“तिनीहरूलाई नफर्काउनुहोस्!”
“यहोवाका एक वा दुइ साक्षी तपाईंको ढोकामा आउँदा तिनीहरूलाई नफर्काउनुहोस्!” भनेर कोरिरे देला सेरा सुझाउ दिन्छ। त्यस समाचारपत्रले उत्तरी इटालीको ट्रेभिसो नामक ठाउँमा भएको घटनालाई उल्लेख गर्दैथियो। घटना के थियो भने, एक व्यापारीले दुइ साक्षीहरू तिनलाई भेट्न आउँदा फर्काएकोले दश लाख लिराभन्दा (६०० अमेरिकी डलरभन्दा धेरै) बढी रकम झन्डै गुमाएका थिए।
समाचारपत्रअनुसार ती दुइ साक्षीले यसो भन्दै आफ्नो परिचय दिएका थिए: “आजको दिन तपाईंको लागि सुदिन हो। हामी यहोवाका साक्षीहरू हौं र तपाईंलाई दिने हामीसित केही बहुमूल्य चीज छ।” त्यत्तिकैमा तिनीहरूलाई कुरा पनि पूरा गर्न नदिई त्यस अभद्र व्यापारीले ढोका ड्याम्म थुने।
त्यस मानिसले ती साक्षीहरूको कुरा राम्ररी सुनेका भए, तिनीहरू वास्तवमा तिनकै ब्याग दिन घरमा आएका रहेछन् भनेर थाह पाउनेथिए। तिनीहरूले त्यो ब्याग पार्कको मेचमा पाएका थिए। तिनले त्यसो गरेपछि त्यो ब्याग र त्यसभित्रको चीजबीज प्रहरीलाई सुम्पनुबाहेक साक्षीहरूसित अन्य विकल्पै थिएन। त्यसको भोलिपल्टै प्रहरीले त्यो ब्याग सही मालिकलाई फिर्ता दिए।
ईल गात्सेतीनो डी ट्राभीजो-ले बतायो, “ती दुइ असफल [साक्षीहरूको] स्थितिमा अरू कोही हुँदा हुन् त, तिनले सम्भवतः ब्यागको चीजबीजहरू हात पार्नेथिए। तर यहोवाका साक्षीहरूले त्यसो गर्दैनन्। किनकि तिनीहरू पूर्णतया इमानदार हुनैपर्छ।”
यहोवाका साक्षीहरूलाई “पूर्णतया इमानदार” हुन कुन कुराले उत्प्रेरित गर्छ? येशू ख्रीष्टका शिक्षाहरूअनुरूप परमेश्वर र छिमेकीप्रति तिनीहरूको प्रेमले गर्दा। (मत्ती २२:३७-३९) त्यसैकारण पनि यहोवाका साक्षीहरू यहोवा परमेश्वरद्वारा प्रतिज्ञाकृत अद्भुत “नयाँ पृथ्वी[बारे]” घर-घरमा गएर सुसमाचार घोषणा गर्छन्। आशाको यस्तो सन्देश भौतिक धनसम्पत्तिभन्दा कता हो कता मूल्यवान् छ!—२ पत्रुस ३:१३.