जलप्रलयसम्बन्धी दन्त्यकथाले बाइबल विवरणलाई समर्थन गर्छ
नूहको समयको विश्वव्यापी जलप्रलय एउटा ऐतिहासिक तथ्य हो। संसारभरिका विविध सभ्यताहरूमा त्यससम्बन्धी कथाहरू पाइन्छन्। अफ्रिकी देश, चादको मुसाये जातिले जलप्रलयलाई यसरी वर्णन गर्छन्:
‘एकादेशमा एउटा परिवार थियो। एक दिन आमाले परिवारको लागि शानदार भोजन तयार गर्ने विचार गरिन्। अतः तिनले ओखलमा कोदो कुट्न थालिन्। त्यतिबेला आकाश अहिलेभन्दा निकै तल थियो। भनौं भने, हातैले छुन सकिन्थ्यो। तिनले भएभरको बल लगाई कोदो कुटेर पीठो बनाइन्। तर कुट्दै गर्दा यस स्त्रीले होशै नपुऱ्याई मुसललाई असाध्यै माथि उचालेर आकाशमा प्वाल पारिन्! अनि पृथ्वीमा तुरुन्तै मुसलधारे पानी वर्षिन थाल्यो। यो कुनै चानचुने पानी थिएन। सात दिन सात रातसम्म पानी परेपछि सम्पूर्ण पृथ्वी जलाम्मे भयो। पानी पर्दा पर्दा आकाश माथि उठेर अहिले जहाँ छ, त्यहाँ पुग्यो र छुनै नसकिने भयो। मानवजातिको लागि कत्रो महाविपत्ति! त्यहाँदेखि हामीले आकाशलाई हातले छुने सुअवसरै गुमायौं।’
चाखलाग्दो कुरा, विश्वव्यापी जलप्रलयसम्बन्धी पुरातन कथाहरू संसारभरि पाइन्छन्। अमेरिकाका स्थानीय सभ्यताहरूलगायत अस्ट्रेलियाका आदिवासीहरूसित यसबारे आफ्नै कथा छ। ती विवरणहरू फरक होलान् तर सबैमा एउटै धारणा के पाइन्छ भने, पृथ्वी जलमग्न भयो र मानवनिर्मित डुंगामा केही मानिसहरू मात्र बचे। यससम्बन्धी व्याप्त धारणाले बाइबलको विवरणअनुसार विश्वव्यापी जलप्रलय साँच्चै भएको थियो भन्ने तथ्यलाई समर्थन गर्छ।—उत्पत्ति ७:११-२०.