तपाईं कसको प्रतिज्ञामा भर पर्न सक्नुहुन्छ?
सन् १८९३ मा ७४ जना सामाजिक सेवकहरू शिकागो वर्ल्ड फेरमा भविष्यबारे छलफल गर्न भेला भए। (त्यसको झलक यहाँ माथि दिइएको छ।) त्यतिखेर तिनीहरूले अबको १०० वर्ष अर्थात् १९९३ भित्र के हुनेछ, यसप्रकार भविष्यवाणी गरे: “धेरैजसो मानिसहरू लगभग १५० वर्ष बाँच्नेछन्।” “झ्यालखानाहरू घट्नेछन् र पारपाचुके गर्नु आवश्यक ठानिनेछैन।” “सरकार तथा राजनीति सरल हुनेछ किनकि आखिर कुनै पनि देशको साँचो महानता नै सरलता हो।”
त्यसैगरि, १९६७ मा सन् २००० (अंग्रेजी) शीर्षक भएको पुस्तकले यस्तो अग्रिमवाणी गऱ्यो: “सन् २००० सम्ममा सम्भवतः कम्प्युटर ‘मानिसमा भएका’ कलात्मक तथा सृजनात्मक क्षमताहरूलगायत बौद्धिक क्षमताहरूको बराबरीमा आउनसक्छ, दुरुस्त हुनसक्छ वा मानिसका कुनै पनि क्षमताहरूलाई समेत माथ गर्नसक्ने हुनसक्छ।” “सन् २००० सम्ममा . . . धेरैजसो घरायसी काम सस्ता यन्त्रमानवद्वारा गराउनु अहिलेभन्दा धेरै गुणा उपयुक्त हुनेछ।”
प्रस्ट छ, परमेश्वर भविष्यबारे अग्रिमवाणी गर्न सक्नुहुन्छ तर मानिसहरू सक्दैनन्। उदाहरणका लागि, बाइबलले हाम्रो समयबारे लगभग २० शताब्दीअघि गरेको निम्न भविष्यवाणीलाई माथि उल्लिखित अग्रिमवाणीसित तुलना गर्नुहोस्: “मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, आमा-बाबुको आज्ञा पालन नगर्ने, बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्वासघाती, उत्ताउला, दिमागी, परमेश्वरभन्दा बरु सुख-विलास निको मान्ने, भक्तिको भेष चाहिं लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्।”—२ तिमोथी ३:१-५.
“आखिरी दिन[बारे]” बाइबलले गरेको यो भविष्यवाणी हाम्रो समयमा पूरा भइरहेका कैयौं भविष्यवाणीहरूमध्ये एउटा मात्र हो। परमेश्वरको वचनले ख्रीष्टको उपस्थितिको “चिह्न” देखा पर्दा विश्वयुद्ध, अनिकाल, रोगबिमार, भैंचालो र परमेश्वरको राज्यबारे विश्वव्यापी प्रचार हुनेछ भनेर अग्रिमवाणी गरेको थियो।—मत्ती २४:३-१४; लूका २१:११.
परमेश्वरले गर्नुभएका प्रतिज्ञाहरू अचूक यथार्थ भएकोले गर्दा शताब्दीयौंअघि बाइबलका एक लेखक यो लेख्न उत्प्रेरित भए: “परमप्रभु परमेश्वरले तिमीहरूका बारेमा भन्नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पुगेको छ, र एउटा पनि त्यसबाट फरक परेको छैन।”—यहोशू २३:१४.
हो, परमेश्वरले गर्नुभएका सबै प्रतिज्ञाहरू चाँडै पूरा हुनेछन् भनेर हामी सबै ढुक्क हुनसक्छौं। परमेश्वरको राज्यले रोग, अपराध, दुर्व्यसन, भोक तथा युद्ध सबै अन्त गरेर सम्पूर्ण पृथ्वीलाई प्रमोदवन बनाउनेछ। (भजन ३७:१०, ११, २९; प्रकाश २१:३, ४) यो भविष्यवाणी पूरा हुनेछ भनेर तपाईं पूर्णतया ढुक्क हुन सक्नुहुन्छ! किनकि यो भविष्यवाणी “कहिल्यै झूट नबोल्नुहुने” हाम्रो सृष्टिकर्ताले गर्नुभएको प्रतिज्ञा हो।—तीतस १:२; तुलना गर्नुहोस् हिब्रू ६:१३-१९.
[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]
Cleveland State University Archive