‘हामीलाई इमानदार मानिस चाहिन्छ’
आज संसारमा इमानदारी यदाकदा मात्र पाइन्छ। तापनि, मसीहीहरूमा भने यो नभई नहुने गुन हो। पावलले लेखे: ‘हामी सबै कुरामा इमानदारीसाथ रहने इच्छा गर्छौं।’ (हिब्रू १३:१८) इटाली, फेन्जाकी विल्मा नाउँकी यहोवाको साक्षी त्यसै गर्न चाहन्थिन्।
इल रेस्टो डेल कार्लिनो नामक अखबारअनुसार, शहरको व्यस्त बजारमा उनले एउटा मोटो रकम भएको ब्याग भेट्टाइन्। “अलिकति पनि नहिच्किचाइकन” जसको हो, त्यसैलाई फिर्ता दिन त्यो ब्याग उनले प्रहरीलाई बुझाइदिइन्।
त्यस शहरका नगर-प्रमुखले यो कुरा थाह पाउने बित्तिकै धन्यवादको अभिव्यक्तिले भरिएको छोटो पत्र तुरुन्त विल्मालाई पठाए। उनले यस्तो लेखे, “तपाईंको प्रशंसनीय कार्यको लागि म पूरै शहरको तर्फबाट हार्दिक धन्यवाद दिन्छु। फेन्जाको यो हाम्रो प्रसिद्ध शहरलाई तपाईंजस्तो सज्जन र इमानदार मानिस चाहिन्छ।”
हाम्रो असल आचरण अरूले देखे पनि नदेखे पनि, हामी सधैं इमानदार हुने प्रयत्न गर्नुपर्छ। पवित्र धर्मशास्त्रले उपदेश दिएजस्तै “हामी प्रभुको दृष्टिमा मात्र होइन, तर मानिसहरूका दृष्टिमा पनि आदरणीय कामको ख्याल राख्तछौं।”—२ कोरिन्थी ८:२१.