“त्यसोभए तपाईंको चर्च कहाँ छ?”
मोजाम्बिकका यहोवाका साक्षीहरूलाई प्रायः यो प्रश्न सोधिन्छ। खुलस्त भन्ने हो भने, केही समयअघिसम्म यस प्रश्नको जवाफ दिनु त्यति सजिलो थिएन। किनभने सन् १९९१ अघि यहोवाका साक्षीहरूले यस देशमा कानुनी मान्यता पाएका थिएनन्। यसर्थ, सबैले छर्लक्कै चिन्ने स्थायी उपासना थलो बनाउनु सम्भव थिएन।
तथापि, फेब्रुअरी १९, १९९४ का दिन परिस्थिति बदलियो। त्यस गर्मी र घमाइलो दिन मोजाम्बिकमा पहिलो चोटि दुइवटा राज्यभवनहरू समर्पण गरिए। मोजाम्बिक तटको झन्डै मध्य भागतिर बन्दरगाह भएको शहर बेइरामा ती भवनहरू निर्माण गरिएका थिए। ती भेला हुने उत्तम ठाउँहरूको समर्पणमा लगभग ६०२ जना उपस्थित भए। यी दुइ भवनहरूले त्यस शहरका तीन मण्डलीहरूको आवश्यकता पूरा गर्नेछन्।
जग हाल्नेदेखि लिएर पूरै भवन निर्माण गर्न चौध महिनासम्म कडा परिश्रम गर्नुपऱ्यो। छिमेकी मुलुक जिम्बाबेबाट आएका ३० वा त्योभन्दा धेरै स्वयंसेवकहरूले स्थानीय साक्षीहरूसित काँधमा काँध मिलाइ काम गरे। बेइरास्थित मिसनरी गृहबाट सम्पूर्ण निर्माण कार्य सञ्चालन गरियो। तथापि, सबैलाई त्यहाँ राख्ने ठाउँ नभएकोले केही भाइहरू मिसनरी गृहको वरपर पाल टाँगेर सप्ताहन्त र बेलाबेलामा हप्ता दिनसम्म बसे।
मासाम्बा र मुनाभा मण्डलीहरूको राज्यभवन बेइराको मूल सडक छेवैमा अवस्थित छ। एक जना मिसनरीले यसो भने, “व्यस्त दिनमा जोडतोडले काम अघि बढिरहेको बेला हाम्रो प्रगति देखेर गाडी चालकहरू एक टक लगाएर राज्यभवनलाई हेर्थे। आफ्नो गाडी कतातिर गुडिरहेको छ, तिनीहरूको होसै नहुने हुँदा झन्डै दुर्घटनाहरू हुन लागेका पनि कति चोटि देख्यौं।” थुप्रैले आफ्नो गाडी रोकेर त्यहाँ भइरहेको काम हेरे। विशेषगरि भिन्नाभिन्नै जातिका मानिसहरू एकसाथ मिलेर काम गरेको देख्दा तिनीहरू असाध्यै प्रभावित भए।
राज्यभवन निर्माण गर्न निकै ठूलो योजना तथा व्यवस्था मिलाउनुपऱ्यो। यस भागमा भनेको बेला निर्माण सामग्री र मालताल नपाइने भए तापनि यस मुलुकमा हुने अन्य निर्माण कार्य ठप्प भए जस्तो राज्यभवनको निर्माण कार्य सामग्रीको कमीले गर्दा कहिल्यै रोकेन। एक पटक ८०० बोरा सिमेन्टको आवश्यकता पऱ्यो तर सिमेन्ट उपलब्ध गराउनसक्ने ठाउँमा पर्याप्त बोराहरू थिएनन्। तसर्थ, भाइहरूले त्यहाँको राजधानी मापुतोस्थित वाच टावर सोसाइटीको शाखा कार्यालयमा सम्पर्क राखे। हवाईजहाजबाट बोराहरू पठाइए र सिमेन्ट गोदाममा लगेर त्यसमा सिमेन्ट भरियो। तब भने काम सुचारुरूपले चल्न थाल्यो।
अर्को चोटि कामदारहरूले छाना लगाउँदै गर्दा फलामे बीमहरूको कमी भयो। अचाक्ली अभावले गर्दा लगभग ५९५ किलोमिटर टाढाबाट फलामे बीम आयात गरिएको थियो! कामदारहरूमध्ये एक जनाले तिनीहरूको क्रियाकलाप हेरिरहेका व्यक्तिलाई यो काम फत्ते गर्न यता कतै फलामे बीम पाउन सकिने ठाउँ थाह छ कि भनेर सोधे। तिनले जवाफ दिए: “म यहाँ एक घण्टाभन्दा अघिदेखि उभिरहेको छु र यसलाई संयोग भन्न मिल्दैन। तपाईंहरूले गरिरहनुभएको कार्य र यस योजनाको म प्रशंसा नगरी सक्दिनँ। तपाईंहरूलाई चाहिएको फलामे बीमहरू मसित छ र उपहारस्वरूप ती दिन पाएमा खुशी हुनेछु।” यो असाध्यै सामयिक प्रबन्ध साबित भयो।
