापाका, बिरामी तथा केटाकेटीहरू मात्र थिए। निर्माण कार्यमा अनुभवप्राप्त त्यहाँ कोही थिएन।
यहाँभन्दा करीब ३८० किलोमिटर टाढा ग्वाडेलकनाल टापुको होनियारा शहरका साक्षीहरूले मदत गर्ने स्वेच्छा प्रकट गरे। (भजन ११०:३) तिनीहरूको सोचाइ यसप्रकार थियो। “अरू देशका भाइहरू आएर हाम्रालागि दुई हप्ताभित्र सम्मेलन गृह बनाइ दिन तयार भए भने मुन्डाका हाम्रा भाइहरूका लागि हामी पनि एउटा राज्य सभा गृह दुई हप्तामा निश्चय बनाइ दिनसक्छौं।”
र त्यस्तै भयो पनि। इच्छुक र हँसमुख साक्षी स्वंयसेवकहरूले भरिभराउ एउटा डुङ्गा एक दिन मुन्डामा आइ पुग्यो। के पुरुष, के महिला, के जवान, के बूढा, सबै नै डुङ्गाबाट मालसामान उतार्न व्यस्त भए। यी स्वयं-सेवकहरू आउनुभन्दा पहिले नै मुन्डामा आइ पुगेका काठ, सिमेन्ट, छानामा लाउने फलाम र अन्य निर्माण सामग्रीहरू चलाउँदै तिनीहरू निर्माण कार्य सुरु गर्न तम्तयार भए।
तर काम सुरु हुनासाथै ठूलो आँधीबेह्री आएर शहरको जल व्यवस्थालाई भताभुङ्ग पारी दियो। तापनि यो कठिनाइ समाधान गर्न नसकिने समस्या हुन पाएन। साक्षीहरूले इनार खने र सम्पूर्ण निर्माण कार्यलाई पुग्दो पानी उपलब्ध भयो। त्यहाँ काम गर्नेहरूका लागि खाने कुरा नि? त्यो पनि कुनै समस्या थिएन। होनियाराबाट आउने स्वयं-सेवकहरूले होनियाराका मण्डलीहरूले दिएको प्रशस्त मात्रामा खाने कुरा आफ्नो साथमा लिएर आएका थिए। तिनीहरूसित खाना पकाउने भान्सेहरू समेत आएका थिए।
निर्माण कार्य अघि बढ्दै जाँदा छिमेकीहरू जिल्ल परेर हेर्दै बसे। एक जनाले यसो भने: “यस्तो काम गर्न यहाँ दिन होइन सालौं साल लाग्छ।” एउटा अर्को छिमेकी अथवा धार्मिक अगुवाले उनको गिर्जा निर्माण गर्न थालेको अब २० वर्ष भइसक्यो तर काम अहिलेसम्म सिद्धिएको छैन भनी गुनासो गरे। तर त्यसको ठीक विपरीत मुन्डामा यहोवाका साक्षीहरूको राज्य सभा गृह मात्र १० दिन मै तयार भयो!
[फुटनोट]
a पातहरूले बनेको घर, झाडीहरू अथवा जङ्गलबाट काटेर ल्याएका सामग्रीहरूले बनेको हुन्छ। लामालामा काठ तथा लट्ठीहरूले घरका खामाहरू बनेका हुन्छन्। छाना र पर्खालहरूलाई चाहिं काठका टुक्राहरूमाथि दोबारिएका तथा लताहरूले सिएका खजुरका पातहरूले छाउँछन्।
[पृष्ठ २४-मा भएको नक्सा]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
दक्षिण प्रशान्त महासागर
सलोमन टापुहरू
मुन्डा
ग्वोडेलकनाल
होनियारा
[नक्सा]
अस्ट्रेलिया
न्यु जीलैण्ड