राज्य उद्घोषकहरूका रिपोर्ट
क्युबामा ‘क्रियाकलापको एउटा ठूलो ढोका खुलेको छ’
प्रेरित पावल, परमेश्वरको राज्यको सुसमाचारका उल्लेखनीय प्रचारक थिए। तिनले आज्ञाकारी मानिसजातिका लागि अनन्त जीवन दिनुहुने सृष्टिकर्ताका प्रतिज्ञाहरू अरूलाई सुनाउन हर मौकाको फाइदा उठाए। एफिससमा छँदा पावलले अझ बढी मानिसहरूलाई सहयोग गर्न सकिने नयाँ परिस्थितिहरू महसुस गरे। तिनले यसो भने: “म एफिससमा रहनेछु, किनभने मेरो निम्ति क्रियाकलापको एउटा ठूलो ढोका खुलेको छ।”—१ कोरिन्थी १६:८, ९, NW.
क्युबामा यहोवाका साक्षीहरूले पनि नयाँ परिस्थितिहरू अनुभव गरिरहेका छन्। यहाँ साक्षीहरू औपचारिक तवरमा त दर्ता भइसकेका छैनन् तैपनि सँगी देशवासीहरूलाई बाइबल आशाबारे खुलेआम बताउन अहिले सम्भव भएको छ। हालै क्युबा सरकारले विभिन्न धार्मिक समूहहरूलाई खुलेआम कार्य सञ्चालन गर्न दिने सम्बन्धमा उत्कट चासो देखाएको छ। राष्ट्रपति क्यास्ट्रोले यहोवाका साक्षीहरू नामक धार्मिक समूहसित क्युबा सरकारको सम्बन्धमा सुधार आएको छ भनी जनसमक्ष उल्लेख गरेका छन्।
यस नयाँ परिस्थितिले साक्षीहरूका लागि “क्रियाकलापको एउटा ठूलो ढोका” खोलेको छ। उदाहरणका लागि, यहोवाका साक्षीहरूले हालै क्युबामा एउटा कार्यालय खोलेका छन् र त्यसले यस मुलुकको प्रचारकार्य समन्यवय गर्न मदत पुऱ्याउँछ। यहाँका ६५,००० भन्दा बढी साक्षीहरूले मानिसहरूसित बाइबल अध्ययन गरेर त्यसलाई बुझ्न मदत दिइरहेका छन्। तिनीहरू प्रहरीधरहरा र ब्यूँझनुहोस्!-जस्ता बाइबल साहित्यहरू चलाउँछन्। यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरेर थुप्रै धर्मप्रवृत्त क्युबेलीहरूले लाभ उठाइरहेका छन्।
साक्षीहरूले यस टापुमा सर्वत्र स-साना समूहहरूमा नियमित तवरले सभाहरू पनि सञ्चालन गरिरहेका छन्। कहिलेकाहीं तिनीहरूले लगभग १५० व्यक्तिहरू जति भेला हुने समूहहरूमा ठूला सम्मेलनहरू पनि आयोजना गर्ने सुअवसर पाएका छन्। तिनीहरूले क्युबेली अख्तियारवालाहरूबाट प्राप्त अनुमतिको साँच्चै मूल्यांकन गर्छन्। किनभने यसले गर्दा तिनीहरूले आफ्ना आध्यात्मिक भाइबहिनीसित भेला हुने, परमेश्वरको प्रशंसा भजन गाउने र एकसाथ प्रार्थना गर्ने मौका पाउँछन्।
हालै तीन सप्ताहन्तभित्रै १,००० भन्दा बढी पटक “ईश्वरीय भय” जिल्ला अधिवेशन सम्पन्न भयो। एउटा प्रतिवेदनअनुसार हरेक अधिवेशनहरूमा “सुव्यवस्था, अनुशासन र शान्ति” प्रष्टै देखिन्थ्यो। यस सन्दर्भमा अख्तियारवालाहरूले साक्षीहरूलाई बधाई दिए।
विश्वभरि नै निष्कपट मसीहीहरूले परमेश्वरको राज्यको सुसमाचार प्रचार गरेर ईश्वरप्रदत्त आज्ञा पूरा गर्ने प्रयास गर्छन्। साथसाथै तिनीहरूले सरकारी अख्तियारवालाहरूसित शान्तिमय सम्बन्ध कायम गर्ने प्रयास पनि गर्छन्। (तितस ३:१) यहोवाका साक्षीहरू प्रेरित पावलको निम्न सल्लाह पालन गर्छन्: “यसकारण सबैभन्दा पहिले म अर्ती दिन्छु, कि अन्तरबिन्ती, प्रार्थना, विनम्र निवेदन, धन्यवादहरू सबै मानिसहरूका निम्ति, सब प्रकारका भक्ति र गम्भीरतामा हामीले शान्ति र चैनको जीवन बिताउन पाऔं भनेर राजाहरू र उच्च पदाधिकारीहरूका निम्ति पनि गरिऊन्।”—१ तिमोथी २:१, २.