तिनले नम्रतापूर्वक यहोवाको सेवा गरे
“तपाईंले कहाँ सेवा गर्नुहुन्छ त्यो महत्त्वपूर्ण होइन तर कसलाई सेवा गर्नुहुन्छ त्यो महत्त्वपूर्ण हो।” जोन बूथ यी शब्दहरू भन्न रमाउँथे र तिनले ती शब्दहरूअनुरूप नै जीवन बिताए। सोमबार जनवरी ८, १९९६ मा तिनको पार्थिव जीवन समाप्त भयो। अनि तिनले पृथ्वीमा छँदा कसको सेवा गर्न छनौट गरे, त्यसले स्पष्ट देखायो।
सन् १९२१ मा जवान जोन बूथ जीवनको उद्देश्य खोजिरहेका थिए। डच रिफर्मड चर्चमा तिनी आइतबारे स्कूलमा पढाउँथे तर सेवक बन्न प्रशिक्षण लिने विचारको विरोध गरे किनभने पादरीहरूले स्वार्थी जीवन बिताइरहेका जस्तो तिनलाई लाग्थ्यो। तिनले “अहिले बाँचिरहेका लाखौं मानिसहरू कहिल्यै मर्नेछैनन्” शीर्षक भएको विज्ञापन देख्ने बित्तिकै त्यस साहित्यको लागि अर्डर पठाए। आफूले पढेको कुराबाट मोहित भएर तिनी २४ किलोमिटर टाढा साइकलमा चढेर त्यतिबेला बाइबल स्टुडेन्ट्स भनेर चिनिने यहोवाका साक्षीहरूको सभाहरू धाउन थाले। तिनले सन् १९२३ मा बप्तिस्मा लिए र तिनको परिवारको दुग्धशाला भएको ठाउँ न्यु योर्कको वलकील क्षेत्रमा घर-घर प्रचार गर्न थाले।
भाइ बूथ सन् १९२८ अप्रिलमा पूर्ण-समय सेवकाईमा प्रवेश गरे। तिनले आफू जन्मेको इलाका र दक्षिणको ग्रामीण क्षेत्रमा प्रचार गरे अनि खानेकुरा र बासको निम्ति बाइबल प्रकाशनहरू साटासाट गर्थे। गैरकानुनी भट्टी मालिकहरूले बन्दुकसमेत चलाउँथे। र कहिलेकाहीं यस्ता कुराहरूको सामना गर्नुपर्थ्यो। तिनीहरूमध्ये एकले जोन बूथको अग्रमामी साथीलाई हिर्काएर घाइते बनाए। सन् १९३५ मा भाइ बूथ परिभ्रमण निरीक्षकको रूपमा नियुक्त भए र देशभरिका मण्डलीहरू तथा स-साना समूहहरूमा भ्रमण गर्न थाले। तिनले सम्मेलनहरूको आयोजना गरे अनि भाइबहिनीहरूलाई सतावटको बावजूद दृढ रहन मदत गरे। क्रुद्ध हूलको सामना गर्ने, अदालतमा खडा हुने र झ्यालखानाहरूमा कष्ट भोग्ने जस्ता सबै घटनाहरू भाइ बूथलाई सामान्य लाग्न थाल्यो। तिनले एक चोटि यस्तो लेखे: “त्यस्ता रोमाञ्चकारी समयहरूको विवरण दिन त एउटा पूरै पुस्तक चाहिन्छ।”
सन् १९४१ मा वाच टावर सोसाइटीका तत्कालीन अध्यक्ष जोसेफ एफ. रदरफोर्डले भाइ बूथलाई न्यु योर्कमा इथाका नजीकै किङडम फार्ममा काम गर्न खटाए। त्यहाँ तिनले विश्वासीपूर्वक २८ वर्षसम्म काम गरे। सेवकाईप्रति तिनको प्रेम कहिल्यै कमजोर भएन। सन् १९६१ सम्म किङडम फार्ममा अवस्थित मिसनरीहरूलाई प्रशिक्षण दिने वाच टावर बाइबल स्कूल अफ गिलियडका हजारौं विद्यार्थीहरूसित वर्षौंसम्म संगत गर्न पाउँदा तिनी आनन्दित थिए। सन् १९७० मा भाइ बूथलाई न्यु योर्क वलकीलको वाचटावर फार्ममा सेवा गर्न आग्रह गरियो। यसप्रकार, ४५ वर्षअघि अग्रगामी गरेको इलाकामा तिनले फेरि आफूलाई पाए।
सन् १९७४ मा भाइ बूथ ब्रूकलिन न्यु योर्कमा यहोवाका साक्षीहरूको परिचालक निकायको सदस्यको रूपमा नियुक्त भए। तिनको ९३ वर्षको उमेरमा मृत्यु नभएसम्म तिनले यही हैसियतमा विश्वासीपूर्वक सेवा गरे। जोन बूथ असाध्यै नम्र र दयालु मसीही व्यक्तित्वको लागि प्रिय मानिन्थ्यो। स्वास्थ्य कमजोर नभएसम्म तिनी विश्वासीपूर्वक घर-घर र शहरी क्षेत्रहरूमा सडक प्रचारकार्यमा जान्थे।
उहाँसँगै सेवा गर्ने व्यक्तिहरू तिनको मत्युले गर्दा शोकित भए तापनि यस्ता अभिषिक्त मसीहीहरूले पुनरुत्थानद्वारा स्वर्गीय जीवन पाउनेछन् र “तिनीहरूका काम तिनीहरूका पछि लाग्नेछन्” भन्ने बाइबलीय प्रतिज्ञाहरूद्वारा सान्त्वना पाउँछन्। (प्रकाश १४:१३; १ कोरिन्थी १५:५१-५४) जोन बूथ पक्कै पनि एउटा नयाँ वातावरणमा हुनेछन् तर त्यहाँ तिनले सधैंभरि यहोवालाई सेवा गर्ने मौका पाउनेछन्!
[पृष्ठ ३२-मा भएको चित्र]
जोन बूथ सन् १९०३-१९९६
[पृष्ठ ३२-मा भएको चित्र]
HERALD-AMERICAN, ANDOVER 1234
76 Jehovites Jailed in Joliet
[स्रोत]
Chicago Herald-American