प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 १/१५ पृ. १८-२२
  • परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • ‘परमेश्‍वरलाई प्रेम गर्नुको’ अर्थ
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • १. परमेश्‍वरको प्रेम सधैँ रहिरहन्छ
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • जीवनप्रति परमेश्‍वरको जस्तै दृष्टिकोण राख्नुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • ७. के तपाईँ परमेश्‍वरले जस्तै जीवनलाई अनमोल ठान्‍नुहुन्छ?
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 १/१५ पृ. १८-२२

परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?

“हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्‍वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कड़ा छैनन्‌।”—१ यूहन्‍ना ५:३.

१, २. परमेश्‍वरलाई स्वीकार्य ढंगमा उपासना गर्न चाहनेहरूले उहाँका केही मागहरू पूरा गर्नुपर्छ भन्‍नु किन अचम्मको कुरा होइन?

“मेरो धर्म, मेरो लागि ठीकै छ!” के मानिसहरू अक्सर त्यसै भन्‍ने गर्दैनन्‌ र? वास्तवमा, तिनीहरूले यसरी पो सोध्नुपर्ने, “के मेरो धर्म परमेश्‍वरलाई स्वीकार्य छ?” हो, परमेश्‍वरलाई स्वीकार्य ढंगमा उपासना गर्न चाहनेहरूबाट उहाँले केही कुराहरू चाहनुहुन्छ। के यो छक्कलाग्दो कुरा हो? होइन। मानौं, तपाईंले निकै पैसा खर्च गरेर आफ्नो घर मर्मत गर्नुभयो, त्यसलाई चिटिक्क पार्नुभयो। के तपाईं जो पायो त्यसैलाई त्यो घरमा बस्न दिनुहुनेछ? अवश्‍य दिनुहुनेछैन! त्यहाँ बस्न चाहने बहालवालाले तपाईंका मागहरू पूरा गर्नुपर्नेछ।

२ त्यसरी नै यहोवा परमेश्‍वरले यस सुन्दर पार्थिव घर मानव परिवारलाई दिनुभएको छ। उहाँको राज्य शासनअन्तर्गत चाँडै पृथ्वीको “मर्मत” गरिनेछ अर्थात्‌ सुन्दर प्रमोदवनमा परिवर्तन गरिनेछ। यहोवाले नै यो गर्नुहुनेछ। यसो गर्न उहाँले ठूलो मूल्य तिर्नुभयो, उहाँले आफ्नो एकलौटो पुत्रलाई पठाउनुभयो। अतः यस पृथ्वीमा बस्न चाहनेहरूबाट परमेश्‍वरले अवश्‍य केही कुराहरू चाहनुहुन्छ।—भजन ११५:१६; मत्ती ६:९, १०; यूहन्‍ना ३:१६.

३. परमेश्‍वरले हामीबाट चाहनुहुने कुराको निचोड सुलेमानले कसरी बताए?

३ परमेश्‍वर हामीबाट के चाहनुहुन्छ, हामी कसरी थाह पाउनसक्छौं? यहोवाले हामीबाट चाहनुहुने कुराहरूको निचोड बताउन उहाँले बुद्धिमान राजा सुलेमानलाई उत्प्रेरित गर्नुभयो। धनसम्पत्ति, निर्माण कार्य, संगीतप्रतिको चासो र मायाप्रीतिलगायत अरू थुप्रै कुराहरू हासिल गर्ने आफ्नो दौडधूपलाई सम्झँदा सुलेमान यो निष्कर्षमा पुगे: “कुराको अन्त यही हो—कि तैंले सबै कुरा सुनिस्‌। परमेश्‍वरको भय राख्‌, र उहाँका आज्ञा पालन गर्‌। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।”—उपदेशक १२:१३.

“उहाँका आज्ञाहरू कडा छैनन्‌”

४-६. (क) “कड़ा” भनी अनुवाद गरिएको युनानी शब्दको अक्षरसः अर्थ के हो? (ख) परमेश्‍वरका आज्ञाहरू कडा छैनन्‌ भनी हामी किन भन्‍नसक्छौं?

