“गहीरो पानी” तानेर निकाल्नु
बाइबलको एउटा हितोपदेश यसो भन्छ: “अर्काको मनको विचार गहीरो पानीझैं हो, तर समझदार मानिसले त्यो तानेर निकाल्छ।” (हितोपदेश २०:५) आज प्रायजसो मुलुकहरूको तुलनामा बाइबलकालीन समयमा पानी निकाल्न निकै कठिन परिश्रम गर्नुपर्थ्यो। येशूले कुरा गर्नुहुँदा सामरी स्त्री लगभग २३ मिटर गहिरो याकूबको इनारबाट पानी तान्दै थिइन्!—यूहन्ना ४:५-१५.
हितोपदेश २०:५ ले संकेत गरेझैं इनारबाट पानी निकाल्दा जत्तिको बल चाहिन्छ, गहिरा विचारहरू र मानिसको हृदयभित्र लुकेका भावनाहरू बुझ्न त्यतिकै समझ चाहिन्छ। जीवनको परिवेशमा यो सत्य साबित हुन्छ। जस्तै उदाहरणका लागि, वर्षौं लाएर ज्ञान तथा अनुभव बटुलेका केही व्यक्तिहरूलाई तपाईंले चिन्नुभएको होला। यदि यस्ता व्यक्तिहरू आफै अग्रसर भई अरूलाई सल्लाह दिंदैनन् भने, तपाईंलाई ती सल्लाहहरू खोतल्नुपर्ने हुन्छ। चासो देखाउनु, प्रश्न सोध्नु तथा कौशलतासाथ कुरा खोतल्नु अपार बुद्धिले भरिएको गहिरो इनारमा बाल्टिन खसाल्नुजस्तै हो।
हितोपदेश २०:५ को सल्लाह परिवारमा पनि उत्तिकै लागू हुन्छ। अक्सर, पत्नीहरूले यसो भनेका सुनिन्छन्: “उहाँ मलाई आफ्ना भावनाहरू बताउनुहुन्न!” पति यसो भन्नसक्छन्: “मेरी स्वास्नी मसित बोल्न छोडिन्!” यस्तो अवस्थामा पति वा पत्नीको हृदयभित्रका गहिरा विचारहरू निकाल्न समझ चाहिन्छ। (दिन कस्तो भयो? के भयो? म कसरी मदत गर्नसक्छु?) जस्ता कौशलतापूर्ण प्रश्नहरू सोध्दा अक्सर मनभित्र गुम्सिएका कुराहरू जम्मै पोखिन्छन्। यसरी समझ देखाउँदा पतिपत्नी दुवैलाई फाइदा हुन्छ, वैवाहिक बन्धन पनि बलियो हुन्छ।