विशेषज्ञहरू रगतका विकल्पहरूबारे विचार गर्छन्
उपचार क्षेत्रमा रक्तविहीन उपचार र शल्यक्रियाप्रतिको बढ्दो रुचिबारे छलफल गर्न संयुक्त राज्यभरिका लगभग २०० विशेषज्ञहरू सन् १९९५, अक्टोबर ७, शनिबारको दिन ओहायो, क्लिभल्याण्डमा भेला भए।
चुनौतीपूर्ण थुप्रै परिस्थितिहरूबारे छलफल गरियो। उदाहरणका लागि, रोगीको शरीरमा अकस्मात् रक्तअल्पता भयो भने के गर्ने? समय नपुगी जन्मेको बच्चालाई रगतबिना कसरी उपचार गर्ने? रक्तक्षेपणबिना हृदय रोगको शल्यक्रिया सफलतापूर्वक गर्न सकिएला? चाखलाग्दो कुरा, शरीरमा रगत आपूर्ति गर्न मदत दिने प्रणालीहरू रक्तविहीन शल्यक्रियामा अक्सर अपनाइँदैछन्। यस्ता प्रणालीहरूले असल परिणामहरू निकालेका छन्।a
रक्तक्षेपणका विकल्पहरू किन चाहियो? क्लिभल्याण्डस्थित सेन्ट भिन्सेन्ट च्यारिटि हस्पिटलको रक्तविहीन उपचार र शल्यक्रिया केन्द्रका निर्देशक शारोन भर्निन् भन्छिन्, “रक्तक्षेपणले प्रायजसो रोगहरू अर्थात् विशेषगरि हेपाटाइटिस सार्छ भनेर हामीले थाह पाएका छौं।” तिनी अझ भन्छिन्: “रगतले कुनै रोग सारेन भने पनि त्यसले रोगीको प्रतिरक्षा प्रणालीलाई क्षीण पार्छ।” रगतको जाँचद्वारा एड्सको संक्रमणलाई कम गर्न सकिए तापनि यस्ता परीक्षणहरूले अरू थुप्रै रोगहरू पत्ता लाउन सक्दैनन्। अधिक तयारीको आवश्यकता परे तापनि रक्तविहीन शल्यक्रिया अस्पतालहरूको लागि सस्तो उपचार प्रणाली साबित हुन्छ। किनभने रोगीहरूले दूषित रगत लिंदा हुनसक्ने कानुनी समस्याहरू यसमा हुँदै हुँदैन।
यहोवाका साक्षीहरूले रगत नलिनुको झन् महत्त्वपूर्ण कारण छ: परमेश्वरको नियमले यसलाई निषेध गर्छ। (प्रेरित १५:२९) त्यसोभए तापनि तिनीहरू यथासम्भव सर्वोत्तम उपचार चाहन्छन्। तसर्थ, तिनीहरूले रक्तविहीन उपचारबारे अनुसन्धानमा अग्रसर भइरहेका चिकित्सकहरूलाई सहयोग गर्छन्। यस्ता उपचारहरूबाट यहोवाका साक्षीहरू मात्र नभई रक्तक्षेपणका खतराहरूबारे चिन्तित थुप्रै मानिसहरू पनि लाभान्वित हुन्छन्।
[फुटनोट]
a ब्यूँझनुहोस्!-का (अंग्रेजी) अंकहरू, नोभेम्बर २२, १९९३, पृष्ठ २४-७, र जनवरी २२, १९९६, पृष्ठ ३१ हेर्नुहोस्।
[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]
WHO photo by P. Almasy