नाजी सतावटको बावजूद तिनीहरू दृढ रहे
ना जी जर्मनीमा यहोवाका साक्षीहरूले लिएको निष्ठावान् अडान मसीहीजगत्का चर्चहरूले लिएको अडानभन्दा एकदमै भिन्न छ। इतिहासका प्राध्यापक, जोन वाइसले समेत आफ्नो पुस्तक मृत्युबारे विचारधारा-मा (अंग्रेजी) त्यसबारे टिप्पणी गरेका छन्। तिनी लेख्छन्:
“इभानजेलिकल चर्चले १९३४ मा नाजीहरूलाई ‘लुथरेनहरूले स्वागत’ गर्नुपर्छ भनी जोड गरे र जर्मनहरूलाई ‘धर्मी र विश्वासिलो शासक’ दिएकोमा ‘प्रभुलाई’ धन्यवाद दिए। . . . प्रोटेस्टेन्ट विशपले आफ्ना पादरीहरूलाई यो लेखे, ‘[हिटलर] परमेश्वरले हामीकहाँ पठाउनुभएको जन हो।’ ” वाइस अझै यसो भन्छन्: “शान्ति र स्थिरता ल्याएर . . . हिटलरले जर्मनीलाई बोल्सेभिक क्रान्ति हुनै लाग्दा बचाएका थिए भन्ने कुरामा जर्मन मेथोडिस्ट चर्च . . . विशप डिब्याल्युससित सहमत भए . . . मर्मन चर्चले आफ्ना अनुयायीहरूलाई हिटलरको विरोध गर्नु मर्मन व्यवस्थालाई उल्लंघन गर्नु जत्तिकै हो भन्यो।” तिनी अझै यसो भन्छन्: “नयाँ राज्यको आज्ञा पालन गर्नु एउटा पवित्र कार्य हो भनी क्याथोलिकहरूलाई भनिएको थियो र पूर्वी युरोपमा यस नाजी शासनले गरेको क्रूर कार्यहरूबारे पादरीहरूले राम्ररी थाह हुँदाहुँदै पनि यो जिम्मेवारीलाई कहिल्यै त्याग्न लगाएनन्।”
यहोवाका साक्षीहरू नि? प्राध्यापक वाइस यसो भन्छन्, “समूहको रूपमा यहोवाका साक्षीहरूले मात्रै नाजीहरूको प्रतिरोध गरे।” तिनीहरूमध्ये हजारौंलाई कैदमा हालियो र प्राध्यापक वाइस अझ भन्छन्, “यद्यपि, यातना शिविरमा पठाइएका कुनै पनि साक्षीले विश्वास त्यागेको भनी कागजातमा सही मात्र गरे मुक्त हुनसक्थे।”
यहोवाका साक्षीहरूको निष्ठाको सन्दर्भमा प्राध्यापक वाइस यस्तो टिप्पणी गर्छन्: “तिनीहरूले देखाएको निष्ठाले मसीहीधर्म स्थापना हुनअघि प्रारम्भिक मसीहीहरूले देखाएको अनुपम कटिबद्धता तथा साहसका साथै सामाजिक जिम्मेवारीहरूले निष्ठावान् जीवन बिताउने इच्छालाई धराशयी पार्न खोज्दा तिनीहरूले देखाएको साहस झल्काउँछ। प्रोटेस्टेन्ट पादरीले लेखेझैं ‘ठूल-ठूला चर्चहरूले होइन तर यी निन्दित र गिल्ला खाने मानिसहरूले नाजी क्रूरताको दृढतासाथ सामना गरे अनि आफ्नो विश्वासको आधारमा तिनीहरूको विरोध गरे।’ ”