तिनीहरू आफ्ना सृष्टिकर्ताको मौन प्रशंसा गर्छन्
सूर्यास्त, स्वभाविकतः अति मनोरम दृश्य हो। अझ इटाली, टुस्कानीको आप्यन आल्पस्को यो विशेष डाँडापछाडि सूर्य अस्ताएको दृश्यको त झन् कुरै नगरे पनि हुन्छ।
टाढाबाट हेर्दा सूर्यलाई डाँडाले छेकेको होइन कि सूर्य आफै डाँडाको गर्भमा डुबेजस्तो देखिन्छ। किन? किनकि यो डाँडाको टुप्पो अर्धचन्द्राकार छ र हेर्दा मानौं टुप्पो ताछेर खोपिल्टो पारेजस्तै देखिन्छ। यही टुप्पोले गर्दा नै यो डाँडाको नाउँ मन्ते फोरातो अर्थात् तिखारिएको डाँडा रहन गयो। सूर्य वरिपरि पृथ्वीले गर्ने परिक्रमाको कारण मन्ते फोरातोको अर्धचन्द्राकार आकारबीच सूर्य डाँडाको गर्भमा डुबेजस्तो देखिने यो दृश्य वर्षमा दुइचोटी मात्र देखिन्छ।
अन्य सृष्टिले जस्तै निर्जीव आकाशले पनि आफ्नो सृष्टिकर्ताको प्रशंसा गर्छ। कसरी? जसरी एउटा राम्रो चित्रले चित्रकारको प्रशंसा गर्छ। आकाशीय पिण्डहरूले पनि यहोवाको शक्ति, बुद्धि र सार्वभौमसत्ताको बखान गर्छन्। भजनरचयिताले भनेझैं, “आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ। र आकाश-मण्डलले उहाँको हातको सीप प्रकट गर्छ।” (भजन १९:१; ६९:३४) सूर्यलगायत अन्य निर्जीव सृष्टिले त आफ्नो सृष्टिकर्ताको प्रशंसा गर्छ भने हामीले झन् कति धेरै गर्नुपर्ने हो!—भजन १४८:१, ३, १२, १३.