राज्य उद्घोषकहरूका रिपोर्ट
परमेश्वरको वचनमा परिवर्तन गर्ने शक्ति छ
तिनले आफू “निन्दा गर्ने, खेदो गर्ने र हानि गर्ने थिएँ” भनेर स्वीकारे। (१ तिमोथी १:१३) तर तिनी बदलिए! प्रेरित पावलले निकै ठूलो परिवर्तन गरे त्यसैकारण तिनले पछि यसरी घोषणा गर्नसके: “म ख्रीष्टमा भएझैं तिमीहरू पनि मेरो देखा-सिकी गर्ने होओ।”—१ कोरिन्थी ११:१.
आज विश्वभरिका हजारौं निष्कपट उपासकहरूले त्यस्तै परिवर्तनहरू गरिरहेका छन्। कुन कुराले गर्दा तिनीहरूले त्यस्तो परिवर्तन गर्न सके? तिनीहरूले परमेश्वरको वचनको ज्ञान लिइरहेका छन् र त्यसलाई आ-आफ्नो जीवनमा लागू पनि गरिरहेका छन्। निम्न अनुभवले परमेश्वरको वचनमा परिवर्तन गर्ने शक्ति छ भनेर प्रकाश पार्छ।
स्लोभेनियाको एउटा गाउँबाहिर एक वृद्ध दम्पती मात्र बसोबास गर्थे। पति योज ६० वर्षका थिए र तिनी मतवाला थिए। तैपनि तिनी आफ्नी बिरामी पत्नी ल्युड्मिलाको हेरविचार गर्थे। एक दिन योजलाई दुइ राज्य उद्घोषकहरूले भेटे। तिनले ती साक्षीहरूलाई आफ्नो घरमा निम्त्याए र त्यहाँ तिनीहरूले तिनकी पत्नीलाई भेटे। राज्य समाचार सुनेर ल्युड्मिलाका आँखाबाट हर्षका आँशु बहन थाल्यो। योजले पनि ती कुराबाट आनन्द उठाए र थुप्रै प्रश्नहरू सोधे। त्यस दम्पतीलाई बाइबल साहित्यहरू प्रस्तुत गरेर ती साक्षीहरू फर्के।
एक महिनापछि ती साक्षीहरू त्यहाँ फेरि आउनसके। त्यस बेला तिनीहरूले टेबलमाथि पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक देखे। त्यो कहाँबाट पाउनुभयो भनेर सोध्दा योजले भने: “तपाईंहरूले दिनुभएको एउटा पत्रिकाको पछाडि मैले विज्ञापन देखें। अनि मैले यो पुस्तक पठाइदिन अनुरोध गर्दै जाग्रेबस्थित तपाईंहरूको कार्यालयमा पत्र लेखें।” तिनको चासो देखेर तिनीहरूले तिनलाई राज्य भवनमा सम्पन्न हुने ख्रीष्टको मृत्युको आउँदो स्मरणार्थमा उपस्थित हुन निम्त्याए। तिनी आए। यो देखेर ती साक्षीहरू असाध्यै रमाए!
चाँडै बाइबल अध्ययन थालियो र तिनले राम्रो उन्नति गरे। उदाहरणका लागि, योजलाई बाइबलबाट “तैंले आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, . . . तिनीहरूको सामने ननिउरनू” भन्ने वाक्यांश देखाइएपछि तुरुन्तै तिनले आफ्नो घरमा भएका सबै धार्मिक मूर्तिहरूलगायत तस्बिरहरू फाले।—प्रस्थान २०:४, ५.
आध्यात्मिक कुराहरूका लागि योजको तिर्खा तृप्त हुँदै थियो। दुःखको कुरा, तिनलाई अझै पनि अर्को कुराको तिर्खा लाग्थ्यो। गत १८ वर्षदेखि तिनले प्रतिदिन लगभग दश लिटरको दरले मदिरा पिउँदै आएका थिए। पिउने बानीले गर्दा तिनले आफ्नो बाहिरी रूपमा त्यति ध्यान पुऱ्याएका थिएनन्। तर मद्यको दुरुपयोगप्रति परमेश्वरको दृष्टिकोण थाह पाएपछि परिवर्तन हुन तिनी कटिबद्ध भए।
तिनले बिस्तारै आफ्नो पिउने बानीलाई छोड्न प्रयत्न गर्नुका साथै प्रतिदिन कति पिउँछ त्यसको रिकर्ड पनि राख्न थाले। चाँडै तिनी मदिराको दासत्वबाट मुक्त भए। बाइबल अध्ययनको दौडान तिनले साँचो मसीहीहरू सफासुग्घर भएर बस्न आवश्यक छ भनेर पनि सिके। त्यसैले तिनले साक्षीहरूलाई पैसा दिंदै यसो भने: “लौ, मलाई मसीही सभाहरू तथा क्षेत्र सेवकाईमा लगाउन सुहाउने लुगा ल्याइ दिनुहोस्!” साक्षीहरूले तिनको लागि कट्टु, मोजा, जुत्ता, सुट, टाई र ब्रिफकेस किनेर ल्याए।
बाइबल अध्ययन थालेको एक वर्षभित्र योज र ल्युड्मिला साक्षीहरूसित घर-घरको प्रचार कार्यमा जान योग्य भए। तीन महिनापछि तिनीहरूले यहोवाका साक्षीहरूको जिल्ला अधिवेशनमा पानीमा बप्तिस्मा लिएर परमेश्वरप्रतिको समर्पणलाई प्रतीकात्मक रूप दिए। वृद्धावस्था र खराब स्वास्थ्यको बावजूद योजले नियमित तवरमा सुसमाचारको प्रचार गरे। तिनको मृत्यु सन् १९९५ को मे महिनामा भयो। मृत्युपर्यन्त तिनले मण्डलीमा सेवकाई सेवकको हैसियतमा सेवा गरे। यस विनम्र मानिस र तिनकी पत्नीको जीवनमा फलेको सकारात्मक फलले परमेश्वरको वचनमा परिवर्तन गर्ने शक्ति छ भन्ने पुष्टि हुन्छ!