४ “उहाँका आज्ञा पालन गर्‌।” मुख्यतः परमेश्‍वर हामीबाट यही आशा गर्नुहुन्छ। के यो उहाँले हामीबाट बढी माग गर्नुभएको हो? पटक्कै होइन। परमेश्‍वरका आज्ञाहरू वा मागहरूबारे प्रेरित यूहन्‍ना हामीलाई असाध्यै आश्‍वासनदायी कुरा बताउँछन्‌। तिनले लेखे: “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्‍वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कड़ा छैनन्‌।”—१ यूहन्‍ना ५:३.

५ “कड़ा” भनी अनुवाद गरिएको युनानी शब्दको अक्षरसः अर्थ “गह्रौं” हो। त्यसले मागहरूअनुरूप गर्न गाह्रो वा पूरा गर्न कठिन कुरालाई बुझाउनसक्छ। “गह्रौं र बोक्न नसक्ने भारी” बुझाउन मत्ती २३:४ मा त्यही युनानी शब्द प्रयोग गरिएको छ। ती हुन्‌, फरिसी तथा सदुकीहरूले मानिसहरूमाथि थोपरेका आफ्नै नियम तथा परम्पराहरू। वृद्ध प्रेरित यूहन्‍नाले वास्तवमा के भन्‍न खोजेका हुन्‌, के तपाईंले बुझ्नुभयो? परमेश्‍वरका आज्ञाहरू गह्रौं बोझ होइनन्‌ नता त्यो हामीले पालन गर्नै नसक्ने कठिन कुराहरू नै हुन्‌। (व्यवस्था ३०:११ तुलना गर्नुहोस्‌।) त्यसको विपरीत, हामी परमेश्‍वरलाई प्रेम गर्छौं भने उहाँले हामीबाट चाहनुभएका कुराहरू पूरा गर्न पाउँदा रमाउँछौं। यसले यहोवाप्रति हाम्रो प्रेम देखाउने बहुमूल्य अवसर प्रदान गर्छ।

६ परमेश्‍वरप्रति हाम्रो प्रेम देखाउन उहाँले हामीबाट के के चाहनुहुन्छ, त्यो स्पष्टसित थाह पाउनुपर्छ। आउनुहोस्‌, परमेश्‍वरले हामीबाट चाहनुहुने कुराहरूमध्ये पाँचवटा अहिले छलफल गरौं। छलफल गर्दा यूहन्‍नाका यी शब्दहरू पनि नबिर्सनुहोस्‌: ‘परमेश्‍वरका आज्ञाहरू कड़ा छैनन्‌।’

परमेश्‍वरको ज्ञान लिनुहोस्‌

७. हाम्रो मुक्‍ति कुन कुरामा निर्भर छ?

७ पहिलो आवश्‍यकता हो, परमेश्‍वरको ज्ञान लिनु। यूहन्‍ना अध्याय १७ मा लिपिबद्ध येशूका शब्दहरूलाई ध्यान दिनुहोस्‌। यो येशूले पृथ्वीमा बिताउनुभएको अन्तिम रातको घटना हो। त्यतिबेला येशूले आफ्ना चेलाहरूलाई दोहोऱ्‍याइ तेहऱ्‍याइ भनिरहनुभयो कि अब उहाँ तिनीहरूसित धेरै बेर रहनुहुनेछैन। उहाँ तिनीहरूको भविष्य अर्थात्‌ तिनीहरूको अनन्त भविष्यबारे चिन्तित हुनुहुन्थ्यो। उहाँले माथि स्वर्गतिर हेर्दै तिनीहरूका लागि प्रार्थना गर्नुभयो। पद ३ मा हामी यसो लेखिएको पाउँछौं: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌ [“ज्ञान लेऊन्‌,” NW]।” हो, परमेश्‍वर र ख्रीष्ट दुवैको ‘ज्ञान लिनुमा’ तिनीहरूको मुक्‍ति निर्भर थियो। हाम्रो सन्दर्भमा पनि यही भन्‍न सकिन्छ। मुक्‍ति पाउन हामीले त्यस्तो ज्ञान लिनैपर्छ।

८. परमेश्‍वरको ‘ज्ञान लिनुको’ अर्थ के हो?

