वृद्धहरूका लागि कठिन समय
अठसट्ठी वर्षीया ओनीयान आमा पश्चिम अफ्रिकाको एउटा मुख्य शहरमा बस्छिन्। युवती छँदा तिनले बूढी भएपछि कामधामको टन्टाबिना छोरानाति वरिपरि राखेर शान्त जीवन बिताउने कल्पना गरेकी थिइन्। तर त्यो सपना साकार हुनुको साटो तिनी अहिले चर्को घाममा चिसो पानी बेचेर आफ्नो दिन गन्दैछिन्। धेरथोर जत्ति कमाइन्छ, त्यसैमा तिनको गुजारा चलिरहेको छ। तिनका दुइ छोराहरू टाढा मुलुकमा छन्। उनीहरूले तिनलाई पैसा पठाउन छाडेको पनि निकै भइसक्यो।
पहिले पहिले अफ्रिकामा वृद्धहरूको निकै सम्मान गरिन्थ्यो। अनुभवी, बुद्धिमान्, समझदार र धेरै कुराको ज्ञान हुने भएकोले तिनीहरूको आदर गरिन्थ्यो। तिनीहरूले नातिनातिनी हुर्काउन पनि सहयोग गर्थे। अनि ठिटाठिटीहरू तिनीहरूसित सर-सल्लाह माग्थे र तिनीहरूको अनुमोदन पाउन चाहन्थे। मानिसहरू बाइबलको यो सल्लाहअनुसार जीवन बिताउँथे: “बूढ़ा-पाकाका सम्मानमा उठ र वृद्ध मानिसको आदर गर।”—लेवी १९:३२.
तर अब समयले कोल्टो फेरिसक्यो। गरिबी, मुद्रा स्फीति, बेरोजगारीले गर्दा र गाउँघर छोडेर सबका सब शहरतिर पसेका हुँदा अधिकांश वृद्धहरूले कसैको सहाराबिना आफैले गुजारा चलाउनुपरेको छ। केन्याका हेल्पएज संगठनका निर्देशक कमिलस वर यसो भन्छन्: “वृद्धहरूको लालनपालन र हेरचाह गर्ने परम्परा दिनप्रतिदिन हराउँदैछ।”
निस्सन्देह, अफ्रिकी मुलुकहरूमा मात्र पारिवारिक बन्धन खुकुलो हुँदै गइरहेको होइन। जापानको सन्दर्भमा गार्डियन विक्ली यस्तो प्रतिवेदन पेश गर्छ: “कन्फ्युशीवादले आमाबाबुको श्रद्धा गर्न सिकाएको हुँदा कुनै समय आमाबाबुको सम्मान गर्नु जापानी रीतिको आधार थियो। तर शहरीकरणले गर्दा यो रीति पनि विलीन हुँदै गइरहेको छ र पारिवारिक बन्धनहरू पनि खुकुलो हुँदैछ। आज ८५ प्रतिशत जापानीहरू मर्ने बेला अस्पतालमा वा वृद्धाश्रममा हुन्छन् र तिनीहरू त्यहीं मर्छन्।”
परिस्थिति जस्तोसुकै होस्, परमेश्वरलाई प्रसन्न पार्न चाहनेहरू आफ्ना आमाबाबुको आदर गर्छन्। तिनीहरू बाइबलको यो सल्लाह पालन गर्छन्: “आफ्ना बाबु र आमाको मान गर . . . र तिमीलाई भलो होस्, र पृथ्वीमा तिम्रो दीर्घायु होस्।” (एफिसी ६:२, ३) हुन त वृद्ध आमाबाबुको आदर र हेरचाह गर्नु सधैं सजिलो हुँदैन तर यसो गर्दा प्रशस्त इनामहरू भने अवश्य पाइन्छन्।