राज्य उद्घोषकहरूका रिपोर्ट
तिनले “एउटा बहुमूल्य मोती भेट्टाए”
“स्वर्गको राज्य असल मोतीहरू खोज्ने एउटा व्यापारी जस्तो हो, र त्यसले एउटा बहुमूल्य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्यो किन्यो।” यी शब्दहरूद्वारा येशूले परमेश्वरको राज्यको महत्त्वलाई दर्साउनुभयो। (मत्ती १३:४५, ४६) परमेश्वरको राज्यको महत्त्व बुझ्ने धेरैले यसलाई नगुमाउन थुप्रै त्यागहरू गर्छन्। ताइवानको पिङडोङ प्रान्तबाट प्राप्त निम्न अनुभवले यसको पुष्टि दिन्छ।
श्रीमान् तथा श्रीमती लीनले १९९१ मा यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाले। स्थानीय पादरीले यो कुरा थाह पाएपछि तिनको चर्चमा सदस्य बनाउन धेरै कोसिस गरे। लीन दम्पतीले स्थानीय बजारमा सुंगुर र हाँसको रगत बेच्ने व्यापार गर्ने भएकोले यस विषयमा पादरीको विचार सोध्ने निर्णय गरे। तिनले भने: “परमेश्वरले बनाउनुभएको सबै कुरा मान्छेको खानाको रूपमा लिन सकिन्छ।” तर अर्कोतिर, साक्षीहरूले तिनीहरूलाई परमेश्वरको वचनले के भन्छ, पत्ता लगाउन प्रोत्साहित गरे। “जीवधारीको प्राण त्यसको रगतमा” भएकोले यहोवा परमेश्वरले रगतलाई पवित्र ठान्नुहुन्छ भनी तिनीहरूले थाह पाए। (लेवी १७:१०, ११) अतः, साँचो मसीहीहरू “रगतबाट अलग” रहनुपर्छ। (प्रेरित १५:२०) यस विषयमा धर्मशास्त्रमा जाँच गरेपछि रगत बेच्ने काम तिनीहरूको मुख्य आयस्रोत भए तापनि उक्त व्यापार बन्द गर्ने निर्णय लीन दम्पतीले गरे। तथापि, यसको धेरै समय नबित्दै तिनीहरूले अर्को ठूलो परीक्षाको सामना गर्नुपऱ्यो।
सत्य सिक्नुअघि लीन दम्पतीले आफ्नो जग्गामा १,३०० सुपारीको बोट लगाएका थिए। त्यस रूखबाट नाफा कमाउन पाँच वर्ष लाग्ने भए तापनि लीन दम्पतीले यो रूख पूर्णतया हुर्केपछि वर्षेनी ७७,००० अमेरिकी डलर आर्जन गर्नसक्थे। पहिलो चोटि कटनी गर्ने समय आउँदा लीन दम्पतीले महत्त्वपूर्ण निर्णय गर्नुपऱ्यो। बाइबल अध्ययनद्वारा तिनीहरूले मसीहीहरूले चुरोट पिउने, लागू पदार्थको दुर्व्यसन र सुपारी खानेजस्ता अशुद्ध बानीको प्रयोग वा प्रवर्धन गर्नु हुँदैन अनि “शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट हामी आफैलाई शुद्ध” पार्नुपर्छ भनी सिकेका थिए। (२ कोरिन्थी ७:१) अब गर्ने के त?
अन्तस्करणले घोचिरहेको कारण श्री लीनले अध्ययन नगर्ने निर्णय गरे। त्यतिञ्जेल, श्रीमती लीनले केही पुरानो बोटको सुपारी बेच्न थालिन् र ३,००० अमेरिकी डलरभन्दा धेरै नाफा कमाइन्। यसबाट प्रस्टै भयो कि ती रूखहरू काटेनन् भने कत्ति फाइदा हुँदो रहेछ त। तथापि, श्री लीनको अन्तस्करणले अझै पिरोलिरह्यो।
केही समयसम्म तिनले के गर्ने, के नगर्ने निधो गर्नै सकेनन्। तर एक दिन तिनले स्थानीय साक्षीहरूलाई आफ्नो सबै सुपारीको बोट काटि दिन आग्रह गरे। निर्णय तिनकै हो त्यसकारण तिनले “आफ्नै निज भार उठाउनुपर्छ” र आफैले काट्नुपर्छ भनी साक्षीहरूले बुझाए। (गलाती ६:४, ५) साक्षीहरूले तिनलाई १ कोरिन्थी १०:१३ को प्रतिज्ञा सम्झन पनि प्रोत्साहित गरे। त्यहाँ यसो भनिएको छ: “मानिसले सहनसक्ने किसिमको बाहेक अरू परीक्षामा तिमीहरू परेका छैनौ, तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहनसकोस् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ।” साक्षीहरूले तिनीसित यस्तो तर्क पनि गरे: “यदि अहिले हामीले तपाईंको रूख काटिदियौं भने तपाईंलाई पछुताउ होला र नोक्सानीको लागि हामीलाई दोष लाउनुभयो भने के गर्ने?” केही समयपछिको कुरा हो, एकाबिहानै करौंतीले चिरेजस्तो आवाज सुनेर श्रीमती लीन ब्यूँझिन्। बाहिर हेर्दा त तिनको पति तथा बच्चाहरू मिलेर सुपारीको बोट पो काटिरहेका थिए!
यहोवाले आफ्नो प्रतिज्ञा साँच्चै पूरा गर्नुहुन्छ भनी श्री लीनले आफ्नै अनुभवबाट थाह पाए। तिनले सफा अन्तस्करण राख्नसक्ने जागिर भेट्टाए र तिनी यहोवाको प्रशंसक हुनसके। अप्रिल १९९६ मा तिनले यहोवाका साक्षीहरूको क्षेत्रीय सम्मेलनमा बप्तिस्मा लिए।
हो, श्री लीनले “आफूसँग भएका सबै बेचेर” “एउटा बहुमूल्य मोती” किने। अब भने तिनले यहोवा परमेश्वरसित व्यक्तिगत सम्बन्ध राख्ने र उहाँको राज्यसम्बन्धी गतिविधिहरूमा भाग लिने एउटा अमूल्य सुअवसर पाएका छन्।