८ परमेश्‍वरको ‘ज्ञान लिनु’ भनेको के हो? यहाँ ‘ज्ञान लिनु’ भनी अनुवाद गरिएको युनानी शब्दले “थाह पाउनु, चिन्‍नु” वा “पूर्णतया बुझ्नु” भन्‍ने अर्थ बुझाउँछ। यो पनि नबिर्सनुहोस्‌, “ज्ञान लिनु” भन्‍ने अनुवादले निरन्तर चलिरहने प्रक्रियालाई बुझाउँछ। यसकारण परमेश्‍वरको ज्ञान लिनु भनेको उहाँबारे सतही ज्ञान मात्र लिनु होइन तर उहाँसित घनिष्ठ मित्रैलो सम्बन्ध गाँस्नु हो। परमेश्‍वरसित हाम्रो सम्बन्धलाई झन्‌ झन्‌ घनिष्ठ बनायौं भने उहाँबारे अझ बढी कुराहरू थाह पाउँछौं। यो प्रक्रिया सधैंभरि पनि चल्नसक्छ किनभने यहोवाबारे सबै कुरा सिक्नु सम्भवै छैन।—रोमी ११:३३.

९. सृष्टिबाट हामी यहोवाबारे के सिक्नसक्छौं?

९ हामी परमेश्‍वरको ज्ञान कसरी लिन्छौं? हामीलाई मदत गर्नसक्ने दुइटा पक्षहरू छन्‌। एउटा हो, सृष्टि। यहोवाले सृजनुभएका सजीव तथा निर्जीव वस्तुहरूले उहाँको व्यक्‍तित्वबारे केही अन्तरदृष्टि दिन्छन्‌। (रोमी १:२०) केही उदाहरणहरू विचार गर्नुहोस्‌। विशाल झरनाको आवाज, आँधीबेह्री आउँदा छालको गर्जन, स्वच्छ आकाशमा टिलपिल टल्किरहेका ताराहरू। के यस्ता कुराहरूले यहोवा “सामर्थ्यमा बलियो” हुनुहुन्छ भनी हामीलाई बताउँदैन र? (यशैया ४०:२६) कुकुरको छाउरा आफ्नो पुच्छर समाउन फनफनी घुमेको वा बिरालोको छाउरा ऊनको डल्लासित लडिबुडी खेलेको देखेर बच्चा रमाईरमाई हाँसेको दृश्‍य। के यसबाट यहोवा, “आनन्दित परमेश्‍वर” हुनुका साथै रमाइलो पनि गर्न रुचाउनुहुन्छ भनी थाह पाउँदैनौं र? (१ तिमोथी १:११, NW) स्वादिलो भोजन, चौरमा फूलहरूको मगमग बास्ना, रंगीचंगी पुतली, बसन्त ऋतुमा चराहरूको चिरबिर, प्रियजनको न्यानो आलिंगन। के यी कुराहरूबाट हाम्रो सृष्टिकर्ता प्रेमको परमेश्‍वर हुनुहुन्छ र हामीले जीवनबाट आनन्द उठाएको चाहनुहुन्छ भनी बुझ्दैनौं र?—१ यूहन्‍ना ४:८.

१०, ११. (क) सृष्टिबाट यहोवा र उहाँका उद्देश्‍यहरूबारे हामी कुन कुरा सिक्न सक्दैनौं? (ख) कुन कुन प्रश्‍नहरूको जवाफ बाइबलमा मात्रै पाइन्छ?

