“हामी सबै एउटै परिवारका हौं”
हालैका वर्षहरूमा धार्मिक पूर्वाग्रह तथा जातिवाद पृथ्वीभरि फैलिएको छ। जनजातीय मतभेदले मारकाट तथा अन्य लज्जास्पद अत्याचारहरू गर्न उस्काएको छ। एम्नेस्टी इन्टरनेशनलको एउटा प्रतिवेदनअनुसार मानव अधिकार विरुद्ध कार्यहरूले गर्दा सन् १९९४ मा विश्वभरि २.३ करोड मानिसहरू घरबार छाडेर भाग्न बाध्य भए।
रूवान्डामा मात्रै, टुट्सी र हुटुहरूबीच हिंसा सुरु हुँदा लगभग ५,००,००० मानिसहरू मारिए अनि २०,००,००० भन्दा बढी व्यक्तिहरू शरणार्थी हुनु पऱ्यो। बेल्जियन अखबार ले स्वार यसो भन्छ, “विशेषगरि यहोवाका साक्षीहरू सताइए किनभने तिनीहरूले हातहतियार उठाउन इन्कार गरे।” यहोवाका साक्षीहरू सशस्त्र झैझगडामा भाग लिंदैनन्। तैपनि, हिंसामा तिनीहरूमध्ये सयौं मारिए। त्यसले हामीलाई येशूले आफ्ना चेलाहरूलाई भन्नुभएका यी शब्दहरू स्मरण गराउँछ: “तिमीहरू यस संसारका होइनौ . . . यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।”—यूहन्ना १५:१९.
ओइजान नताबाना, तिनकी पत्नीलगायत दुइ छोराछोरी भएको साक्षी परिवार राजधानी, किगालीमा बस्थे। ओइजानले आफ्ना छिमेकीहरूलाई मसीही तटस्थताबारे प्रायजसो बताउँदा तातो मौसममा फस्टाउने लहरे बोट, बोगनभिलियाबारे तिनी प्रायजसो भन्ने गर्थे।—मत्ती २२:२१.
ओइजान भन्ने गर्थे, “यहाँ किगालीको बोगनभिलियामा रातो, गुलाबी र कहिलेकाहीं सेता फूलहरू फुल्छन्। यद्यपि, ती सबै एकै जातका हुन्। हामी मानवहरू पनि त्यस्तै हौं। हाम्रो जाति, छालाको रंग तथा जनजातीय पृष्ठभूमि बेग्लाबेग्लै भए तापनि हामी एउटै परिवारका हौं र त्यो हो, मानिसजातिको परिवार।”
दुःखको कुरा, नताबाना परिवारको शान्तिमय स्वभाव तथा तटस्थ अडानको बावजूद रक्तपिपासु हूलले तिनीहरूको हत्या गऱ्यो। तिनीहरू विश्वासी भएर मरे। यहोवा परमेश्वरले त्यस्ता व्यक्तिहरूका लागि आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ र पूर्वाग्रहरहित संसारमा तिनीहरूको पुनरुत्थान हुनेछ भनी हामी निर्धक्क हुनसक्छौं। (प्रेरित २४:१५) तब, नताबाना परिवारलगायत अन्य व्यक्तिहरूले “प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।”—भजन ३७:११.