भूतपूर्व न्यायाधीश क्षमायाचना गर्छन्—४५ वर्षपछि
सन् १९९५ अगस्त महिना बर्लिनस्थित एउटा अदालतमा यहोवाका एक साक्षीप्रति ४५ वर्षअघि गरेको गल्तीका लागि सर्वोच्च अदालतका एक भूतपूर्व न्यायाधीशले पछुतो गरे।
सन् १९५० अक्टोबरमा जर्मन प्रजातान्त्रिक गणतन्त्रस्थित त्यस सर्वोच्च अदालतले यहोवाका नौ साक्षीहरूलाई अराजक तत्त्व, आन्दोलनकारी तथा जासुस भन्ने अभियोग लगाएको थियो। तीमध्ये दुइलाई आजीवन कारावासको र २२ वर्षीय लोथार हुर्निकलगायत बाँकी सात जनालाई चाहिं लामो समयसम्मका लागि कारावासको सजाय सुनाइयो। यस तस्बिरमा दायाँबाट चौथो प्रतिवादी लोथार हुर्निक हुन्।
चालीस वर्षपछि जर्मन प्रजातान्त्रिक गणतन्त्र संघीय गणतन्त्र जर्मनीमै गाँसियो। त्यसउप्रान्त अधिकारीहरूले पहिलेको जर्मन प्रजातान्त्रिक गणतन्त्रमा भएका अन्यायपूर्ण निर्णयहरूको जाँचपड्ताल गरेर दोषीहरूलाई कारबाही गर्ने प्रयास गरे। त्यसमध्ये सन् १९५० मा साक्षीहरू विरुद्ध सर्वोच्च अदालतको अन्यायपूर्ण मुद्दा पनि थियो।
हाल ८० वर्ष पुगेका ए. टि., यहोवाका साक्षीहरू विरुद्ध मुद्दाको निर्णय सुनाउने तीन न्यायाधीशहरूमध्ये एक थिए। न्याय दुरुपयोग गरेको अभियोगमा अहिले आफ्नो न्यायको स्पष्टीकरण दिन तिनी बर्लिनस्थित जिल्ला अदालतमा हाजिर भए।
त्यस भूतपूर्व न्यायाधीशले अदालतमा पेश गरेको आफ्नो बयानमा ४५ वर्षअघि अपराधी ठहराए तापनि आफूले कम सजायको पक्ष लिएको स्वीकारे। तर यो मुद्दाको कारण तिनी फेरि सोच्न बाध्य भए। किन? दोस्रो विश्वयुद्धतिर हिटलरलाई समर्थन गर्न इन्कार गरेको हुँदा नाजीले यहोवाका साक्षीहरूलाई सताएका थिए। युद्धपछि पनि साक्षीहरूलाई साम्यवादीहरूले सताउन छाडेनन्। यसले गर्दा त्यतिबेला त्यस न्यायाधीश “असाध्यै दुःखी भए।”
लोथार हुर्निकले आफू साढे पाँच वर्षसम्म नजरबन्द गरिएको र सन् १९५९ सम्म ब्रान्डेनबर्ग झ्यालखानामा थुनिएको बयान अदालतमा पेश गरे। हुर्निकको यो कुरा सुनेर त्यस भूतपूर्व न्यायाधीश धुरुधुरु रोए। “मलाई खेद छ” तिनले रुँदै भने। “कृपया मलाई क्षमा गर्नुहोस्।” हुर्निकले माफी दिए।—लूका २३:३४ तुलना गर्नुहोस्।
[स्रोत]
Neue Berliner Illustrierte