“फलामले फलामलाई उध्याएजस्तै”
सामान्य युग तेस्रो शताब्दीको अन्ततिर “पुरातन मिश्री मसीही” भनिने एन्थोनी नाउँ गरेको जवान व्यक्ति थिए। तिनी गम्भीर प्रकृतिका थिए र यो संसारबाट अलग्गिएर २० वर्ष निर्जन मरुभूमिमा बिताए। तर किन? किनभने तिनको विचारमा त्यो परमेश्वरको सेवा गर्ने उत्तम तरिका थियो। तिनी मसीहीजगतका प्रथम प्रभावशाली भिक्षु थिए।
आज मसीहीजगतमा त्यस्ता भिक्षुहरू कम छन्। तर धेरैभन्दा धेरै मानिसहरू अर्कै तरिकाबाट पृथक् हुन खोजिरहेका छन्। अरूसित धर्मबारे कुरा गर्न तिनीहरू इन्कार गर्छन्। किनभने तिनीहरू धर्मबारे कुराकानी गर्दा मतभेद र झगडा हुन्छ भनेर सोच्छन्। तिनीहरू आफ्ना छिमेकीहरूलाई केही हानि गर्दैनन् र त्यो नै तिनीहरूको मुख्य उपासना हो।
हो, छिमेकीलाई हानि नगर्नु साँचो धर्मको भाग हो। तर त्यति मात्र भएर पुग्दैन। एउटा प्राचीन हितोपदेशले यसो भन्छ: “फलामले फलामलाई उध्याएजस्तै एउटा मानिसको बुद्धिले अर्को मानिसको बुद्धिलाई तिखार्छ।” (हितोपदेश २७:१७) वास्तवमा, बाइबलले मसीहीहरूलाई एकअर्का वा संसारबाट पूर्णतया अलग बस्न होइन तर एकसाथ भेला हुन प्रोत्साहन दिन्छ। (यूहन्ना १७:१४, १५) त्यसले यसो भन्छ: “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। . . . हामी एक ठाउँमा भेला हुनालाई नछोड़ौं।” (हिब्रू १०:२४, २५) यहोवाका साक्षीहरू उपरोक्त सल्लाह पालन गर्छन्। सँगी विश्वासीहरूको विश्वासलाई बलियो बनाउँदै ‘एकअर्काको बुद्धि तिखार्न’ तिनीहरू हप्तामा दुइ-तीन चोटि एकसाथ भेला हुन्छन्। खुलस्त भई निष्कपटसाथ बाइबल छलफल गर्नाले झगडा होइन बरु शान्ति र एकता छाउँदो रहेछ भनेर तिनीहरूले बुझेका छन्। यो साँचो उपासनाको अत्यावश्यक भाग हो।