शान्ति सम्भव छ?
“क तै न कतै सधैं युद्ध भइ नै रहनेछ। यो मानवजातिको कटु सत्य हो।” हालै न्युजवीक पत्रिकामा प्रकाशित पाठकको पत्रमा उक्त निराशावादी दृष्टिकोण छापिएको थियो। के तपाईं त्यससित सहमत हुनुहुन्छ? के युद्ध अवश्यम्भावी अनि शान्ति चाहिं असम्भव कुरा हो? हो। किनभने इतिहासका तथ्यले त्यस्तै जवाफ दिन्छ। मानिसले अभिलेख राख्न थालेदेखि मानवजाति एकपछि अर्को युद्धमा मुछिएको र मानिसहरूले एकअर्कोलाई मार्ने अझ प्रभावकारी उपायहरू विकसित गर्दै जाँदा विवादहरू झन् झन् विनाशकारी भएको पाइन्छ।
यो २० औं शताब्दी कुनै अपवाद भएको छैन। निस्सन्देह, यसले सबैभन्दा रक्तपातपूर्ण युद्धहरू मात्र नभई नौला युद्धहरू पनि देखेको छ। पचास वर्षअघि जापानमा दुइवटा आणविक बम खसालेर संयुक्त राज्यले आणविक युग सुरु गरेको थियो। त्यहाँदेखि यता पाँच दशकभित्र विभिन्न राष्ट्रहरूले सम्पूर्ण मानवजातिलाई निकै चोटि नाश गर्नसक्ने आणविक हातहतियारहरू अत्यधिक मात्रामा थुपारिरहेका छन्। के आणविक हातहतियारले अन्ततः मानवजातिलाई युद्ध गर्नदेखि रोक्नेछ त? वास्तविकता आफैले जवाफ दिन्छ। अहिलेसम्म कतै आणविक बम नझारिएको भए तापनि सन् १९४५ देखि यता लाखौं मानिसहरू युद्धमा मारिएका छन्।
मानवजाति किन यति विघ्न युद्ध गर्न मन पराउँछ? इनसाइक्लोपीडिया अमेरिकाना-ले मानव समाजका केही यस्ता पक्षहरूको उल्लेख गर्छ, जसले विगतमा मानिसहरूलाई युद्ध गर्न उस्काएका थिए। त्यसमा धार्मिक असहिष्णुता, रंगभेद, सांस्कृतिक भिन्नता, सैद्धान्तिक मतभेद (जस्तै, साम्यवाद र पुँजीवाद), राष्ट्रवाद तथा राष्ट्रिय सार्वभौमिकता, आर्थिक अवस्थाबारे आ-आफ्नो सिद्धान्त र सैन्यवादको लोकप्रियता समावेश छन्। यी कुराहरूलाई सरसरती हेर्दा के तपाईंलाई भविष्यमा यीमध्ये कुनै परिवर्तन होला जस्तो लाग्छ? के भविष्यमा राष्ट्रहरूले आफ्नो सार्वभौमिकता जोगाउनेतर्फ कम ध्यान देलान्? के मानिसहरूले रंगभेद कम गर्लान्? के धार्मिक रूढिवादीहरू अहिलेभन्दा कम कट्टर होलान्? होला जस्तो पटक्कै देखिंदैन।
त्यसोभए, के परिस्थिति सुध्रने वा चिरकालीन शान्ति स्थापना हुने कुनै आशै छैन? निश्चय पनि छ। अझ भनौं भने, यस संसारको गोलमालको बावजूद अहिल्यै शान्ति पाउनु सम्भव छ। लाखौं मानिसहरूले शान्ति पाएका छन्। यिनीहरूमध्ये केही व्यक्तिहरूको अनुभव कस्तो छ अनि तपाईंको निम्ति ती कसरी अर्थपूर्ण हुनसक्छ, आउनुहोस् हामी हेरौं।
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
Background cover and page 32: Reuters/Bettmann
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
Reuters/Bettmann