१० तथापि, सृष्टिबाट हामीले यहोवाबारे सबै कुरा सिक्न सक्दैनौं। जस्तै: परमेश्‍वरको नाउँ के हो? उहाँले पृथ्वी किन बनाउनुभयो र मानिसजातिलाई यहाँ किन राख्नुभयो? परमेश्‍वरले दुष्टतालाई रहिरहने अनुमति किन दिनुहुन्छ? हाम्रो भविष्य कस्तो छ? त्यस्ता प्रश्‍नहरूको जवाफका लागि परमेश्‍वरको ज्ञान दिने अर्को पक्ष अर्थात्‌ बाइबललाई केलाउनुपर्छ। यसमा यहोवाले आफ्नो नाउँ, व्यक्‍तित्व र उद्देश्‍यलगायत अरू थुप्रै कुराहरू प्रकट गर्नुभएको छ। हामी यस्तो जानकारी अरू कुनै स्रोतबाट पाउन सक्दैनौं।—प्रस्थान ३४:६, ७; भजन ८३:१८; आमोस ३:७.

११ हामीले थाह पाउनुपर्ने अन्य व्यक्‍तिहरूको महत्त्वपूर्ण ज्ञान पनि यहोवाले धर्मशास्त्रमा बताउनुभएको छ। उदाहरणका लागि, येशू ख्रीष्ट को हुनुहुन्छ र यहोवाका उद्देश्‍यहरू पूरा गर्न उहाँले कस्तो भूमिका निर्वाह गर्नुहुन्छ? (प्रेरित ४:१२) शैतान अर्थात्‌ दियाबल को हो? त्यसले मानिसहरूलाई कसरी बहकाउँछ? त्यसको बहकाउमा नपर्न हामी के गर्नसक्छौं? (१ पत्रुस ५:८) यी प्रश्‍नहरूको अत्यावश्‍यक जवाफ बाइबलमा मात्र पाइन्छ।

१२. परमेश्‍वर र उहाँका उद्देश्‍यहरूबारे ज्ञान लिनु बोझ होइन भनी कसरी वर्णन गर्न सक्नुहुन्छ?

१२ के परमेश्‍वर र उहाँका उद्देश्‍यहरूबारे त्यस्तो ज्ञान लिनु बोझ हो? पटक्कै होइन! परमेश्‍वरको नाउँ यहोवा हो, उहाँको राज्यले पृथ्वीमा प्रमोदवन पुनर्स्थापित गर्नेछ, हाम्रा पापहरूका लागि उहाँले आफ्नो प्रिय पुत्र पठाउनुभयो भन्‍ने तथ्यहरू र त्यसको साथसाथै, अन्य बहुमूल्य सत्यहरू पहिलो चोटि थाह पाउनुहुँदा कस्तो महसुस गर्नुभएको थियो, सम्झन सक्नुहुन्छ? के तपाईंलाई अज्ञानताको घुम्टो हटेर सबै कुरा छर्लंगै भएको जस्तो लागेन र? परमेश्‍वरको ज्ञान लिनु बोझ होइन। यो त आनन्दको कुरा हो!—भजन १:१-३; ११९:९७.

परमेश्‍वरको स्तरअनुरूप जीवन बिताउने

१३, १४. (क) परमेश्‍वरको ज्ञान लिंदै जाँदा हामीले आफ्नो जीवनमा कस्ता परिवर्तनहरू गर्नु खाँचो छ? (ख) हामी कस्ता अशुद्ध चलनहरूबाट अलग बसेको परमेश्‍वर चाहनुहुन्छ?

१३ परमेश्‍वरको ज्ञान लिंदै गएपछि आफ्नो जीवनमा छाँटकाँट गर्नुपर्छ भनी बुझ्छौं। यो हो, दोस्रो आवश्‍यकता। परमेश्‍वरको स्तरअनुरूप असल आचरणमा हिंडेर हामीले उहाँको सत्य स्वीकार्नुपर्छ। सत्य के हो? हामी के विश्‍वास गर्छौं र हामी के गर्छौं, के त्यसले परमेश्‍वरलाई कुनै फरक पार्छ? कुनै फरक पार्दैन होला भनेर धेरैले सोच्ने गर्छन्‌। चर्च अफ इंग्ल्याण्डले १९९५ मा प्रकाशित गरेको प्रतिवेदनले के देखाउँछ भने, विवाह नगरी सँगै बस्नुलाई पाप ठान्‍नु हुँदैन। चर्चका एक पादरीले यसो भने, “ ‘विवाह नगरी सँगै बस्नु पाप’ हो भन्‍ने पद्यांश नै उपयुक्‍त छैन।”