कुन चाहिं ठूलो निर्माण फार्मले यो योजना गरेको रहेछ भनेर अवलोकनकर्ताहरू छक्क पर्थे। निस्सन्देह, आफूहरू यहोवाका साक्षीहरू हौं र स्वयंसेवकको रूपमा सेवा गरिरहेका छौं भनी बताएर ती कामदारहरूले ठूलो आनन्द प्राप्त गरे। विशेषगरि अवलोकनकर्ताहरूलाई कुन कुराले प्रभाव पाऱ्यो? एक जनाले भने, “तपाईंहरू एकताबद्ध हुनुहुन्छ। विभिन्न जातिका भए तापनि तपाईंहरू दाइ-भाइ सरह काम गर्नुहुन्छ।” परिणामस्वरूप बाइबल अध्ययन गर्न थुप्रैले इच्छा प्रकट गरे। यसले सभाहरूमा पनि प्रभाव पाऱ्यो। उदाहरणका लागि, मांगा मण्डलीमा साक्षीहरूको संख्याभन्दा सरदर दोब्बर मानिसहरू उपस्थित भए।
यो नयाँ राज्यभवन स्थानीय साक्षीहरूका लागि साँच्चै महान् आशिष् साबित भएको छ। त्यसअघि धेरैजसो सुखा घाँसको छाना भएको वा जस्ताहरूले छाएको घरपछाडिको चोक वा निजी घरको सानो कोठामा भेला हुन्थे। पानी परेको बेला तिनीहरू अक्सर भिज्थे। तैपनि, निरन्तर सभाहरू धाउँथे। दशकौंसम्म मोजाम्बिकका साक्षीहरूले थाह पाएका “राज्यभवनहरू” यी नै थिए। मासाम्बा मण्डलीका प्राचीन, कीटानु गाब्रीएलले यसो भने: “यस योजनामा अनुदान गर्ने विश्वभरिका हाम्रा भाइहरूप्रति हामी कृतज्ञ छौं।” एक जवान साक्षी स्मरण गर्छन्: “हामी कारीकुमा (“पुनःशिक्षा शिविर,” जहाँ यहोवाका साक्षीहरूलाई लगभग १२ वर्षसम्म नजरबन्द गरिएको थियो) छँदा यसो भन्थ्यौं, ‘हामी विश्वासी भइरहनेछौं र यहोवाले हामीलाई इनाम दिनुहुनेछ।’ यो नयाँ राज्यभवन यहोवाबाट प्राप्त इनाम हो।” तिनीहरूले बोलेका शब्दहरूद्वारा तिनीहरूको गहिरो कृतज्ञता र यहोवाको प्रशंसा गर्ने संकल्प व्यक्त हुन्छ।
निर्माण कार्यमा भाग लिने थुप्रै जवानहरूमा अग्रगामी गर्ने मनोभाव जाग्यो र तिनीहरूले नियमित अग्रगामीको सेवकाई गरे। मांगा मण्डलीका ईजाबेल नाउँ गरेकी जवान अग्रगामीले राज्यभवन समर्पण गरिने अघिल्लो दिन सफा, चिटिक्क परेको राज्यभवन देखेर यसरी टिप्पणी गरिन्: “मेरोलागि बेइरा शहरको सबैभन्दा सुन्दर ठाउँ यही हो। यहाँ हुन पाउनु मेरोलागि सबैभन्दा आनन्दको कुरा हो।” साक्षीहरूको इमानदारिता थाह पाएको हुँदा स्थानीय अख्तियारवालाहरूले विशेष महत्त्वका कार्यप्रणालीहरू दिएर अति सहयोग गरे भनी आडाउना कोस्टा नाउँ गरेका मिसनरीले बताए। तिनले अझ भने: “हामी असाध्यै थाकेको भए तापनि यहोवाको आदर र महिमाको निम्ति यस कार्यका फलहरूलाई हेर्न पाउनु हाम्रोनिम्ति आनन्दको कुरा थियो।”
अहिले, बेइरा शहरको मित्रैलो बासिन्दाले “तपाईंको चर्च कहाँ छ?” भनी सोध्दा साक्षीहरूले नयाँ दुइ राज्यभवनमध्ये एउटालाई औंल्याउँदै खुशीसाथ यसरी जवाफ दिन्छन्, “हाम्रो चर्च फोर्थ स्क्वड्रन पुलिस स्टेशनको ठीक पारिपट्टि आभिनीडे अकोर्डु डे लुसाका इन्टरनेशनल रोडमा छ।” त्यसपछि तिनीहरूले “चर्च होइन, राज्यभवन!” भन्दै कुरा सच्याउँछन्।
[पृष्ठ २०-मा भएको चित्र]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
अफ्रिका
मोजाम्बिक
बेइरा
मापुतो
[स्रोत]
Map: Mountain High Maps® Copyright © 1995 Digital Wisdom, Inc.