चार सय तीन वर्षीय विवाह संकष्टमा
चार सय वर्षभन्दा लामो समयसम्म स्वीडेनमा चर्च र सरकारबीच घनिष्ठ सम्बन्ध थियो। तर अहिले धर्म र सरकारबीचको वैवाहिक जीवन खस्किंदै गइरहेको छ।
सन् १५९३ मा राज्य धर्मको रूपमा लुथेरन धर्मको सूत्रपात गरियो। अनि स्वीडेनका सबै निवासीहरू त्यस धर्मका बप्तिस्माप्राप्त सदस्य हुनुपर्थ्यो। वर्षौंपछि, १८५० दशकको दौडान यसमा काँटछाँट गरियो। त्यो थियो, स्वीडेनका निवासीहरूले बप्तिस्मा लिन नपर्ने भयो। तैपनि, तिनीहरूलाई लुथेरन चर्चका सदस्य नै ठानिन्थ्यो। यसैकारण तिनीहरूले चर्चलाई सहयोग गर्न र चर्चको निजामति सेवाको लागि आफ्नो वार्षिक आयको १ प्रतिशत तिर्नुपर्थ्यो। भर्खरै अर्को परिवर्तन गरियो। सन् १९५१ को सुरुतिर स्वीडेनवासीहरूले कानुनी तवरमा चर्चबाट निक्लने र कर तिर्नबाट मुक्त हुने छनौट गर्न पाए।
हालका वर्षहरूमा लुथेरन चर्चले स्वीडेनमा आफ्नो नियन्त्रण गुमाउन थालेको छ। यसो त हुने नै थियो किनभने स्वीडेनवासीहरूमध्ये १० प्रतिशत त यहूदी, क्याथोलिक र मुस्लिमलगायत गैरलुथेरन प्रवासीहरू छन्। त्यसैकारण, सन् १९९६ को सुरुतिर ८६ प्रतिशत स्वीडेनवासीहरू मात्र लुथेरन चर्चका सदस्य थिए र यो संख्या त्यत्तिकै घटिरहेको छ।
बढ्दो भावशून्यले गर्दा चर्च र सरकारबीच फाटो आइरहेको छ। राजा लुथेरन हुनैपर्छ भन्ने छैन र लुथेरन आमाबाबुको छोराछोरी स्वतः लुथेरन राज्य चर्चको सदस्य हुँदैनन् भनेर घोषणा भइसकेको छ। त्यसबाहेक, द डालस मर्निङ न्युज-अनुसार सन् २००० सम्ममा “स्थानीय पौरोहित्य प्रदेश र राज्यले अत्यधिक धनसम्पत्तिको लेखाजोखा गर्नैपर्छ र त्यसलाई भाग लगाउनैपर्छ। चर्चले प्रायः करहरूबाट असुल गरेको १६८ अरब अमेरिकी डलर वार्षिक बजेटलाई कम गर्नैपर्छ।” यस शताब्दीपछि चर्चले आफ्नै विशपहरू नियुक्त गर्नेछ।
स्वीडेनमा मसीहीजगत्लाई भावशून्य र घट्दो सदस्यताको महामारीले सताइरहेको छ भने, यहोवाका साक्षीहरू चाहिं फल्दैफुल्दै गइरहेका छन्। यहोवाका साक्षीहरूको वार्षिक पुस्तक १९९७ (अंग्रेजी) को प्रतिवेदनअनुसार त्यस देशमा परमेश्वरको राज्यका २४,४८७ प्रकाशकहरू छन् र त्यसमध्ये झन्डै १० प्रतिशतले पूर्ण-समय अग्रगामीको हैसियतमा प्रचार गरिरहेका छन्। यिनीहरूमध्ये थुप्रैले सेवाका निकै महान् सुअवसरहरूका लागि हात फैलाइरहेका छन्। उदाहरणका लागि, सन् १९९५ जिल्ला अधिवेशनको दौडान २० विवाहित जोडीहरूले वाचटावर बाइबल स्कूल अफ गिलियडमा मिसनरी प्रशिक्षणको लागि आवेदन पेश गरे। त्यतिबेला लगभग ७५ स्वीडेनवासी गिलियड स्नातकहरू संसारका विभिन्न भागहरूमा मिसनरी सेवा गरिरहेका थिए। निस्सन्देह, तिनीहरूको उदाहरण, प्रोत्साहनदायी पत्र र भेटघाटले अहिले त्यस महान् सुअवसर अंगाल्ने विचार गरिरहेकाहरूमाथि प्रेरणादायी प्रभाव पऱ्यो।
यसर्थ, मसीहीजगत्का लाखौं मानिसहरूले आत्मबल गुमाइरहेको बेला यहोवाका साक्षीहरू “हृदयमा आनन्द भएकोले गाउनेछन्।”—यशैया ६५:१३, १४.
[पृष्ठ ३०-मा भएको नक्सा]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
स्वीडेन