राज्य प्रचारकहरूका रिपोर्ट
“तिनीहरूले . . . सुसमाचार सुनाउन बन्द गरेनन्”
येशू ख्रीष्ट तथा उहाँका प्रेरितहरूको समयदेखि धार्मिक नेताहरूले यथासम्भव हर उपाय रचेर परमेश्वरको राज्यको सुसमाचार प्रचार-कार्यलाई रोक्ने कोसिस गरेका छन्। यरूशलेमका स्थानीय अख्तियारवालाहरूले प्रेरितहरूलाई “येशूको नाउँमा नबोल्नू” भनी बारम्बार कड़ा “आज्ञा” दिए। (प्रेरित ५:२७, २८, ४०) तर त्यसको बावजूद “परमेश्वरको वचन बढ़दै गयो, र चेलाहरूको संख्या यरूशलेममा अत्यन्तै बढ़यो” भनेर बाइबलको विवरणले बताउँछ।—प्रेरित ६:७.
यसको दुइ हजार वर्षपछि पनि हामी इस्राएलमा अझै त्यस्ता धार्मिक नेताहरू पाउँछौं जो स्थानीय अख्तियारवालाहरूलाई उस्काएर त्यस देशका साँचो मसीहीहरूको काममा बाधा पुऱ्याउने कोसिस गर्छन्। उग्रवादी धार्मिक तत्त्वहरूको दबाबमा परेर टेल अभिभ, इस्राएलका स्थानीय अख्तियारवालाहरूले नोभेम्बर १९८७ मा साक्षीहरूलाई वाच टावर सोसाइटीको शाखा कार्यालयस्थित राज्य भवनमा मसीही सभाहरू बन्द गर्ने आदेश दिए। यो बन्द आदेश अक्टोबर १९८९ देखि लागू भयो। आदेशअनुरूप साक्षीहरूले आफ्नो राज्य भवन प्रयोग नगरेर त्यही इलाकामा घर भाडामा लिएर सभाहरू सञ्चालन गरे।
तर त्यसबीच यो कुरालाई लिएर इस्राएली सर्वोच्च अदालतमा उजुरी गरियो। महान्यायाधिवक्ताको कार्यालयले साक्षीहरूद्वारा पेश गरिएको उजुरी पुनरावृत्ति गऱ्यो र साक्षीहरूलाई दिएको आदेश सुस्पष्ट धार्मिक पूर्वाग्रहमा आधारित भएकोले साक्षीहरूको पक्षमा न्याय छ भनी घोषणा गरे। यसप्रकार, स्थानीय अख्तियारवालाहरूले आफ्नो निर्णय परिवर्तन नगरि धरै पाएनन्। यहोवाका साक्षीहरू खुशीसाथ फेरि आफ्नो राज्य भवन फर्के।
के ती वर्षहरूमा बाइबल सच्चाइहरूको प्रचार-कार्यमा कुनै किसिमको सुस्ती आयो? अहँ, पटक्कै आएन! राज्य भवन बन्द गर्ने आदेश दिंदा टेल अभिभमा दुइवटा मण्डली अनि लड नाउँ गरेको नजीकैको शहरमा छुट्टै बाइबल अध्ययन समूह थियो। तर तीन वर्षपछि राज्य भवन पुनः खोलिंदा यहोवाका साक्षीहरूका चार मण्डली र बिरसेबामा एउटा नयाँ बाइबल अध्ययन समूह स्थापित भइसकेको थियो।
इस्राएलको वृद्धि केवल मुख्यभाषी समूह अरबी र हिब्रूमा मात्र सीमित छैन। पहिलेको सोभियत संघबाट धेरै मानिसहरू इस्राएलमा बसाइँ सरेका छन्। अतः रूसी भाषा बोल्ने साक्षीहरू अहिले तिनीहरूलाई सुसमाचार सुनाउन व्यस्त छन्। तीनवटा मण्डलीहरूमा रूसी भाषामा केही सभाहरू सञ्चालन हुन्छन्; हालै सम्पन्न रूसी सम्मेलनमा सयभन्दा बढी मानिसहरू उपस्थित भएका थिए।
निस्सन्देह, पूर्वाग्रह राख्ने धर्मपन्थीहरूले साँचो उपासना विरुद्ध आफ्नो अभियान जारी राख्नेछन्। तर राज्य प्रचारकहरूले प्रथम शताब्दीका मसीहीहरूको अनुकरण गर्न बन्द गरेका छैनन्। विरोधको बाबजूद “येशूनै ख्रीष्ट हुन् भन्ने सुसमाचार सुनाउन बन्द गरेनन्।”—प्रेरित ५:४२.