तपाईं पापलाई कुन दृष्टिले हेर्नुहुन्छ?
“तिमीसित कुनै पाप छैन, तिम्रो कुनै वेदना छैन, सर्वशक्तिमान् शक्तिको खानी तिमी नै हौ।” यो भनाइ विख्यात हिन्दू दार्शनिक विवेकानन्दको हो। तिनले हिन्दू पवित्र पुस्तक, भागवत गीता-को एउटा पद्यांश वर्णन गर्दै त्यसो भनेका थिए। वेदान्तलाई उद्धरण गर्दै तिनी यस्तो दाबी गर्छन्: “म दुर्बल छु, म पापी हुँ भन्नु नै महाभूल हो।”a
तर के मानिसमा साँच्चै पाप छैन? अनि मानिसले जन्मजात केही कुरा लिएर आउँछ भने त्यो के हो? हिन्दू स्वामी निखिलानन्द यसो भन्छन्, केवल “शारीरिक गुणहरू वंशाणुले निर्धारण गर्छ।” अन्य गुणहरू “पूर्वजुनीका कार्यहरूबाट” निर्धारण हुन्छन्। विवेकानन्दको भनाइअनुसार “तपाईं आफ्नो भाग्य आफै बनाउनुहुन्छ।” हिन्दूधर्मले वंशाणुगत पापबारे केही सिकाउँदैन।
पारसी, शिन्टो, कन्फ्युशियन र बुद्धधर्ममा पनि वंशाणुगत पापको धारणा पाइँदैन। परापूर्वदेखि वंशाणुगत पापको सिद्धान्त सिकाउँदै आएका यहूदी-मसीही धर्महरूले समेत पापप्रति बेग्लै दृष्टिकोण राख्न थालिसकेका छन्। आफूलाई पापी नठान्ने मानिसहरूको संख्या दिनप्रतिदिन बढ्दैछ।
धर्मविज्ञानी कर्निलियस प्लान्टिंग, जुनियर यसो भन्छन्, “वर्तमान सजगताले नैतिक आलोचना र विशेषगरि आत्म-आलोचनालाई प्रोत्साहन गर्दैन।” पापको गम्भीरतालाई हलका बनाएकोमा मसीहीजगत्का चर्चहरू पनि केही हदसम्म दोषी छन्। ड्युक युनिभर्सिटीका पादरी यसो भन्छन्, “चर्चमा पापको नाउँसमेत लिइँदैन।” अनि प्लान्टिंगको भनाइअनुसार केही चर्चहरू साधारणतया सामाजिक विसंगतिहरूलाई मात्र पाप भन्ने गर्छन्।
हो, अहिले थुप्रै सामाजिक विसंगतिहरू छन्। हिंसा, अपराध, युद्ध, जातीय दंगा, दुर्व्यसन, बेइमानी, दमन र स-साना केटाकेटीहरू विरुद्ध हिंसा सर्वव्याप्त छ। भनौं भने, यस २० औं शताब्दीलाई मानिसजातिको इतिहासमा सबैभन्दा रक्तपातपूर्ण शताब्दी भनिएको छ। यसमाथि बिमारी, वृद्धावस्था र मृत्युले गर्दा हुने पीडा अनि दुःखकष्ट त छँदैछ। आज संसारमा व्याप्त यी भयंकर समस्याहरूबाट मुक्त हुन नचाहने को होला र?
त्यसोभए तपाईं पापप्रति कस्तो दृष्टि राख्नुहुन्छ? के पाप वंशाणुगत हो? के हामीले कुनै दिन पीडा र दुःखकष्टबाट मुक्ति पाऔंला? यसपछिको लेखले यी प्रश्नहरू छलफल गर्नेछ।
फुटनोट]
a वेदान्त दर्शन उपनिषत्मा आधारित छ र यो हिन्दू शास्त्र, वेदको निचोड हो।