निर्दोष व्यक्तिहरूको निम्ति छुटकारा
के टाकेटीहरूलाई विधिपूर्वक बलिदान चढाउनु—यो मानिसले गरेका सबैभन्दा घृणित अपराधहरूमध्ये एक हो। केही मानिसहरूको सोचाइमा त्यस्तो घोर अत्याचार भएको हुनै सक्दैन। तर फोनिसी उपासनाको यस चिनारीलाई असंख्य पुरातात्त्विक उत्खननहरूले पुष्टि गरेका छन्।
कुलीन घरानाका केटाकेटीहरू टानिट र बाल-हामोनजस्ता देवहरूका निम्ति आगोमा बलिदानसरह चढाइन्थे। कार्थेजमा स-साना बच्चाहरू क्रोनोसको पित्तलको सालिक सामु बलिदानसरह जलाइन्थे। डियोडोरस सिकुलस, प्रथम शताब्दी सा.यु.पू. का इतिहासकारअनुसार बच्चाका नातेदारहरूलाई रुन मनाही गरिएको थियो। शायद वेदनाका आँसुले बलिदानको महत्त्वलाई कम तुल्याउँछ भन्ने धारणा थियो।
केही समयावधिको लागि यस्तै प्रकारको रीतिथिति यरूशलेम नजीकै तोपेतमा गरिन्थ्यो। मोलेकलाई चढाउन आगोको भट्टीमा फ्याँकिएका बच्चाहरूको चित्कार नसुनोस् भनेर उपासकहरू त्यहाँ नाच्थे र खैंजडीहरू बजाउँथे।—यर्मिया ७:३१.
अरूको पीडालाई निर्दयतापूर्वक कुनै परबाह नगर्ने व्यक्तिहरूप्रति यहोवा असाध्यै क्रोधित हुनुहुन्छ। (हितोपदेश २१:१३ तुलना गर्नुहोस्।) यहोवा, केटाकेटीहरूप्रति अनुकम्पा देखाउनुहुने परमेश्वर हुनुभएकोले निस्सन्देह ती निर्दोष व्यक्तिहरूलाई उहाँले “धर्मी र अधर्मीको पुनरुत्थान[मा]” समावेश गर्नुहुनेछ।—प्रेरित २४:१५; प्रस्थान २२:२२-२४.