सुसमाचारकहरू को हुनेछन्?
लगभग ४० वर्षअघि चर्चहरूको विश्व परिषद्को सभामा सदस्यहरूलाई “सुसमाचारकको मनोभाव विकास गर्न” र आफ्नो बगाललाई “सुसमाचारकको कार्य” सिकाउन आग्रह गरिएको थियो। पाँच वर्षपछि क्याथोलिक पादरी जोन ए. ओब्राएनले नयाँ चेलाहरू बनाउन “तिनीहरूकहाँ जानुपर्छ” “आफ्नो घरमा बसेर” केही हुँदैन भनेर लेखे। अनि जनवरी १९९४ मा पोप जोन पल द्वितीयले “यो ख्रीष्टको सुसमाचारदेखि लजाउने समय होइन तर धुरीबाट प्रचार गर्ने समय हो” भने।
स्पष्ट छ, सुसमाचारक बन्न आकलझुकल गरिएका यी आग्रहहरू बहिराहरूका कानमा परेका छन्। अस्ट्रेलियाको अखबार इलवार मरकरी-को लेखले यो उल्लेख गऱ्यो: “साउथ कोस्टका प्रतिष्ठित क्याथोलिकहरू तिनीहरूको विश्वासमा यहोवाका साक्षीहरूको शैली अपनाउन उत्सुक छैनन्।” एक मानिसले सुसमाचारक हुनु “क्याथोलिक मनोभावको” भाग पटक्कै होइन भने। अर्कोले यस्तो तर्क गरे: “चर्चले आफ्नो प्रवर्धन गर्ने कुरा त राम्रै हो तर ढोका ढकढक्याएर चाहिं हुँदैन। शायद स्कूलमा कक्षा सञ्चालन गर्नु वा पत्रव्यवहारद्वारा गर्नु बेस हुनेछ।” स्थानीय कथिड्रलका पादरीसमेत पोपको टिप्पणीलाई कसरी अर्थ्याउने, पक्का थिएनन्। तिनले भने: “हामी मानिसहरूलाई तिनीहरूले थाह पाए जत्ति सुसमाचार आफ्नो जीवनमा लागू गर्न प्रोत्साहन दिने थियौं। तर यसको अर्थ ढोका ढकढक्याउने हो या होइन त्यसबारे मेरो भन्नु केही छैन।” त्यस समाचारपत्रको शीर्षसमाचारले राम्रो सारांश दिएको छ: “प्रचार गर्ने पोपको आग्रहलाई क्याथोलिकहरूले सुन्नेछैनन्।”
मसीहीजगत् प्रचार गर्ने कार्यमा असफल भए तापनि यहोवाका ५० लाखभन्दा बढी साक्षीहरूले “गएर सबै देशका जातिहरूलाई चेला बनाओ” भन्ने येशूको आदेशलाई पालन गरेका छन्। (मत्ती २८:१९, २०; तुलना गर्नुहोस् प्रेरित ५:४२) तिनीहरूका ढोका-ढोकाको प्रचारकार्य अहिले २३० भन्दा बढी मुलुकहरूमा भइरहेको छ। तिनीहरूले ल्याउने सन्देश सकारात्मक छ, जसले भविष्यबारे बाइबलले दिने अद्भुत प्रतिज्ञामाथि प्रकाश पार्छ। अर्को पटक तिनीहरू तपाईंकहाँ आउँदा कुरा गरे कसो होला?