१४ त्यसो भए “विवाह नगरी सँगै बस्नु पाप” होइन त? त्यस्तो आचरणबारे यहोवाले सुस्पष्ट जानकारी दिनुभएको छ। उहाँको वचन, बाइबल यसो भन्छ: “सबै विवाह चाहिं आदरणीय होस्‌, ओछ्यान नबिटुलिओस्‌, किनकि व्यभिचारीहरू र जारी गर्नेहरूलाई परमेश्‍वरले इन्साफ गर्नुहुनेछ।” (हिब्रू १३:४) उदारवादी दृष्टिकोण राख्ने पादरी तथा चर्च धाउने कतिपय व्यक्‍तिहरूको दृष्टिकोणमा विवाहपूर्व यौनसम्बन्ध राख्नु पाप नहोला तर परमेश्‍वरको नजरमा त्यो गम्भीर पाप हो! जारी, हाडनाताकरनी र समलैंगिकता पनि पापै हो। (लेवी १८:६; १ कोरिन्थी ६:९, १०) उहाँले अशुद्ध ठान्‍नुहुने त्यस्ता चलनहरूबाट हामी अलग बसेको परमेश्‍वर चाहनुहुन्छ।

१५. परमेश्‍वरले हामीबाट चाहनुहुने कुरामा अरूप्रतिको व्यवहार अनि हाम्रो विश्‍वास कसरी विथोलित छ?

१५ तथापि, परमेश्‍वरले पापपूर्ण ठान्‍नुहुने चलनहरूबाट मात्र अलग बसेर पुग्दैन। परमेश्‍वरका मागहरूमध्ये हामीले अरूप्रति कस्तो व्यवहार गर्छौं, त्यो पनि विथोलित छ। परिवारमा पति र पत्नीले एकअर्कालाई प्रेम गर्नुको साथै आदर गरेको उहाँ चाहनुहुन्छ। आमाबाबुले आफ्ना छोराछोरीका भौतिक, आध्यात्मिक तथा भावनात्मक आवश्‍यकताहरू पूरा गरेको परमेश्‍वर चाहनुहुन्छ। उहाँले छोराछोरीलाई आमाबाबुको आज्ञाकारी होऊ भन्‍नुहुन्छ। (हितोपदेश २२:६; कलस्सी ३:१८-२१) अनि हाम्रा विश्‍वासहरू नि? हामीहरू झूटो उपासना वा बाइबलको पवित्र सत्यसित मेल नखाने विश्‍वास तथा प्रचलनहरूबाट अलग बसेको यहोवा परमेश्‍वर चाहनुहुन्छ।—व्यवस्था १८:९-१३; २ कोरिन्थी ६:१४-१७.

१६. परमेश्‍वरको स्तरअनुरूप सही आचरणमा हिंड्‌नु र उहाँको सत्य स्वीकार्नु बोझ होइन भनी वर्णन गर्नुहोस्‌।

