राज्य प्रचारकहरूका रिपोर्ट
केटा-केटीहरू अफ्रिकामा सुसमाचार घोषणा गर्छन्
येशूको पुनरुत्थानको केही समयपश्चात् एक जना अफ्रिकी मानिस यरूशलेमतर्फ जाँदैथिए। बाइबलमा तिनको नाउँ दिइएको छैन। तिनी केवल “एथियोपिया देशको महारानी कन्दाकीका ठूला अख्तियारवाला खजाञ्ची, एक नपुंसक[को]” हैसियतले चिनिन्छ। तर बाइबलमा किन तिनको उल्लेख गरियो? किनभने तिनलाई “येशूको सुसमाचार” घोषणा गर्न एक जना स्वर्गदूतले मसीही प्रचारक फिलिपलाई निर्देशित गरिएको थियो। यो एथियोपियाली मानिस मसीही मण्डलीको सदस्यको रूपमा रिकर्ड हुने पहिलो अफ्रिकी थिए।—प्रेरित ८:२६-३९.
आज अफ्रिकामा यहोवाका लाखौं साक्षीहरू छन्। येशूको सुसमाचार सुनाउन तिनीहरू हर अवसरको उपयोग गर्छन्। अफ्रिकाका केटा-केटीहरूले समेत यो काममा योगदान दिएका छन् भनेर निम्न अनुभवले देखाउँछ।
◻ नाइरोबी, केन्याका ११ वर्षिया स्याण्डी र प्रिया छिमेकीहरू थिए। तिनीहरू सँगै खेल्न र कथा कितापहरू साटासाट गर्न रमाउँथे। प्रियाको आमा-बाबुले यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गर्न थाले। अब भने प्रियाले आफूलाई सबैभन्दा मनपर्ने पुस्तक, वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित लिसनिंग टु द ग्रेट टिचर-लगायत (महान् शिक्षकको कुरा सुन्ने) अन्य थुप्रै नयाँ कितापहरू जम्मा गर्न सक्थिन्। तिनले ग्रेट टिचर (महान् शिक्षक) पुस्तक आफ्नो मित्र स्याण्डीलाई देखाइन् र यी दुइ केटीहरूले नियमित तवरमा अध्ययन गर्न थाले।
तथापि, स्याण्डीकी आमा युना, एंगलिकन चर्च धाउँथिन् र आफ्नी छोरीले यहोवाका साक्षीहरूको पुस्तक पढेको मन पराउन्न थिइन्। तर आमाको विरोधको बावजूद अध्ययन कायमै रह्यो। एक दिन स्याण्डीले एक पटक मात्र भए पनि उनीहरूको छलफल सुनिदिन आफ्नी आमालाई बिन्ती गरिन्। ती केटीहरूले पढिरहेको अध्यायको शीर्षक “जन्मोत्सव मनाउने दुइ मानिसहरू” थियो। युनाले सुनिन् र साह्रै प्रभावित भइन्। त्यसपछि तुरुन्तै प्रियाकी आमालाई भेटेर बाइबलसम्बन्धी थुप्रै प्रश्नहरू सोध्न थालिन्।
युनासँग अध्ययन गर्न प्रियाकी आमाले अर्कै एक जना साक्षीसँग प्रबन्ध मिलाइन्। केही समयभित्र युना आफूले सिक्दै गरेका कुराहरू आफ्नी सहकर्मी डलीलाई बताउन थालिन्। त्यसबीच ११ वर्षिया प्रियाले निरन्तर प्रगति गरिन् र यहोवाका साक्षीहरूको जिल्ला अधिवेशनमा पानीको बप्तिस्माद्वारा यहोवाप्रति आफ्नो समर्पणलाई प्रतीकात्मक रूप दिने निधो गरिन्। त्यही सम्मेलनमा युना र डलीले बप्तिस्मा लिंदा प्रिया असाध्यै खुशी भइन्!
◻ कुनै कुनै अफ्रिकी देशहरूमा यहोवाका साक्षीहरूको काम दर्ता भएको छैन। त्यस्तै एउटा मुलुकमा साक्षीहरूको धार्मिक क्रियाकलाप तथा विश्वासलाई सामान्यतया छुट छ। यसै मुलुकको एउटा स्कूलमा सात वर्षीय केटा र तिनको छ वर्षीय भाइ साक्षीहरूका छोराहरू थिए। तिनीहरूलाई धार्मिक प्रार्थनाको दौडान कक्षा कोठामा उपस्थित हुनु नपर्ने छुट दिइएको थियो।
एक दिन एउटा नयाँ शिक्षकले ती दुइ जना केटाहरूलाई अरू केटा-केटीहरूसँगै प्रार्थनामा सामेल हुने आज्ञा दिए। जेठो चाहिंले त्यसो गर्न इन्कार गरे र शिक्षकको हातबाट पिटाइ खाए। तर तिनको भाइ, छ वर्षीय शद्रकले प्रधानाध्यापकलाई तिनको कार्यालयमा भेट्न जिद्दी गरे। प्रधानाध्यापक र त्यो नयाँ शिक्षकले तिनी किन अरूसँग सामेल हुन चाहदैंनन् भनी सोधे। आमा-बाबुले पिट्ला भन्ने डरले नगरेको हो कि भनेर तिनीहरूले प्रश्न गरे। शद्रकले एकदम राम्रो अरबी भाषामा यस्तो जवाफ दिए: “होइन, मैले उपासना गर्ने परमेश्वर गोलमालको हुनुहुन्न तर व्यवस्थित परमेश्वर हुनुहुन्छ। त्यसैकारण घरमा यहोवाका साक्षी र स्कूलमा अर्कै धर्म मान्ने मानिस म हुन सक्तिनँ!” नतिजा? तिनीहरूले ती प्रार्थनाहरूमा उपस्थित हुनु नपर्ने अनुमति पाए।
प्रेरितको पुस्तकमा उल्लिखित एथियोपियाली मानिस बप्तिस्मा लिएपछि “रमाई रमाईकन आफ्नो बाटो लागे।” (प्रेरित ८:३९) त्यस्तैगरि आज अफ्रिकाजस्तो ठूलो महादेशका राज्य प्रचारकहरू ‘येशूको सुसमाचार बताउने’ सुअवसर पाएकोमा रमाउँछन्।—प्रेरित ८:३५.