राज्य उद्घोषकहरूका रिपोर्ट
प्रेतवादी प्रभावदेखि छुटकारा पाउने
प्रेतवादी प्रचलनहरूले लाखौं मानिसहरूलाई निकै अघिदेखि आफ्नो चंगुलमा पारेको छ। तर यसबाट मुक्त हुन नसक्ने चाहिं होइन! पुरातन एफिसी शहरका थुप्रै बासिन्दाहरूले त्यो काम गरेर देखाए। बाइबल विवरणअनुसार “तिनीहरूमध्ये धेरै जना, जस जसले टुना-मुना गर्थे, आफ्ना आफ्ना पुस्तकहरू बटुलेर ल्याए, र . . . जलाइदिए। यसरी प्रभुको वचन सामर्थ्यसँग बढ्दै गयो, र प्रबल भयो।”—प्रेरित १९:१९, २०.
आजका मसीही मण्डली पनि यस्तै समृद्धिको मार्गमा लम्किरहेको छ। एफिसीमा जस्तै आज विश्वासलाई अँगाल्नेहरूमध्ये कोही कोहीले पहिला प्रेतवादी क्रियाकलापहरू गर्थे। यो कुरा जिम्बावेको निम्न अनुभवद्वारा स्पष्ट हुन्छ।
गोगो (बज्यै) थुपा तिनको प्रेतवादी शक्तिले गर्दा प्रख्यात थिइन्। जिम्बावे, बोट्सवाना र दक्षिण अफ्रिकाजस्ता टाढा टाढा ठाउँबाट मानिसहरू तिनीकहाँ जडीबुटी लिन आउँथे। त्यति मात्र होइन, गोगो थुपाले अरूलाई पनि नांगा वा झांक्री विद्या सिकाउँथिन्। अनि कहिलेकाहीं तिनी मन्त्र पनि फुक्थिन्!
एक आइतबार यहोवाका साक्षीहरू घर-घरको प्रचार गर्दै गोगो थुपाकहाँ आइपुगे। कुनै दुष्ट प्रभावबिनाको धार्मिक नयाँ संसार हुनेछ भन्ने बाइबलको प्रतिज्ञाबारे ती साक्षीहरूसित छलफल गरेर तिनी असाध्यै आनन्दित भइन्। तिनले पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक स्वीकारिन् र गृह बाइबल अध्ययन गर्न राजी भइन्।a तीन पटक अध्ययन गरेपछि तिनी सभाहरू धाउन थालिन्।
आफूसित भएको विशेष शक्ति त यहोवाको सार्वभौमिकता विरुद्ध विद्रोह गर्ने दुष्ट आत्मिक प्राणीहरूबाट पो पाएको रहेछ भनेर गोगो थुपाले बाइबल अध्ययनको दौडान थाह पाइन्। (२ पत्रुस २:४; यहूदा ६) ती प्रेतहरूले सकेसम्म धेरैभन्दा धेरै मानिसलाई यहोवा र साँचो उपासनाबाट तर्काउने संकल्प गरेका रहेछन् भनेर पनि तिनलाई थाह भयो। यी दुष्ट आत्मिक प्राणीहरूकै मदतद्वारा तिनले हातमुख जोर्न सकिरहेकी हुनाले अब के गर्ने?
गोगो थुपाले आफ्ना जन्तरहरू र प्रेतवादी चीजबीजहरू हटाउन चाहेको कुरा व्यक्त गरिन्। यीमध्ये शिरमा लगाउने विशेष टोपी र “बोल्ने सिंगहरू” पनि थिए, जुन तिनले नांगा झारफुक गर्दा चलाउँथे। एक मात्र साँचो र जीवित परमेश्वर यहोवाको सेवा गर्न गोगो थुपा यी सबै चीजहरू हटाउन चाहन्थिन्।
यद्यपि, तिनका कतिपय आफन्तहरूले विरोध जनाए किनकि तिनीहरूले गोगोबाट आर्थिक मदत पाइरहेका थिए। त्यो आर्थिक लाभ नगुमाउन ती आफन्तहरूले तिनका चीजबीज र चमत्कारी शक्ति मागे। तर गोगो थुपाले दिएको भए त के र।
यहोवाका साक्षीहरूको स्थानीय मण्डलीको सहायता लिएर तिनले तीन झोला प्रेतवादी चीजबीज जम्मा गरेर जलाए। प्रेत उपासनाका ती चीजबीजहरू दनदन जलिरहेको बेला गोगो थुपा यसरी कराए: “हेर! त्यस सिंगले आफूलाई बचाउन सकेन।”
समयको दौडान गोगो थुपाले हर्षविभोर हुँदै पानीको बप्तिस्माद्वारा यहोवालाई आफ्नो जीवन समर्पण गरिन्। तिनले अहिले कसरी जीविका चलाउँदैछिन्? तरकारी बेचबिखन गरेर। हो, परमेश्वरको वचनको शक्तिद्वारा कुनै पनि व्यक्तिले प्रेत उपासनाबाट छुटकारा पाउनसक्छन्। गोगो थुपा यसो भन्छिन्: “यस्तो छुटकाराको अनुभव त कहिल्यै गरेको थिइनँ।”
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।