१६ परमेश्‍वरको स्तरअनुरूप सही आचरणमा हिंड्‌नु र उहाँको सत्य स्वीकार्नु के हाम्रोलागि बोझ हो? त्यसका लाभहरू विचार गर्ने हो भने यसलाई बोझ भन्‍नु पटक्कै मिल्दैन। जस्तै, अवफादारीले गर्दा भताभुंग भएको वैवाहिक जीवनको साटो एकअर्कालाई प्रेम तथा भरोसा गर्ने पतिपत्नी; आफूलाई माया नगरेको, वास्ता नगरेको वा कसैले नचाहेको महसुस गर्ने छोराछोरीको साटो आमाबाबुको माया पाएको महसुस गर्ने छोराछोरी; एड्‌स वा अन्य यौनजन्य रोगको कारण अस्वस्थता वा दोषी भावनाको साटो स्वच्छ अन्तस्करण र सुस्वास्थ्य पाउँछन्‌। निस्सन्देह, यहोवाले हामीबाट चाहनुहुने कुराहरूले हामीलाई जीवनको आनन्द उठाउन चाहिने कुनै पनि कुराबाट वञ्चित गर्दैन।—व्यवस्था १०:१२, १३.

जीवन र रगतप्रति आदर देखाउनुहोस्‌

१७. यहोवाले जीवन र रगतप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?

१७ परमेश्‍वरका स्तरअनुरूप आफ्नो जीवन बिताउन खोज्नुहुँदा जीवन साँच्चै कत्तिको बहुमूल्य छ भनी बुझ्नुहुनेछ। आउनुहोस्‌, अब परमेश्‍वरले हामीबाट चाहनुहुने तेस्रो कुरा छलफल गरौं। हामीले जीवन र रगतप्रति आदर देखाउनैपर्छ। यहोवाले जीवनलाई पवित्र ठान्‍नुहुन्छ। यो उचित पनि हो किनभने उहाँ जीवनको स्रोत हुनुहुन्छ। (भजन ३६:९) उहाँको लागि त गर्भको बच्चा पनि बहुमूल्य छ! (प्रस्थान २१:२२, २३) रगत नै जीवन हो। त्यसकारण यहोवाको नजरमा रगत पनि पवित्र छ। (लेवी १७:१४) अतः जीवन र रगतप्रति हामीले पनि परमेश्‍वरको जस्तै दृष्टिकोण राखेको चाहनुमा अचम्म मान्‍नुपर्ने कुरा छैन।

१८. जीवन र रगतप्रति यहोवाको जस्तै दृष्टिकोण राख्न हामीले के गर्नुपर्छ?

१८ जीवन र रगतप्रति आदर देखाउन हामीले के गर्नुपर्छ? हामी मसीहीहरू भएको हुनाले केवल मोजमजाको लागि अनावश्‍यक खतराहरू मोल्दैनौं। हामी आफ्नो सुरक्षाबारे चिन्तित छौं। त्यसैकारण हामी आफ्नो गाडी तथा घरको हेरचाह गर्छौं। (व्यवस्था २२:८) हामी धूम्रपान गर्दैनौं, सुर्ती, सुपारी खाँदैनौं नता रमाइलोको लागि लागू पदार्थ सेवन गर्ने वा मनलाई ठेगानमा नराख्ने औषधीहरू नै लिन्छौं। (२ कोरिन्थी ७:१) परमेश्‍वरले भन्‍नुभएअनुसार ‘रगतबाट अलग बस्छौं’ भने हामी रक्‍तक्षेपण गर्दैनौं। (प्रेरित १५:२८, २९) हामी जीवनलाई प्रेम गर्छौं तर परमेश्‍वरको नियम उल्लंघन गरेर अनन्त जीवनको प्रत्याशालाई नै खतरामा पार्दै आफ्नो जीवन बचाउन खोज्नेछैनौं।—मत्ती १६:२५.

१९. जीवन र रगतप्रति आदर देखाउँदा हामीले कसरी लाभ उठाउँछौं, वर्णन गर्नुहोस्‌।

१९ के हामीले जीवन र रगतलाई पवित्र ठान्‍नु बोझ हो? पटक्कै होइन! यसो सोच्नुहोस्‌। धूम्रपानले गर्दा हुने फोक्सोको क्यान्सरबाट बच्नु बोझ हो? हानिकारक लागू पदार्थको दुर्व्यसनबाट हुने मानसिक तथा शारीरिक कुलतबाट मुक्‍त हुनु बोझ हो र? रक्‍तक्षेपण नगरेकोले एड्‌स, हेपाटाइटीस वा अन्य रोगबाट बच्नु बोझ हो? स्पष्ट छ, हानिकारक आनीबानी तथा चलनहरूबाट अलग बस्नुमा हाम्रै भलाइ छ।—यशैया ४८:१७.

