सूचित सम्मतिको अधिकारबारे पुनः पुष्टि दिइयो
उपचारसम्बन्धी वयस्क रोगीको इच्छालाई चिकित्सकहरूले कदर गर्नैपर्छ भनेर इटालीको मेसिना अदालत प्रारम्भिक जाँचपड्तालहरूसम्बन्धी न्यायाधीशले हालै घोषणा गरेको न्यायदण्डमा पुनः पुष्टि दिइएको छ। यहोवाको एक साक्षीको मामिलामा यस्तो न्याय सुनाइएको थियो।
सन् १९९४ जनवरीमा आन्टोनीनो स्टेलार्यो लिन्टीनी नाउँ गरेका ६४ वर्षीय साक्षीलाई मेसिनास्थित ताओरमिनाको अस्पतालमा हतारपतार लगियो। तिनी हेमोफाइलिक रोगले पीडित थिए। आन्टोनीनोकी पत्नी क्याटिनाले तिनीहरू यहोवाको साक्षी भएकोले तिनको पति र तिनले रक्तक्षेपण स्वीकार्नेछैनन् भनेर अस्पतालका कर्मचारीहरूलाई बताइन्। (प्रेरित १५:२०, २८, २९) तिनीहरूको इच्छाको कदर गरियो।
तथापि, अर्को स्वास्थ्य केन्द्रमा सारिंदा आन्टोनीनोलाई श्वास फेर्नै गाह्रो पऱ्यो र तिनी नाजुक स्थितिमा पुगे। त्यसको तुरुन्तैपछि तिनको मृत्यु भयो। क्याटिनाको संसारै डुब्यो तर पुनरुत्थानबारे बाइबलको प्रतिज्ञाबाट तिनले ठूलो सान्त्वना पाइन्। (प्रेरित २४:१५) त्यसपछि, छक्कपर्दो घटना भयो किनभने सम्भवतः झूटा समाचारको बहकाउमा परेर महान्यायाधिवक्ताले तिनलाई पतिको मृत्युको दोषी ठहराए। यसको कारण के थियो भने, चिकित्सकले आवश्यक ठानेको शल्यक्रिया गर्न तिनले अस्वीकार गरेकी थिइन्।
लगभग एक वर्षपछि सन् १९९५, जुलाई ११ मा क्याटिनालाई दोषमुक्त गरियो किनभने तिनले कुनै अपराध गरेकी थिइनन्। वास्तवमा, विशेषज्ञहरूको प्रमाणले के देखायो भने, रोगीको स्थितिलाई विचार गर्दा शल्यक्रियाले गर्नसक्ने नै केही थिएन।
तर न्यायाधीशको वक्तव्यले ठूलो विवाद खडा गऱ्यो। रोगी र रोगीका प्रतिनिधिहरूले उपचारलाई अस्वीकार गरेमा चिकित्सकहरूले हस्तक्षेप गर्नुपर्छ भन्ने धारणालाई स्वीकार्न गाह्रो छ भनेर तिनले औंल्याए। तिनले अझ भने, “कुनै हस्तक्षेप गर्नुअघि सम्बन्धित पक्षको सूचित सम्मतिबारे जानकारी लिनुपर्ने आवश्यकतालाई अगावै हेर्ने” चिकित्सकहरूले पालन गर्नुपर्ने नैतिक नियम इटालीमा छ। तसर्थ, क्याटिनाले “आफ्नो पतिलाई यस्तो शल्यक्रिया गर्न नदिनु न्यायसंगत थियो” भनेर तिनले भने।
कुनै वयस्कको इच्छा विरुद्ध उपचारलाई अस्वीकार गर्नसक्ने अधिकार हुन्छ भनेर यस न्यायले पुनः पुष्टि दिन्छ।