इमानदारी—संयोग या स्वेच्छाले?
“म वास्तवमा इमानदार व्यक्ति होइन तर कहिलेकाहीं संयोगले भइन्छ।” यो भनाइ विलियम सेक्सपियरद्वारा लेखिएको जाडो यामको कथा-का (अंग्रेजी) पात्र फटाहा अटोलाइकसको हो। यसले गलत कामकुरा गर्ने मानव झुकाउ ‘छली हृदयको’ कारण हो भनी देखाउँछ। (यर्मिया १७:९; भजन ५१:५; रोमी ५:१२) तर यसको अर्थ हामी स्वेच्छापूर्वक केही गर्न सक्दैनौं भनेको हो त? के सद्गुणी आचरणहरू सबै संयोग मात्र हुन् त? कदापि, होइन!
इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नुअघि मोआबको मैदानमा बस्दा मोशाले तिनीहरूसित कुरा गरेका थिए। मोशाले तिनीहरूसमक्ष दुइ सुस्पष्ट छनौट राखिदिए। तिनीहरूले परमेश्वरको आज्ञा पालन गरेर आशिष् पाउनसक्थे वा इन्कार गरेर पापको ज्याला कमाउनसक्थे। (व्यवस्था ३०:१५-२०) छनौट तिनीहरूकै थियो।
सही र गलत छुट्याउन सक्ने स्वतन्त्र प्राणी भएको हुँदा हामी पनि छनौट गर्नसक्छौं। परमेश्वरलगायत कसैले पनि हामीलाई असल वा खराब गर्न जबरजस्ती गर्न सक्दैन। तथापि कसै कसैले यसरी प्रश्न गर्लान्, ‘हाम्रो हृदय नै खराबीतिर ढल्केको छ भने असल कसरी गर्नसक्छौं र?’ उदाहरणका लागि, दाँतको डाक्टरले दाँत धेरै कुहिन वा खिइन नदिन होशियारीपूर्वक दाँत जाँच्छ। त्यसरी नै, हाम्रो लाक्षणिक हृदयका कमजोरीहरू र यो नैतिक रूपमा कुहिरहेको छ कि भनेर जाँच्नुपर्छ। किन? किनभने “हृदयबाटनै दुष्ट विचार, हत्या, जारी, व्यभिचार, चोरी, झूटो साक्षी, निन्दा बाहिर निस्कन्छन्,” भनी येशूले भन्नुभयो।—मत्ती १५:१८-२०.
दाँतलाई बचाउन डाक्टरले कुहेको फोहर पूरै निकाल्नुपर्छ। त्यस्तैगरि, “दुष्ट विचार” र हृदयमा भएका गलत इच्छाहरूलाई हटाउन ठोस कदम चाल्नुपर्छ। परमेश्वरको वचन बाइबल पढेर मनन गर्दा हामीले सृष्टिकर्तालाई चिन्ने मात्र होइन तर सही के हो त्यो पनि सिक्छौं।—यशैया ४८:१७.
सही के हो, त्यही गर्न इस्राएलका राजा दाऊदले अझ थप प्रयत्न गरे। तिनले यस्तो प्रार्थना गरे: “हे परमेश्वर, ममा शुद्ध हृदय सृजनुहोस्। र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्।” (भजन ५१:१०) हो, यहोवा परमेश्वरमाथि प्रार्थनापूर्वक भर परेर हामीले पनि गलत झुकाउ हटाउनसक्छौं र असल गर्न “नयाँ आत्मा[को]” खेती गर्नसक्छौं। यसो गर्दा हामी संयोगले होइन तर स्वेच्छाले इमानदार हुनेछौं।
[पृष्ठ २१-मा भएको चित्र]
दाउदले जस्तै परमेश्वरलाई प्रार्थना गऱ्यौं भने भलाई गर्न मदत मिल्नेछ