२०. जीवनप्रति ईश्‍वरीय दृष्टिकोण राख्दा एउटा परिवारले कसरी लाभ उठायो?

२० एउटा उदाहरणलाई विचार गर्नुहोस्‌। केही वर्षअघिको कुरा हो, एउटी साक्षी गर्भवती भएकी साढे तीन महिना भइसकेको थियो। तिनको रक्‍तस्राव हुन थाल्यो र तिनलाई तुरुन्तै अस्पताल पुऱ्‍याइयो। चिकित्सकले जाँचेपछि तिनको गर्भ तुहाउनुपर्नेछ भनी एक जना नर्ससित त्यस चिकित्सकले कुरा गरेको यो बहिनीले सुनिन्‌। गर्भको बच्चालाई यहोवाले कस्तो ठान्‍नुहुन्छ भनी थाह भएको हुँदा तिनले गर्भपात गर्न दृढतापूर्वक इन्कार गर्दै चिकित्सकलाई यसो भनिन्‌: “बच्चा मरेको छैन भने, उसलाई केही नगर्नुहोस्‌!” त्यसपछि पनि समय समयमा तिनको रक्‍तस्राव भई नै रह्‍यो तर नौ महिना नपुग्दै तिनले मोटोघाटो छोरा जन्माइन्‌। त्यो सानो बच्चा अहिले १७ वर्ष पुगिसक्यो। तिनले यसो भनिन्‌: “हामीले छोरालाई यो सबै कुरा बतायौं, छोराले गर्भपातद्वारा तिनको जीवन अन्त नगरेकोमा खुशी व्यक्‍त गऱ्‍यो। ऊ जीवित हुनुको कारण, हामीले यहोवालाई सेवा गरेकोले हो भनी उसलाई थाह छ।” साँच्चै, जीवनप्रति परमेश्‍वरको जस्तै दृष्टिकोण राख्नु यो परिवारको लागि कुनै बोझ थिएन!

यहोवाका संगठित जनहरूसँगसँगै सेवा गर्ने

२१, २२. (क) हामीले को सँगसँगै उहाँको सेवा गरेको यहोवा चाहनुहुन्छ? (ख) परमेश्‍वरका संगठित जनहरू कसरी चिन्‍न सकिन्छ?

२१ परमेश्‍वरको स्तरअनुरूप जीवन बिताउन हामीले मात्र छाँटकाँट गर्नुपरेको होइन। यस पृथ्वीमा यहोवाका जनहरू छन्‌ र तिनीहरूसँगसँगै हामीले उहाँको सेवा गरेको चाहनुहुन्छ। यो उहाँको चौथो माग हो। हामीले यहोवाको आत्माद्वारा निर्देशित संगठनसँगसँगै उहाँको सेवा गर्नुपर्छ।

२२ त्यसोभए परमेश्‍वरका संगठित जनहरू कसरी चिन्‍न सकिन्छ? धर्मशास्त्रमा उल्लिखित स्तरअनुसार तिनीहरूबीच साँचो प्रेम छ, तिनीहरू बाइबलप्रति गहिरो आदर राख्छन्‌, परमेश्‍वरको नाउँको सम्मान गर्छन्‌, उहाँको राज्यबारे प्रचार गर्छन्‌ र तिनीहरू यस दुष्ट संसारका भाग होइनन्‌। (मत्ती ६:९; २४:१४; यूहन्‍ना १३:३४, ३५; १७:१६, १७) साँचो मसीहीधर्मका यी सबै चिनारीहरू हुने धार्मिक संगठन यस पृथ्वीमा एउटै मात्र छ। त्यो हो, यहोवाका साक्षीहरूको संगठन!

