“प्रभु ख्रीष्टको सेवा [गर]”
लाखौं मानिसहरू दासत्वमा परेर तीतो जीवन बिताएको विवरण इतिहासभरि पाइन्छ। उदाहरणका लागि, आजभन्दा हजारौं वर्षअघि इस्राएलीहरू मिश्रीहरूको दासत्वमा परेका थिए। बाइबलले बताएअनुसार, विशेषगरि ईंटा बनाउने काममा तिनीहरूले “उनीहरूलाई अघोर भार लगाएर सताउनलाई तिनीहरूमाथि कामदारीहरू खटाए।”—प्रस्थान १:११.
आज थुप्रै देशमा मानिसहरूले वास्तविक दासत्वको जीवन बिताउनु नपर्ला। तैपनि, कामदारहरूको मागअनुसार थुप्रै मानिसहरू कहिलेकाहीं अप्ठ्यारा परिस्थितिहरूसित जुझ्दै लखतरान होऊञ्जेल काम गर्नुपर्ने बाध्यतामा पिल्सिन्छन्। तिनीहरूलाई थिचिरहेको गह्रौं बोझलाई आर्थिक दासत्व भन्न सकिन्छ।
तथापि, एक खालको दासत्व छ र त्यो बोझ होइन। प्रेरित पावलले सँगी विश्वासीहरूलाई यसरी आग्रह गरे: “प्रभु ख्रीष्टको सेवा [गर]”। (कलस्सी ३:२४) ख्रीष्टको सेवक हुन चाहनेहरूले आफ्नो गह्रौं भारी बिसाउनु पाउनेछन्। येशूले भन्नुभयो: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलका छ।”—मत्ती ११:२८-३०.
तर ख्रीष्टको जुवा बोक्नुको अर्थ, आफ्नो परिवारको पालनपोषण गर्नु पर्दैन भन्ने होइन। (१ तिमोथी ५:८) तथापि, यसले भौतिकवादी लालसाहरूको फन्दाबाट जोगाउँछ। मसीहीहरूले भौतिक कुरालाई जीवनको मुख्य लक्ष्य बनाउनुको साटो आफूसित जे जति छन्, त्यसैमा सन्तुष्ट हुन्छन्।—१ तिमोथी ६:६-१०; तुलना गर्नुहोस् १ कोरिन्थी ७:३१.
परमेश्वरको राज्यको “सुसमाचार” प्रचार गर्नुपर्ने आफ्नो जिम्मेवारी पूरा गरेर पनि मसीहीहरूले विश्राम पाउँछन्। (मत्ती २४:१४) यसो गर्दा साँच्चै आनन्द र सन्तुष्टि प्राप्त हुन्छ!
“प्रभु ख्रीष्टको सेवा [गर्न]” सकेकोमा हामी कृतज्ञ हुनुपर्ने हो!
[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]
Pictorial Archive (Near Eastern History) Est.