कसको नियन्त्रणमा छ?
“यो संसारलाई कसले शासन गर्छ?” कसैले यो प्रश्न गऱ्यो भने तपाईं कसरी जवाफ दिनुहुन्छ? धार्मिक झुकाउ भएका अधिकांश मानिसहरूले “परमेश्वर” वा “येशूले” भन्लान्। बाहामासबाट प्रकाशित हुने अखबार द फ्रिपोर्ट न्युज-को एउटा लेखमा यस प्रश्नको यस्तो जवाफ दिइयो जसबारे धेरै मानिसहरूले सोचेका समेत छैन होलान्।
त्यस लेखिकाले आफ्नो लेख यसरी सुरु गरिन्: “मेरो घरको ढोकैमा एउटा पर्चा पाएँ। अक्सर ढोकामा यसरी छाडिएका पर्चाहरू म पढ्दिनँ तर यसपटक भने पढ्ने विचार गरें। शीर्षकमै यस्तो प्रश्न सोधिएको थियो, ‘वास्तवमा यो संसारलाई कसले शासन गर्छ?’ ” बाइबलआधारित त्यस पर्चाद्वारा ती स्त्रीले यस संसारको शासक परमेश्वर वा येशू नभई शैतान अर्थात् दियाबल रहेछ भनी थाह पाइन्।—यूहन्ना १२:३१; १४:३०; १६:११; १ यूहन्ना ५:१९.
पर्चाले यसो भन्छ, “नृशंसतापूर्वक गरिएका ती विकराल अमानवीय व्यवहारहरूलाई विचार गर्नुहोस्। मानिसहरूले एक-अर्कालाई सताउन र संहार गर्न ग्यास च्याम्बर, यातना शिविरहरू, अग्निवर्षक यन्त्रहरू, नेपाम बमहरू र अन्य अति नै क्रूर तरिकाहरू चलाएका छन्। . . . यस्ता घृणित कामहरू गर्न मानिसहरूलाई कुन शक्तिले सुऱ्याउँछ अथवा कुन शक्तिले तिनीहरूलाई त्यस्तो परिस्थितिमा पार्छ जहाँ तिनीहरू क्रूर कामहरू गर्न बाध्य हुन्छन्? कतै कुनै दुष्ट, अदृश्य शक्तिले पो मानिसहरूलाई यस्तो हिंसात्मक कामहरू गर्न प्रेरित गरिरहेको छैन? के तपाईंले कहिल्यै यसबारे विचार गर्नु भएको छ?” बाइबलले शैतानलाई “यस संसारको देव” भनी संज्ञा दिंदा के तपाईंलाई छक्क लाग्यो?—२ कोरिन्थी ४:४.
खुशीको कुरा, शैतान अनि त्यसका प्रेतहरूको अन्त नजीकै छ। “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।” (१ यूहन्ना २:१७) हो, परमेश्वरको इच्छाअनुरूप गर्नेहरूले धार्मिक नयाँ संसारमा सधैंभरि बाँच्ने आशा गर्नसक्छन् भनी बाइबलले प्रतिज्ञा गर्छ। (भजन ३७:९-११; २ पत्रुस ३:१३; प्रकाश २१:३, ४) शैतान अनि त्यसका प्रेतहरूको कुनै दुष्ट प्रभावहरू नहुँदा कत्ति आनन्दमय हुनेछ!
त्यस सानो पर्चामा भएका विषयवस्तुहरू संक्षिप्तमा बताएपछि द फ्रिपोर्ट न्युज-का लेखिकाले आफ्नो लेख यसरी टुंग्याइन्: “त्यो पर्चा पढ्न पाएकोमा म साँच्चै खुशी छु . . . किनभने संसारको परिस्थितिबारे र कसको नियन्त्रणमा छ भनी जान्न म पनि उत्सुक थिएँ।”