२३, २४. यहोवाका संगठित जनहरूसँगसँगै उहाँको सेवा गर्नु बोझ होइन भनेर हामी कसरी उदाहरणसहित भन्‍नसक्छौं?

२३ यहोवाका संगठित जनहरूसँगसँगै उहाँको सेवा गर्नु के बोझ हो? अहँ, होइन! त्यसको विपरीत, मसीही भाइबहिनीहरूको विश्‍वव्यापी परिवारको प्रेम तथा सहयोग पाउनु साँच्चै एउटा बहुमूल्य अवसर हो। (१ पत्रुस २:१७) कल्पना गर्नुहोस्‌, जहाज डुबेपछि तपाईं पानीमा तैरन संघर्ष गर्दैहुनुहुन्छ। बच्ने आश मार्नै लागेको बेला कसैले तपाईंलाई बचाउन जीवनरक्षक डुंगाबाट हात पसार्छ। बचेकाहरू अरू पनि रहेछन्‌! जीवनरक्षक डुंगामा बस्नुभएपछि किनारासम्म पुग्न पालैपालो डुंगा खियाउनुहुन्छ र किनारा नपुगुञ्जेल अरूलाई पनि डुंगामा तान्‍नुहुन्छ।

२४ के हामी पनि त्यस्तै परिस्थितिमा छैनौं र? हामीलाई यस दुष्ट संसारको खतरनाक “पानीबाट” यहोवाको पार्थिव संगठनको “जीवनरक्षक डुंगामा” कसैले तानेको छ। धार्मिक नयाँ संसारको “किनारासम्म” पुग्न हामी अरूसँगसँगै सेवा गरिरहेका छौं। जीवनका फिक्रीहरूले गर्दा बीचैमा थाकेका छौं भने साँचो मसीहीहरूको सहयोग र सान्त्वनाको लागि कत्ति कृतज्ञ छौं!—हितोपदेश १७:१७.

२५. (क) अझै पनि यस दुष्ट संसारको “पानीमा” तैरिरहेका व्यक्‍तिहरूप्रति हाम्रो दायित्व के हो? (ख) यसपछिको लेखमा परमेश्‍वरले हामीबाट चाहनुहुने कुन कुरा छलफल गरिनेछ?

२५ अझै पनि “पानीमा” तैरिरहेका इमानदार हृदय भएका मानिसहरूबारे के भन्‍न सकिन्छ? तिनीहरूलाई यहोवाको संगठनमा आउन मदत दिनु हाम्रो दायित्व हो, होइन र? (१ तिमोथी २:३, ४) यहोवा हामीबाट के चाहनुहुन्छ, त्यो सिक्न तिनीहरूलाई मदत चाहिन्छ। यो परमेश्‍वरको पाँचौं आवश्‍यकता हो। हामी परमेश्‍वरको राज्यबारे घोषणा गर्ने वफादार व्यक्‍तिहरू हुनुपर्छ। यसमा के के विथोलित छ, यसपछिको लेखमा छलफल गरिनेछ।

के तपाईंलाई सम्झना छ?

◻ परमेश्‍वरका आज्ञाहरू किन कडा छैनन्‌?

◻ हामी परमेश्‍वरको ज्ञान कसरी लिन्छौं?

◻ परमेश्‍वरको स्तरअनुरूप सही आचरणमा हिंड्‌नु र उहाँको सत्य स्वीकार्नु किन बोझ होइन?

◻ जीवन र रगतप्रति परमेश्‍वरको जस्तै दृष्टिकोण राख्न हामीले के गर्नुपर्छ?

◻ हामीले को सँगसँगै मिलेर परमेश्‍वरको सेवा गरेको उहाँ चाहनुहुन्छ र तिनीहरूलाई कसरी चिन्‍न सकिन्छ?

[पृष्ठ १८-मा भएका चित्र]

सृष्टि र बाइबलबाट हामी यहोवाबारे सिक्छौं

[स्रोत]

गोही: By courtesy of Australian International Public Relations; भालु: Safari-Zoo of Ramat-Gan, Tel Aviv

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने